सन्तुलित विकास गर्न सांसदलाई रकम : पूर्वअर्थमन्त्री पाण्डे

कान्तिपुर संवाददाता

काठमाडौँ — सांसदलाई बजेट किन चाहिन्छ भनेर म केही उदाहरण दिन चाहन्छु । कुनै एउटा प्रदेशको अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुभयो । नजिकैको अर्को निर्वाचन क्षेत्रमा एक पैसा छुट्याउनुभएन । प्रदेश, केन्द्रका मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट हाल्छन् ।


एक पटक पर्यटनमन्त्रीले मन्त्रालयका जम्मा ७० वटा योजनामध्ये ५२ वटा आफ्नो जिल्लामा मात्रै पठाउनुभएको छ । यो ठीक हो ? होइन । यो विषयमा कसैले प्रश्न उठाएकै छैन । मन्क्री व्यत्तिकेन्द्रित छन् । मन्त्रीहरू देशका भएनन् । त्यो बेला सांसदले आफ्नो निर्वाचन क्षेत्रबारे बोल्नुपरेन ? प्रभावशाली नेताहरूलाई निर्वाचन क्षेत्रको बजेट आवश्यक नहुन सक्छ, त्यसभित्र म पनि परुँला ।

मलाई यो ६ करोडको त्यति ठूलो महत्त्व छैन । तर संघ र प्रदेशका मन्त्रीले मात्रै आफ्नो निर्वाचन क्षेत्रमा बजेट खन्याएपछि कमजोर सांसदलाई समस्या हुन्छ । प्रधानमन्त्रीले झापामा बजेट हाल्ने, विष्णु पौडेल अर्थमन्त्री हुँदा बजेट बुटवल लैजाने अनि संघीयताको मर्मविपरीत भन्दै तथाकथित कुरा गर्ने ? प्रधानमन्त्री, मन्त्री अनुशासनमा बस्नुपर्दैन ?

अर्को उदाहरण पनि दिन चाहन्छु । फुसको छानो हटाउने कार्यक्रम बजेटमा आयो । झापामा मात्रै १६ सय घरको फुसको छानो हटाउन खर्च भएछ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा मात्रै १४ सय घरका फुसको छानो हटाइएछ । बाँकी दुई सय परिवारको फुसको छानो हटाउन झापाकै अर्को निर्वाचन क्षेत्रमा खर्च भयो ।

बाँकी तीन निर्वाचन क्षेत्रका एउटा घरपरिवारले पनि यो कार्यक्रमको बजेट पाएनन् । फुसको छानो प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै छ ? झापाभरि छ । यो वास्तविकता हो । हिजोका दिनमा पनि यस्तै भयो । यो प्रवृत्ति अन्त्य गर्न पनि निर्वाचन क्षेत्रअनुसार बजेट चाहिन्छ ।

सांसदको बजेटले समानुपातिक सन्तुलित विकास भएको छ । सांसदले कराएका कारण प्रत्येक निर्वाचन क्षेत्रमा बजेट गएको छ । संघीयता आइसकेपछि संघीयताविरोधी भयो, संघीयताको मर्मविपरीत भयो भनेर लेखेका लेख्यै छन् । संघीयतामा संघले, प्रदेशले १० हजारका टुक्रे आयोजनामा पनि काम गरिरहेको देख्दैनन् ।

ठूलाठूला परियोजनामा मात्रै बजेट खर्च गरौं, देश बनाऔं भनेर प्रधानमन्त्री, मन्त्रीले नै भन्छन् र अनुशासनमा बस्छन् भने सांसदहरूले मान्नुपर्छ । प्रधानमन्त्रीलाई आफ्नो निर्वाचन क्षेत्र चाहिने, मन्त्रीलाई चाहिने, सांसदलाई चाहिँ नचाहिने भन्ने हुन्छ ? सांसदहरू कसरी चुप लाग्छन् ? सांसदको मात्रै कुरा हैन, जनताको कुरा पनि हो ।

मेरो निर्वाचन क्षेत्रका सर्वसाधारण प्रधानमन्त्रीलाई भेट्न आउन सक्दैनन् । म नै हो, उनीहरूको सम्पर्क व्यक्ति । उनीहरूले मसँग विकास नमागे कोसँग माग्ने ? मैले बजेट लैजान सकिनँ भने उनीहरूलाई अन्याय हुन्छ कि हुँदैन ? उनीहरूका अपेक्षा पूरा गर्छु भनेर म निर्वाचित भएर आएको हुँ । मैले गर्न सकिनँ भने मलाई नै सञ्चारमाध्यमले केही गर्न सकेन भनेर लेख्छन् ।

