त्रिविको अन्तर्राष्ट्रिय सम्मेलन सुरु, उच्च शिक्षाको स्तर खस्कँदै गएकोमा राष्ट्रपति चिन्तित
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको आयोजनामा आइतबारबाट ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । 'विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण' नाम दिइएको सम्मेलनमा सहभागी विदेशी विश्वविद्यालयहरुका प्राध्यापकहरुले त्रिविलाई पाठ्यक्रम सुधार्न सुझाव दिएका छन् ।
कार्यपत्र प्रस्तुत गर्ने अमेरिका, बेलायत, फिनल्याण्ड, भारत, सिंगापुर जापानस्थित त्यहाँका विश्वविद्यालयका प्रतिनिधिहरुले बजारको आवश्यकतालाई मध्यनजर गरेर उच्च शिक्षाको पाठ्यक्रम तयार पार्नुपर्ने बताएका थिए । विदेशी विश्वविद्यालयहरु र त्रिविबीच विद्यार्थी र शिक्षक आदानप्रदान गर्नसके उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणमा टेवा पुग्ने उनीहरुको भनाइ छ ।
दुई दिने सम्मेलनको पहिलो दिन पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार, उद्यमशीलता र व्यवस्थापनसम्बन्धी बिषयमा ५ वटा कार्यपत्र पस्तुत गरिएको छ । ती देशका १७ प्राध्यापकसहित त्रिविका पदाधिकारी, अध्ययन संस्थानका र विभागका प्राध्यापकहरु गरी करिब १ सय ५० जनाको सम्मेलनमा सहभागिता छ । छलफलमा विश्वविद्यालयहरुको विश्वव्यापीकरणका विषयमा समेत चर्चा भएको थियो ।
छलफलअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको निवासमै उद्घाटन गरेकी थिइन । उनले त्रिविलाई प्राकृतिक स्रोत साधन र प्राज्ञिक क्षेत्रको तालमेल मिलाएर विश्वकै छुट्टै विश्वविद्यालयको रुपमा पहिचान बनाउन सुझाव दिइन् । पछिल्लो समय उच्च शिक्षाको स्तर खस्कँदै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विश्वविद्यालयका शिक्षकको गुणस्तरमा जोड दिन आग्रह गरिन् ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिमप्रसाद सुवेदीले मूलुकमा सञ्चालित ११ वटै विश्वविद्यालयले छुट्टाछुट्टै विषयमा विशिष्टिकरण हासिल गर्नुपर्ने जनाए । त्यसका लागि विश्वविद्यालयहरुलाई अन्तर्राष्ट्रियकरण गर्न सम्पर्कहरु विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । सम्मेलनबाट आएका सुझावलाई संकलन गरेर आगामी दिनमा त्रिविले योजना निर्माण गर्दै कार्यान्वयनमा जाने उपकुलपति तीर्थराज खनियाँले जानकारी दिए ।
त्रिविलाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गरेर विदेशी विद्यार्थी आकर्षित गर्ने लक्ष्य राखिएको उनले जनाए । त्यसका लागि विश्वविद्यालयको पाठ्यक्रम, भौतिक पूर्वाधारण, शिक्षण विधि र परीक्षा प्रणालीलाई समेत सुधार गर्दै लैजानु पर्ने उनले सुनाए ।
हाल त्रिविले १ सय ६० विदेशी विश्वविद्यालय र शैक्षिक संस्थाहरुसँग सहकार्य गरेर शैक्षिक कार्यक्रम, शिक्षक तथा विद्यार्थी अनुसन्धान, प्रकाशन, क्षमता अभिवृद्धिका कार्यक्रम आदानप्रदान गर्दै आएको छ । बेलायतको टाइम्स हाईअर एजुकेसन (द) ले सन् २०१९ का लागि गरेको मूल्याङ्कनमा त्रिवि विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमध्येको एक हो । यस पटकदेखि विश्वविद्यालयहरुको मापन प्रतिस्पर्धामा औपचारिक रुपमा सहभागी भएर अन्तर्राष्ट्रियकरणमा जोड दिइएको उपकुलपति खनियाँले जनाए ।
प्रकाशित : जेष्ठ २६, २०७६ १८:३४