कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृहमन्त्रीसामु गोताखोरले उद्धार कला देखाए, गरे गुनासो

रमेशकुमार पौडेल

चितवन — धमिलो त्रिशूली, त्यसको पल्लो किनारमा अप्ठ्यारो भीर । नदी किनार र त्यस्ता भीरमा गाडी दुर्घटना भए कसरी उद्धार गर्ने ? बुधबार बिहान गृहमन्त्री रामबहादुर थापाले त्यसको स्थलगत जानकारी लिए । सडकबाट गाडी पल्टेर यात्रु त्रिशूलीमा बगेको काल्पनिक घटनामा सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरीहरु उद्धार अभ्यासमा जुटेका थिए ।

गृहमन्त्रीसामु गोताखोरले उद्धार कला देखाए, गरे गुनासो

बसका यात्रु बनेर सशस्त्र प्रहरीका जवान नदीमा बगेका थिए । तर, उद्धारको तरिका बुझाउन सक्कली उद्धारकर्ताहरु र्‍याफ्टिङ बोटमा चढेर त्रिशूलीमा हेलिए । र्‍याफ्टिङ बोटले पनि उद्धार गर्न नभ्याउन सक्छ । त्यसैले केही उद्धारकर्ता झोलुङ्गे पुलदेखि डोरीमा झुण्डिएर नदीमा झरे । केही यात्रु भीरमा नै अड्न सक्छन् । डोरीको सहयोगले भीरमा गरिने उद्धार कौशल पनि गृहमन्त्री थापाले हेरे ।


अन्तिममा नदीभित्र हुने खोजीलाई गृहमन्त्री थापाले निकै चाख मानेर नियाले । नदीभित्र गोताखोरहरु डुबुल्की लगाएर खोजी गर्दछन् । खोजीका लागि उनीहरुले गर्ने तयारी र साथीहरुसँग गर्ने समन्वय कला फरक खालको थियो । गोताखोरहरुले नबग्ने पानीमा तालिम लिएका थिए । तर, उद्धारका लागि त्रिशूलीजस्ता निकै तेज धार भएको, गहिरो, चिसो र कुनै बेला निकै धमिलो हुने पानीमा पनि डुब्नु पर्ने हुन्छ । ‘यो एकदम खतरनाक काम हो । तैपनि हाम्रा जवानहरु निकै हौसलाका साथ उद्धारमा जुटेका छन्’ सशस्त्र प्रहरी बल कुरिनटारका प्रमुख रहेका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी किशोर प्रधानले भने । गोताखोरहरु निकैबेर नदीमा घरी डुब्ने घरी उत्रने गरे । अन्तिममा उनीहरुले एउटा बालकको पुत्ला निकाले । नदीभित्र खोजेको बस्तु भेटिँदा गोताखोरले बाहिर र्‍याफ्टिङ बोटमा बसेकाहरुलाई कसरी संकेत गर्छन् भन्ने विधि मन्त्रीलाई देखाए ।


‘दुर्घटनामा नदीमा बगेका व्यक्तिलाई ज्युँदै उद्धार गर्न नसके पनि तिनका आफन्तहरुले लासमात्रै भेटियोस् भन्ने चाहन्छन् । हाम्रा गोताखोरहरु डुबेर लास भए पनि ल्याउँछन् । यसले पनि आफन्तलाई राहत दिँदोरहेछ । लास नभेटिए आफन्तहरुले त्यस्ता व्यक्ति फर्केर आउने आश गर्छन् । लास भेटिए शोक मेटिन थाल्छ’ प्रधानले भने । उद्धार कला देखाएर नदी बाहिर आएपछि गोताखोरहरुले आफ्नो काम र समस्याका बारेमा मन्त्रीलाई बताए ।


दुर्घटना, बाढी, पहिरोका बेलामा नदी, खोलामा हुने उद्धार कार्य जटिल हुने गरेको आफूले बुझेको गृहमन्त्री थापाले बताए । त्यसैले यस्ता उद्धारकहरुको हौसला कायम राख्न सरकारले केही न केही व्यवस्था गर्ने उनले बताए । मन्त्रीसँगै रहेका सुरक्षाविद् इन्द्रजित राईले गोताखोरहरुलाई प्रोत्साहन भत्ता दिने सरकारको तयारी रहेको जानकारी दिए । २०६९ सालको वैशाखमा बंगलादेश गएर सशस्त्र प्रहरीका २५ जना जवानले गोताखोरको तालिम लिएका थिए । अहिले १९ जना कार्यरत छन् । ‘सशस्त्र प्रहरी बलले गोताखोरका एकजना सन्तानलाई कक्षा १० सम्म पढाउन आर्थिक सहयोग गरेको छ । संगठनकै तर्फबाट उनीहरुको बीमा भएको छ । हामीले पनि उनीहरुलाई बेला बेलामा सरसहयोग गर्दछौं’ सशस्त्रका एसएसपी प्रधानले भने ।


यो बाहेक गोताखोरहरुले सरकारबाट छुट्टै कुनै प्रोत्साहन भत्ता पाउने गरेका छैनन् । ‘सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागेको छ । मन्त्रालयको तर्फबाट फिल्डमै उनीहरुलाई यो योजनाको जानकारी गराइयो । यसले पक्कै उत्साह थपेको छ’ प्रधानले भने । गोताखोरहरुले गत वर्ष धादिङ गजुरीमा बस दुर्घटना हुँदा नदीबाट ३४ वटा शव निकाले । धादिङकै सलाङघाट कार दुर्घटनामा दुई, जाजरकोट दुर्घटनामा ३२ वटा शव निकालेको एसएसपी प्रधानले बताए । गोताखोर नभएको भए यी घटनाहरुमा शव निकाल्न असम्भव जस्तै थियो । गोताखोरहरु ४० मिटर गहिराइसम्म पुगेका छन् । उच्चधारमा बग्ने नदीमा उद्धार कार्य निकै कठिन छ । नेपाली गोताखोरहरुले सहासपूर्ण काम गरेको उनले बताए

प्रकाशित : जेष्ठ २९, २०७६ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?