कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षणमा कलेजो प्रत्यारोपण सफल

काठमाडौँ — शिक्षण अस्पताल महाराजगन्जमा पहिलोपटक सफलतापूर्वक कलेजो प्रत्यारोपण भएको छ । अस्पतालका सर्जन एवं प्राध्यापक डा. रमेशसिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो ।

शिक्षणमा कलेजो प्रत्यारोपण सफल

शुक्रबार बिहान ८ बजे सुरु गरिएको प्रत्यारोपण १६ घण्टापछि राति १२ बजे सकिएको अस्पतालले जानकारी दिएको छ । ५८ वर्षीय बाबुलाई ३३ वर्षीया छोरीले प्रत्यारोपणका लागि कलेजो दिएकी थिइन् ।


शल्यक्रियामा डाक्टर, नर्स र स्वास्थ्यकर्मीसहितको ५० जनाको टोली एवं सर्जरीमा डा. भण्डारीको नेतृत्वमा १२ चिकित्सक सहभागी थिए । यसअघि भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भए पनि शिक्षण अस्पतालमा पहिलो पटक भएको हो । भक्तपुरमा कलेजो प्रत्यारोपण निरन्तर छैन ।


कलेजो प्रत्यारोपणका लागि भारतको एपोलो अस्पतालको विशेषज्ञ टोली आएको थियो । पाँच वर्षको प्रयासपछि एपोलो अस्पतालका विशेषज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सफल भएको जानकारी अस्पतालले दिएको छ ।


स्वास्थ्य परीक्षणपछि चिकित्सकले कलेजो दिन मिल्ने ठहर्‍याए प्रत्यारोपणका लागि कलेजो दिन सकिन्छ । कलेजो दिने व्यक्तिलाई कुनै असर नगर्ने चिकित्सकको भनाइ छ । अब एपोलोको सहयोगबिनै आफ्नै पहलमा कलेजो प्रत्यारोपण गर्न सुरु गरिने अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?