मिडिया काउन्सिल र गुठी सम्बन्धी विधेयक ल्याउँदा तयारी पुगेन : दाहाल 

रमेशकुमार पौडेल

चितवन — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मिडिया काउन्सिल विधेयक र गुठी विधेयक परिमार्जन हुने बताएका छन् । 

बुधबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री दाहालले भने ‘मिडिया काउन्सिल विधेयकलाई पनि आवश्यक परिमार्जन गरेर अगाडि लैजानु पर्छ भन्ने छ । गुठी विधेयकमा पनि बहस चलेको छ । त्यसलाई पनि परिमार्जन गर्नुपर्छ ।’

चितवन क्षेत्र नम्बर तीनबाट निर्वाचित सासंद पनि रहेका नेता दाहालले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको पनि स्वीकार गरे । विधेयक ल्याउन सरकारले नजानेको हो वा जनताले नबुझेको हो भन्ने पत्रकारहरुको प्रश्नमा दहालको जवाफ थियो ‘जत्ति गृहकार्य भएर चीजहरु आउनुपर्ने थियो त्यसमा केही कमी रहेको देखियो । सरकार र पार्टी यसमा सतर्क भएको छ । र आउने दिनमा पर्याप्त गृहकार्य गरेर सहमति गरेरै विधेयक ल्याउने तर्फ लाग्ने छौं ।’

प्रकाशित : जेष्ठ २९, २०७६ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्

तटबन्ध निर्माणमा महिला

‘खेतबारीको उत्पादनले ३ महिना पनि खान नपुग्ने भएकाले निर्माणको काममा मजदुरी गरिँदै’
भवानी भट्ट

(कञ्चनपुर) — कञ्चनपुरको महाकाली नदी पारी रहेको महाकाली नगरपालिका ९ ढकनाघाँटकि पुजा चँदाराको दैनिकी यतिबेला महाकाली किनारमै बित्छ  । उनी तीन महिनादेखि बिहान देखि साँझ सम्मै नदी किनारमै हुन्छिन्  ।

नदी किनारमा भईरहेको तटबन्ध निर्माणको काममा उनी गाउँलेसंँगै खटिन्छिन् । तटबन्धले गाउँको सुरक्षासंँगै रोजगारी पनि दिएको उनको बुझाइ छ ।

ढकनाघाटमा पुरानो तटबन्ध मर्मतसंँगै स्पर निर्माणको काम चलिरहेको छ । यहांँ तटबन्ध निर्माणमा पुरुष भन्दा महिला बढी छन् । उनीहरू सबै नदी किनारकै बासिन्दा हुन् । ‘तटबन्ध निर्माण हुँदा हामीले काम पनि पाएका छौं,’ पुजा भन्छिन्, ‘८० दिनदेखि हामी नदी किनारमै तटबन्धको काममा लागेका छौं ।’

कोहि ढुंगा बोकिरहेका छन् । कोहि जालीमा ढुंगा भरान गरिरहेका छन् । केहि महिला ग्याबिन जाली मिलाउने काम गरिरहेका छन् । यो काममा थोरै पुरुषहरू पनि छन् । जेठ अन्तिमतिर मध्य दिनको टण्टलापुर घाममा समेत महिलाहरू निकै लगनशील भएर काममा लागेका छन् । ‘काम नगरे के खाने भन्ने चिन्ता हुन्छ,’ पुजाले भनिन्, ‘त्यहि भएर यस्तो गर्मीमा पनि वालबच्चा छाडेर आएका छौं ।’

महिलाहरू बिहान ८ बजे काममा आउँछन् । दिउसो १२ बजे घर फर्किन्छन् । २ घण्टामा खाना बनाएर पुनः २ बजे फेरी काममा फर्किन्छन् । सांँझ ६ बजेसम्म ग्याबिन जालीमा ढुंगा भर्ने काम गर्छन् । वर्खायाम नजिकिदै गर्दा महाकालीमा पानीको बहाव बढै छ । यहि कारणले तटबन्ध निर्माणको काम तीब्र पारिएको हो ।

‘दिनभरि ढुंगा बोकेर ५ सय ज्याला पाइन्छ,’ ८० दिनदेखि तटबन्ध निर्माणको काममा ज्यालादारी गरिरहेकि ढकनाघाटकि अर्की महिला बिस्नाले भनिन्, ‘दिनभरि ढुंगा बोकेर सांँझ बिहान खान पुग्छ, काम नपाइए भोकै बस्नुपर्ने हुन्छ ।’ उनले आफ्नो खेतबारीको उत्पादनले ३ महिना पनि खान नपुग्ने भएकाले कहिले खेतीपातीको काममा त कहिले निर्माणको काममा मजदुरी गरेर परिवारको खर्च चलाइरहेको बताइन् ।

केहि वर्षअघि सम्म ग्याबिन जाली बनाउने देखि तटबन्ध निर्माणका लागि जालीमा ढुंगा भर्ने सबै काममा भारतीय कामदार नै हुन्थे । जब बिस्तारै ग्याबिन जाली बनाउने काम नेपाली कामदारले सिके भारतीय बिस्थापित भए । ग्याबिन तार जाली बुन्ने काममा विशेष गरि थारु समुदायका युवाहरू बढी छन् । अहिले तारजाली भर्ने तथा तटबन्ध निर्माणको काम गर्ने पनि सबै नेपाली कामदार नै छन् ।

ढकनाघाटको तटबन्ध निर्माणका लागि महाकाली नगरपालिका ३ चांँदनीबाटसमेत स्थानीय बासिन्दा यहाँं पुगेका छन् । उनीहरू पनि महिलाहरूसंँगै बिहान ८ बजेदेखि सांँझ ६ बजेसम्मै काम गर्छन् । महिला र पुरुष दुवैले पाउने ज्याला भने समान हो ।

ढुंगा भरेपछि जाली मिलाउने काममा पुरुषहरू दक्ष हुने भएकाले पनि उनीहरूलाई काममा लगाइएको हो । ‘हामीहरू पनि सुरुदेखि नै तटबन्ध निर्माणको काममा छौं,’ स्थानीय एक युवकले भने, ‘अब जेठभित्रै काम सक्नुपर्ने भएकाले जोडतोडले लागेका छौं ।’ महाकालीमा पानी बढेपछि काम गर्न सकिदैन । त्यतिबेलासम्म काम नसके बर्खामा कटानको जोखिम पनि त्यतिकै हुन्छ । गाउंँलेहरू नदी कटानबाट जोगिनुका साथै घर आंँगनमै मजदुरी गरेर आम्दानी पाउनकै लागि अप्ठेरो भएपनि निरन्तर काममा लागेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्