बजेट ल्याउने बेला करोड माग भनेर मिडियाले लेख्छन् । बजेट आइसकेपछि फेरि त्यही मिडियाले लेख्छ, हेर्नुस् त यी माननीयको क्षेत्रमा विकास नै भएको छैन । भ्रष्टाचारको कुरा उठेको छ यस विषयमा । तर केन्द्रीय निकायले गरिरहेका सबै आयोजनाको काम राम्रोसँग भएको छ त ? सबैभन्दा बढी भ्रष्टाचार केन्द्रमा छ ।

गाउँको योजनामा त अनुगमन हुन्छ, जनताले तुरुन्तै खबरदारी गर्छन् । तर सडक विभागको इन्जिनियरले जनताको कुरा सुन्दैन । त्यसकारण निर्वाचन क्षेत्रको पैसामा मात्रै हैन, सबैभन्दा बढी पैसा हुने केन्द्रका ठूला आयोजनामा भ्रष्टाचार छ । यो कार्यक्रमबाट थोरै पैसाले धेरै काम भएको छ ।

अहिलेको प्रणालीमा बजेट विनियोजनमा सांसदको भूमिका हुँदैन । सबै प्रदेश वा स्थानीय तहको संरचनाबाट खर्च हुने गरेको छ । अहिले पनि कर्मचारी, सांसद, जनप्रतिनिधि वा कोही न कोहीले योजना छनोट गर्ने हो । अरू परियोजनाअनुसार नै काम गर्ने प्रणाली हो संघीय सरकारले छुट्याएकोबजेटमा पनि ।

(कुराकानीमा आधारित)

प्रकाशित : जेष्ठ २१, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

जसको शरण, उसैबाट पीडित

नातिबाट बलात्कृत ८२ वर्षीया महिला भन्छिन्, ‘भगवान् हमरा एहन दिन किएक देखएलक ?’
विनु तिम्सिना

विराटनगर — ‘अप्पन लोक बुझिक शरण मांगलेल एकर घरमें अएलहुँ । अपने मरिक चलिगेल हम सेहो मृत्युके प्रतीक्षामें छली अहि उमरमें भगवान् हमरा एहन दिन किएक देखएलक ।’ (बूढाबूढी नै मागेर खाइरहेका थियौं । आफन्त सम्झेर शरण माग्न यसको घरमा आएँ । बूढा मरेर गइहाले म पनि मृत्यु नै पर्खिरहेकी थिएँ । यो उमेरमा किन यस्तो दिन देखायो ईश्वरले मलाई ।)

यो कारुणिक भनाइ ८२ वर्षीया महिलाको हो । वृद्ध ज्यान र कुप्रो परेको ढाडका कारण सजिलो गरी बस्न पनि नसक्ने उनी गत वैशाख ५ गते बलात्कृत भइन् । त्यो पनि नाति नाताको व्यक्तिबाट । घटना भर्खरै सार्वजनिक भएको हो ।

करिब २५ वर्षअघि उनी सिरहाको भगवानपुर गाउँबाट मानसिक सन्तुलन गुमाएका श्रीमान्लाई साथै लिएर मोरङको साविक बुधनगर गाविस (हाल विराटनगर महानगरपालिका १८) मा रहेका आफन्तको घरमा शरण माग्न आएकी थिइन् । सिरहामा पनि अर्काको घरमा मजदुरी गरेर बसेका उनीहरूका सन्तान भएनन् । सम्पत्ति जोड्न पनि रहर भएन । बुधनगरमा उनको काका ससुराको घर थियो ।

उनीहरू सहारा खोज्दै बुधनगर आएका थिए । पाँच वर्षअघि उनका श्रीमान्को मृत्यु भयो । ‘२५ वर्षअघि बुधनगर आउँदा ऊ (पीडक नाति) सानै थियो, मेरै हातले कति पटक उसलाई खाना खुवाएको थिएँ,’ आँसु पुछ्दै उनले भनिन्, ‘आज यसले नै मलाई यस्तो दिन देखायो ।’

पीडकका श्रीमती, दुई छोरी र दुई छोरा छन् । वैशाख ५ गते राति उनीहरू सबै आफन्तको विवाहमा गएका थिए । ‘रात परिसकेकाले म खाना खाइरहेकी थिएँ, पनातिहरू सुतिसकेका थिए, ऊ रक्सी खाएर आएको थियो, खाना खाइरहेकी मलाई उचालेर कोठामा लग्यो अनि मुख थुनेर जबर्जस्ती गर्‍यो,’ उनले सुनाइन् । बलात्कृत भएपछि उनी रगताम्मे भएर मूर्च्छा परिन् । घरमा अरू कोही थिएनन् ।

