कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री युरोप प्रस्थान

स्वीटजरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा शनिबार साँझ युरोपका तीन देशको साताव्यापी भ्रमणमा प्रस्थान गरेका छन् । २० सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै ओली स्वीटजरल्यान्डको जेनेभा प्रस्थान गरेका हुन् स्वीट्जरल्यान्डको जेनेभापछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको भ्रमण गर्ने कार्यक्रम छ ।

तस्बिर : अंगद ढकाल, कान्तिपुर

प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विट्जरल्यान्डको जेनेभा गएका हुन् । उनले त्यहाँ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवाषिर्कीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुने छन् । उनले सोमबार आईएलओको शतवाषिर्कीको विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । जेनेभामा रहँदा साइलाइनमा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति फुअट ओकाट्या, नर्वेका प्रधानमन्त्री, स्वीट्जरल्यान्डका पूर्वराष्ट्रपति तथा फेडरल काउन्सिलर लगायतसित भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली १० जुनमा बेलायतको औपचारिक भ्रमणमा जाने छन् । उनले १० जुनमा नै अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड युनियनले आयोजना गर्ने शान्ति, प्रजातन्त्र र विकास शीर्षकको कार्यक्रममा सम्बोधन गर्ने छन् । उनले नेपालको शान्ति प्रक्रिया, प्रजातन्त्र र समृद्धिको यात्राको विषयमा सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री थेरेजा मेसँग जुन ११ मा '१० डाउनीङ स्ट्रिट' मा भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली बेलायतको अल पार्टी पार्लियामेन्ट्री ग्रुपले आयोजना गर्ने कार्यक्रममा समेत सहभागी हुने छन् ।

बेलायतपछि प्रधानमन्त्री ओली १२ जुनमा फ्रान्स जाने कार्यक्रम छ । उनले फ्रान्समा १३ जुनमा त्यहाँका प्रधानमन्त्री एडवर्ड फिलिपसँग द्विपक्षीय भेट गर्ने कार्यक्रम छ । उनले फ्रान्समा त्यहाँका व्यापारिक तथा उद्योगपति समुदाययसँग छलफल गर्ने कार्यक्रमसमेत छ ।

प्रधानमन्त्री ओलीले १५ जुनमा युरोपभरका नेपाली राजदूतहरूलाई पेरिसमा निर्देशन दिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमण दलमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, परराष्ट्र सचिव शंकर दास वैरागी, परराष्ट्र प्रवक्ता भरतराज पौड्याल, परराष्ट्रका शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी, परराष्ट्रको युरोप अमेरिका महाशाखा प्रमुख घनश्याम भण्डारी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभापति विमल श्रीवास्तव, नेकपाकी सांसद विन्दा पाण्डेलगायत छन् ।

ओली १६ जुनमा नेपाल र्फकने छन् ।




प्रकाशित : जेष्ठ २५, २०७६ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्

नासाले अन्तरिक्षमा पर्यटक लैजाने

एजेन्सी

वासिङटन — अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले सन् २०२० देखि अन्तरिक्षको आफ्नो स्टेसनमा पर्यटक लैजाने भएको छ । नासाका अनुसार (आईएसस) भ्रमण गर्न चाहने व्यक्तिले प्रतिदिन ३५ हजार अमेरिकी डलर तिर्नुपर्ने छ । अमेरिकी यानमार्फत अन्तरिक्षमा पुग्ने पर्यटकहरू आईएसएसमा ३० दिनसम्म बस्न पाउने छन् ।

नासका अनुसार पृथ्वीको परिक्रमा गर्ने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिन लागिएको हो । 'नासाले व्यापारिक अवसर र त्यसको बजारीकरणका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन खुला गर्ने अभूतपूर्व निर्णय गरेको हो,' नासा प्रमुख आर्थिक अधिकृत जेफ डिबिटले न्युयोर्कमा भने ।

आईएसएस सहायक निर्देशक रोब्इन गेटेन्सले प्रत्येक वर्ष निजी खर्चमा दुई छोटा अन्तरिक्ष भ्रमणको आयोजना गरिने छ । उनका अनुसार भ्रमणमा जान चाहनेले आफ्नो स्वास्थ्य, चालक दल निर्धारण तथा आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने छ ।

नासाले पर्यटकलाई घुमाउनका लागि दुई कम्पनीलाई जिम्मा दिएको जनाएको छ । तीमध्ये एलन मस्कको स्पेस एक्सले 'ड्रागन क्याप्स्युल' प्रयोग गर्ने छ । त्यसैगरी र बोइङ कम्पनीले 'स्टारलाइनर' नामक अन्तरिक्षयान निर्माण गरिरहेको छ । दुई कम्पनीले अन्तरिक्षमा नासाका तर्फबाट पर्यटक लैजाँदा लिने ६ करोड अमेरिकी डलर भाडा अन्य पर्यटकसँग पनि लिन सक्ने जनाइएको छ ।

नासाले हालसम्म आफ्नो अन्तरिक्ष केन्द्रलाई व्यापारिक प्रयोगमा ल्याएको थिएन् । अन्तरिक्षयात्रीलाई पहिलो पटक नाफामूलक अनुसन्धानमा सहभागी हुन खुला गरिएको स्टेसन नासाको स्मामित्वमा छैन ।

सन् १९९८ को सुरुमा रूससँग मिलेर निर्माण गरिएको स्टेसनमा पर्यटक घुमाउने रूसी नीतिअनुसार नासाले अन्तरिक्ष यात्री लैजान लागेको हो । यसअघि सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो पहिलो पटक पर्यटकका रूपमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको भ्रमण गरेका थिए । उक्त भ्रमणका लागि उनले त्यति बेला रूसलाई २ करोड अमेरिकी डलर तिरेका थिए ।

अन्तरिक्षयात्रीलाई घुमाउने नासाको पछिल्लो घोषणा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनलाई निजीकरण गर्ने योजनाअन्तर्गत भएको जनाइएको छ । गतवर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ भित्र आर्थिक सहयोग हटाउने घोषणा गरेसँगै आईएसएसलाई अनुसन्धानलगायतका क्षेत्रमा आवश्यक रकम जोहो गर्न अप्ठयारो हुने देखिएको छ । त्यसका लागि नासाले सन् २०२० सम्ममा चन्द्रमामा आफ्नो अभियान पुनः सञ्चालन गर्ने र प्रथम महिला पठाउने निर्णय गरिसकेको छ ।

प्रकाशित : जेष्ठ २५, २०७६ १९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×