प्रधानमन्त्री ओलीले प्रवचन दिएको ‘अक्सफोर्ड’ मा सिके राउतको लेक्चर

कान्तिपुर संवाददाता

काठमाडौँ — विखण्डनको मुद्दा छाडेर मुलधारको राजनीतिमा आएका सिके राउत पार्टी दर्ता गरेपछि अन्तर्राष्ट्रिय विश्वविद्यालयमा प्रवचन दिन हिँडेका छन् । अर्को साता उनी तीन दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवचन दिएको  विश्वविख्यात ‘अक्सफोर्ड युनिभर्सिटी’ पुग्दैछन् । 

जुन १९ मा उनले अक्सफोर्डमा ‘ब्ल्याक बुद्ध’ र नेपालको राजनीतिक अवस्था, जातीय क्लष्टर लगायतको विषयमा बोल्नेछन्। तीन दिन अघि प्रधानमन्त्री ओलीले बेलायत भ्रमणका क्रममा त्यही विश्वविद्यालयमा नेपालको राजनीतिक अवस्था र विकासको बारेमा प्रवचन दिएका थिए।

प्रधानमन्त्री ओली र राउतको एउटै विश्वविद्यालयमा एक साताको अन्तरालमा हुन लागेको प्रवचन संयोग मात्र हो कि कुनै अर्थ पनि छ? राउतको जनमत पार्टीका प्रवक्ता चन्दन सिंहले भने, ‘प्रधानमन्त्रीको र उहाँको प्रवचन संयोगले नजिक नजिक समयमा परेको हो। योजनाबद्ध होइन। राउतजीले विगतमा पनि अन्य विश्वविद्यालयमा प्रवचन दिनुभएको थियो।’

बेलायतकै क्याम्ब्रिज विश्वविद्यालयबाट पिएचडी गरी अमेरिकामा कम्यूटर वैज्ञानिकको रुपमा काम गरेका राउत पछिल्लो चारवर्षदेखि यतै थिए। विखण्डनको नारा लगाएर तराई मधेसमा आन्दोलन सुरु गरेका उनले गत फागुन २४ गते संविधान स्वीकार्दै मुलधार आउने सहमति गरेका थिए।

राउतले बुधबार अष्ट्रियाको भियानास्थित ‘भियाना विश्वविद्यालय’मा नेपालका ‘कसको विकास’ शिर्षकमा बोलेका छन्। उनले नेपालमा बहुराष्ट्रियता, बहुधर्म, बहुभाषा रहेको उल्लेख गर्दै यसमध्ये कसको के विकास भन्ने विषय उठान गरेका थिए। आउँदो साता बेलायतकै अर्को ‘एसओएस युनिभर्सिटी’मा पनि प्रवचन हुँदैछ।

उनले त्यहाँ ‘नेपाल अन रन’ शिर्षकमा बोल्दैछन्। तिव्र अघि बढ्ने चाहनाका बीच सिमान्तकृतहरु कसरी पछाडी नै छुटिरहेका छन् यो विषयमा उनी बोल्नेछन्। नेपालमा विखण्डनको आन्दोलन सुरु गर्नु अघि उनी हार्वर्ड लगायतका विश्वविद्यालयमा पनि प्रवचन दिएका थिए। पछि नेपालमा आन्दोलन थालेपछि उनी पटक पटक पक्राउ परे। त्यसपछि उनको विदेश यात्रा रोकिएको थियो।

प्रकाशित : जेष्ठ ३०, २०७६ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्

गुठी विधेयकको विरोधमा नेवा मुस्लिम समाजको ऐक्यवद्धता [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — गुठी सम्बन्धी कानुन संशोधन गर्न संसदमा दर्ता भएको विधेयकको विरोधमा नेवा मुस्लिम समाज पनि आन्दोलित भएको छ । नेवा मुस्लिम समाजले इन्द्रचोकमा कोणसभा गर्दै सरकारले स‌ंसदमा दर्ता गराएको गुठी सम्बन्धी विधेयकले काठमाडौं उपत्यकाको संस्कृतिलाई ध्वस्त बनाउने बताएका थिए । उनीहरुले विधेयक खारेजको माग गरेका छन् । उक्त कार्यक्रमा इन्द्रचोक, असन लगायतका क्षेत्रमा बसोबास गर्ने मुसालमान समुदायका अगुवाहरुले सहभागिता जनाएका थिए ।


प्रकाशित : जेष्ठ ३०, २०७६ १३:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्