भोलिपल्ट नातिनी–बुहारीलाई भनिन् । बुहारीले आफ्ना श्रीमान्लाई गाली गरिन् । एक/दुई जना छिमेकी महिलालाई पनि पीडा सुनाइन् । तर न्यायका लागि कसैबाट सहयोग पाइनन् । ‘उल्टै गाली खानुपर्‍यो,’ उनले दुखेसो पोखिन् । घटनास्थल र बुधनगर प्रहरीचौकीको दूरी लगभग एक सय मिटरमात्रै छ । तर उनको वेदना प्रहरी चौकीसम्म पुगेन । उनी भौंतारिँदै सिरहा आफन्तकहाँ पुगिन् ।

यता उक्त घटना एक कान दुई कान गर्दै बुधनगरभरि फैलियो । गाउँका अगुवा ७६ वर्षीय जगदेव दास तक्माले सुनेपछि भने बुधनगर प्रहरी चौकी गएर घटना विवरण सुनाए, पीडित वृद्धालाई खोजिदिन आग्रह गरे । तर प्रहरीले कुनै मतलब गरेन । ‘धेरै खोजतलासपछि उनी सिरहामा रहेको पत्ता लाग्यो । मैले आफ्नै खर्चमा उनलाई झिकाएँ,’ उनले भने ।

स्थानीय प्रहरीले घटनाका विषयमा चासो नदिएपछि गाउँमा पञ्चायती बस्यो । पञ्चायतीमा पीडकले रक्सीको सुरमा गल्ती गरेको स्वीकार गरे । इलाका प्रहरी कार्यालय रानीले वैशाख २९ गते पीडकलाई पक्राउ गर्‍यो । नागरिकता नभएकाले उमेर पत्ता लगाउन पीडित महिलालाई सोमबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

‘घटना थाहा पाउनेबित्तिकै कारबाही सुरु गरेका छौं,’ उनले भने, ‘तथ्यप्रमाण जुटाइरहेका छौं । अनुसन्धान पूरा भइसकेपछि अदालतमा मुद्दा दायर गर्छौं ।’ बढी उमेरकी महिलालाई बलात्कार गर्दा दोषीलाई थप सजाय हुने भएकाले पीडित महिलाको आधिकारिक उमेर पत्ता लगाउन परीक्षण गर्नुपरेको हो ।

आवासको समस्या
पीडित महिला घटनापछि छिमेकी जगदेव दासकै घरमा शरण लिएर बस्दै आएकी छन् । बलात्कारको घटनापछि शारीरिक र मानसिक रूपमा विक्षिप्त बनेकी उनलाई छिमेकीको घरमा कति दिन शरण लिएर बस्ने भन्ने चिन्ता पनि थपिएको छ । ‘प्रहरीले यो घटनाको अनुसन्धान चाँडै सकेर पीडितलाई न्याय दिए उनलाई फेरि सिरहा नै छाडेर आउने थिएँ,’ दासले भने ।

उनले सिरहामा पीडित महिलाका आफन्त भए पनि उनलाई राज्यले बस्ने, खाने व्यवस्था गरिदिनु राम्रो हुने बताए । पीडित महिलालाई सहयोग गरेको भनेर पीडकका परिवार र केही छिमेकी तथा राजनीतिक दलका स्थानीय नेताहरूले समेत आफूलाई दबाब दिने गरेको उनको गुनासो छ ।

बलात्कार घटना बढ्दो
मोरङमा बलात्कारका घटना बर्सेनि बढिरहेको प्रहरीको तथ्यांक छ । आर्थिक वर्ष २०७२/७३ मा ५४ वटा बलात्कारका घटना दर्ता भएका थिए । जसमा १६ महिला र ३८ बालिका पीडित थिए । २०७३/७४ मा २४ महिला र ४२ बालिका पीडित बनेका घटना दर्ता भए । २०७४/७५ मा बलात्कारसम्बन्धी ८० वटा घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

जसमध्ये ३० महिला, ३ बालक र ४७ बालिका पीडित छन् । चालु आर्थिक वर्षमा ८७ जना बलात्कार भएको घटना दर्ता भएको छ, जसमा २९ महिला र ५८ बालिका पीडित छन् । बलात्करका यी अधिकांश घटनामा पीडक आफन्त र छिमेकी नै पाइने गरेको महिला सेल प्रमुख जमुना बस्नेतले बताइन् । ‘ज्येष्ठ महिला बलात्कारमा परेको घटना आउने गरे पनि सबैभन्दा बढी बालिका पीडित देखिन्छन्,’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ २१, २०७६ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्