कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बल्ल सञ्चालनमा आयाे मितेरी पुल

बलराम घिमिरे

रसुवा — रसुवागढी नाकामा रहेको नेपाल र चीन जोड्ने मितेरी पुलको पुननिर्माण सकिएको छ । पुननिर्माण सकिएसँगै बिहीबार बिहानदेखि मितेरी पुल सञ्चालनमा आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । ‘मितेरी पुलबाट कन्टेनर वारपार गरेर पुल सञ्चालनमा ल्याइएको हो,’ उनले भने । 

बल्ल सञ्चालनमा आयाे मितेरी पुल

बिहीबार बिहानदेखि मितेरी पुलबाट यातायात सञ्चालनमा आएको छ । चीन सरकारको पूर्ण सहयोगमा उक्त पुलको पुननिर्माण गरिएको हो । अनौपचारिक रुपमा नेपाल सरकारलाई पुल हरुतान्तरण गर्न भने बाँकी रहेको छ । जेठ अन्तिमसम्म सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको चिनियाँ पक्षले बताएको छ ।


मितेरी पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान् सुन रोड एण्ड ब्रिजले गरेको हो । २०७२ बैशाख १२ को भूकम्पले नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति गरेको थियो । भूकम्पका बेला पहिरोसँगै आएको ढुंगा लागेर पुरानो मितेरी पुलकोबीच भागमा ठूलो प्वाल पारेको थियो । पुरानो पुल काम नलाग्ने भएपछि भत्काएर उक्त ठाउँमा नयाँ पुल निर्माण गरिएको हो ।



निर्माण कम्पनीले पुल निर्माण सुरु गरेको करिब ५ महिना मै सम्पन्न गरेको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मका गुल्मपति जीवन केसीले बताए । पुल निर्माणसँगै नेपालतर्फ करिब १ सय ५० मिटर डबल लेनको सडक ढलान गर्ने काम समेत सम्पन्न भएको छ । पुरानो पुलभन्दा ५ मिटर उत्तरपूर्वमा नयाँ पुल निर्माण गरिएको छ ।


पुलको निर्माण गर्न नेपाल सरकार र चीन सरकार बीच सन् २०१८ जुन २१ मा सहमति पत्रमा हस्ताक्षर भएको थियो । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले गत भदौ २३ गते ल्हासाबाट उक्त मितेरी पुलको शिलान्यस गरेका थिए । पुलको लम्बाइ ११० मिटर र चौडाइ १२ मिटर रहेको छ । मितेरी पुलको पुननिर्माण सम्पन्न भएपछि व्यापार सहजीकरणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७६ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?