कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

मेयर र प्रधानाध्यापक विवाद : धनुषाको तीनकौरिया चोक तनावग्रस्त

श्यामसुन्दर शशि

(जनकपुर) — नगरप्रमुख र प्रधानाध्यापकबीचको विवादले आइतबार धनुषाको तीनकौरिया चोक तनावग्रस्त बनेको छ । विदेह नगरपालिकाको गत वैशाख दोस्रो साता सम्पन्न बोर्ड बैठकले जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक पवनकुमार मण्डललाई नगरपालिका भित्रकै शंकर जनता माध्यमिक विद्यालय, दुहवीमा काज सरुवा गरेपछि प्रधानाध्यापक मण्डल र नगरप्रमुख दासबीच द्वन्द्व बढेको हो । अभिभावक तथा विद्यार्थीहरु दुई ध्रुवमा विभाजित भएकोले पछिल्ला केही दिनदेखि तीनकौरिया चोक तनावग्रस्त छ । आइतबार बिहान विद्यालय सञ्चालन भएलगतै प्रधानाध्यापक मण्डल समर्थक विद्यार्थीहरुको समूह मेयर बेचन दासको विरोधमा नाराबाजी गर्दै तीनकौरिया चोकमा टायर बालेका थिए ।

मेयर र प्रधानाध्यापक विवाद : धनुषाको तीनकौरिया चोक तनावग्रस्त

आन्दोलनरत्त विद्यार्थीहरुले मेयर दासलाई ज्ञापनपत्र बुझाउँदै पाठ्यपुस्तकको रकम उपलब्ध गराउनु पर्ने, प्राविधिक धारका विद्यार्थीहरुको छात्रवृत्ति तथा काज सरुवा गरिएका प्रधानाध्यापक मण्डलको थमौतीको माग गरेका छन् । आन्दोलनका कारण उक्त विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

अर्को तर्फ मेयर बेचन दास समर्थक अभिभावक तथा स्थानीयवासीले प्रधानाध्यापक मण्डलको विरोधमा प्रदर्शन गरेका थिए । उनीहरुले नियमित पठनपाठन तथा प्रधानाध्यापक मण्डलमाथि कारबाही माग गरेका थिए । तीनकौरिया चोकबाट सुरु भएको प्रदर्शन विद्यालय परिसर हुँदै पुनः तिनकौरिया चोकमा पुगेर सकिएको थियो । यस बीचमा दुबै पक्षका अभिभावकहरुबीच पटक-पटक झडपको स्थिति सिर्जना भएको थियो । मण्डल समर्थक विद्यार्थीहरुले शुक्रबार नगरपालिका कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।


प्रधानाध्यापक मण्डलको कार्यसम्पादन सन्तोषजनक नभएको तथा विद्यालयमा आर्थिक अनियमिताको आरोप लगाउँदै नगरपालिका बोर्ड बैठकको निर्णयले मण्डलाई काजसरुवा गरिएको मेयर दासले बताए । गत पाँच वर्षदेखि प्राविधिक धारका विद्यार्थीहरुका लागि आएको छात्रवृत्ति, निजी शिक्षकहरुको तलब आदि शीर्षकमा भएको खर्चको विवरण दिन लिखित पत्र पठाउँदा पनि प्रधानाध्यापक मण्डलले कुनै जवाफ नदिएपछि बोर्ड बैठकबाट काज सरुवा गरिएको उनले बताए ।


प्रधानाध्यापक मण्डलले भने नगरपालिकासँग सरुवा गर्ने अधिकार नभएको जिकिर गर्दै विद्यालयका बजेटमा कमिसन नदिएको कारण मेयरले आफूलाई सरुवा गरेको आरोप लगाउँदै आएका छन् ।


आन्दोलनका कारण अधिकांश शिक्षक हाजिर गरेर घर फर्किन्छन् । विद्यालयको खाता रोक्का रहेकोले शिक्षक कर्मचारीहरुले तलब पाएका छैनन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?