कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्ता-प्रतीपक्षको मिलेमतोमा भ्रष्टाचार– थापा

लालप्रसाद शर्मा

पोखरा — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा व्यापारी, प्रशासन र राजनीतिक नेताको त्रिकोणात्मक गठनबन्धन सिर्जना गरी देशमा ब्रम्हलुट भइरहेको बताएका छन् । उनले मुलुकमा बिकराल बन्दै गएको भ्रष्टाचारमा सत्ता र प्रमुख प्रतीपक्षको मिलेमतो भएको दाबी गरे । 

पार्टीको दोस्रो राष्ट्रिय स्वाभिमान यात्रा क्रममा पोखरा आएका थापाले बिहीबार सञ्चारकर्मीसँग कुनैपनि भ्रष्टाचार काण्डमा ठूला नेताको नाम जोडिनसाथ छानविन नहुने बताएका हुन् । ‘ठूला भ्रष्टाचारका काण्डमा सरकार मात्र होइन, प्रमुख प्रतिपक्ष कांग्रेसको पनि संलग्नता रहेको छ,’ उनले भने, ‘भ्रष्टाचारका काण्ड तत्काल सिर्जना नभई केही वर्षदेखि कायम रहँदै आएका हुन् । त्यस कारणले पनि कांग्रेस र कम्युनिष्ट दुवैको सहमतिको आधारमा ठूला भ्रष्टाचार भएका छन् । जब भ्रष्टाचारको कुरा बाहिर आउँछ, सञ्चारमाध्ययमले सार्वजनिक गर्छन् । त्यसपछि छानविनको कुरा हुन्छ । ठूला नेताको नाम जोडिएपछि निश्चित समयमा पुगेर छानविन स्थगित हुन्छ । सेलाएर जानुलाई उनले भ्रष्टाचारमा मिलेमतोको पुष्टी गर्ने महत्वपूर्ण आधार मानेका छन् ।


वाइडबडी जहाज, एनसेल प्रकरण, सुन तस्करी, सरकारी जग्गा व्यक्तिको नाममा रहेका जस्ता काण्डमा सरकारले छानविन नगर्ने र प्रमुख प्रतीपक्षले पनि आवाज नउठाउनु मिलेमतोको आशंका गर्ने ठाउँ रहेको उनले बताए । थापाले २०४७ साल यताका राजनीतिक र प्रशासनीक नेतृत्व तथा सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानविन हुनुपर्ने बताए । यसका लागि उच्चस्तरीय न्यायिक छानविन समिति गठनको माग उनले गरे । स्रोत नखुलेको अवैध सम्पत्ति जफत गर्न सके भ्रष्टाचार नियन्त्रण हुने उनको भनाइ थियो ।


राष्ट्रिय राजनीतिको १२ वर्षे अभ्यासलाई दृष्टिगत गर्दै शान्ति र स्थायित्व, समृद्धिको लक्ष्य हासिल गर्न धर्म निरपेक्षता, गणतन्त्र र संघीयताको कार्यान्वयनको बारेमा पुनर्विचार गर्नुपर्ने भएको उनले सुनाए । यसैक्रममा पूर्व राजजंस्थादेखि नेत्रविक्रम चन्द समूहसम्म अटाउने गरी नेपाली परिवेश अनुसारको गोलमेच सम्मेलन गर्नुपर्ने उनले बताए । तत्काल नयाँ संविधान बनाउने नभइ अहिलेकै संविधानको परिधिमा रहेर गोलमेच गरौ भन्ने प्रस्ताव गरिएको उनको भनाइ थियो ।


आगामी वर्षको बजेटले देशको अत्यन्तै डरलाग्दो र विकराल बेरोजगार समस्या समाधानमा उदासिनता देखाएको भन्दै उनले आश्चर्य व्यक्त गरे । रेमिट्यान्सले मात्र अर्थतन्त्र बलियो नहुने भएकाले देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए ।


यात्रा मुक्तिनाथदेखि गोरखासम्म चलेर आगामी २७ गते समापन हुने उनले बताए । हिन्दू राष्ट्रको पुनर्स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्याको समाधानलगायत विभिन्न २२ बुँदे माग सरकारलाई बुझाइएको र त्यसमा जनतालाई जागरुक बनाउने र सरकारलाई दवावा सिर्जना गर्ने उद्देश्यसाथ राष्ट्रिय स्वाभिमान यात्रा थालिएको जनाए । पहिलो चरणमा ताप्लेजुङबाट सुरु भएर कञ्चनपुर पुगेर काठमाण्डौमा समापन गरिएको थियो ।

प्रकाशित : जेष्ठ २३, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?