'दैवीय शक्ति' पाउने अन्धविश्वासले छिमेकी बालककाे 'बलि'

अजित तिवारी

जनकपुर — धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा 'शक्तिशाली' हुने अन्धविश्वासले अढाई वर्षीय बालककाे बलि दिएकाे खुलेकाे छ । ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । उक्त शव बलि दिएर फालेकाे प्रहरी अनुसन्धानमा पुष्टि भएकाे हाे ।

बालककाे हत्यामा संलग्न शत्रुधन महताेलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर : अजित तिवारी । कान्तिपुर

मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएका बेला घरकाे ढाेकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी शत्रुधन महताेले ललाई फकाई अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेकाे प्रहरी अनुसन्धानमा खुलेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए।


महताेले गर्ने धामीझाक्रीकाे काममा दखल बढाएर शक्तिशाली हुने अन्धविश्वासले आप्नै आँगनमा धारिलाे हतियारले रेटेर बालककाे हत्या गरेकाे खुलेकाे हाे। प्रहरीले महताेले हत्याका बेला लगाएका लुगा र प्रयाेग गरिएकाे धारिलाे हतियार समेत बरामद गरेकाे छ।

बालकको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेेर अनुसन्धान गरिरहेकाे थियाे।शव भेटिएकाे अघिल्लो साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा भेटेका थिएनन् । बिहान उनकै घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा शव भेटिएको थियो । घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धान बलितिरै केन्द्रित रहे पनि घटनास्थल र समयबारे अभियुक्तहरूको फरक–फरक बयानले छानबिन लम्बिएको थियाे ।

हत्या गर्ने बेला लगाएका लुगा र प्रयाेग गरिएकाे हतियार।

प्रहरीले आर्यन हत्या प्रकरणमा शंका लागेका करिब ५० जनालाई हिरासतमा लिएर सोधपुछ गरेर छाडेको थियाे । साहका छिमेकी धामी शत्रुघन महतोलाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धानले नयाँ मोड लिएको हो ।

मिथिला नगरपालिका–८ कुसुमबिछौनाका ५२ वर्षीय जंगवीर महतो राजमार्ग क्षेत्रका चर्चित धामी हुन् । हालै झारफुक र टुनामुना सिकेका शत्रुघन उनकै सालो हुन् ।

प्रकाशित : जेष्ठ १६, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

व्यवस्था फेरियो, सोच फेरिएन

कान्तिपुर संवाददाता

कसैले सोचेका थिएनन्, यति सजिलै देशमा लोकतान्त्रिक गणतन्त्र आउँछ भनेर  । २०६२/६३ सालको जनआन्दोलनले २४० वर्ष लामो इतिहास बोकेको राजतन्त्रलाई पाखा लगाइदियो  ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो । दलहरूले जति अहमता, जति घमन्ड गरे पनि यति सजिलै गणतन्त्र आउँछ भनेर कसैले कल्पना गरेका थिएनन् । राजा ज्ञानेन्द्रले पनि जनताको गणतन्त्रप्रतिको चाहनालाई साथ दिए । सुरुक्क नारायणहिटी राजदरबार, श्रीपेच, राजदण्ड सबै त्यागिदिए । अनि मुलुकमा सजिलै गणतन्त्र आयो ।

लोकतान्त्रिक संविधान पनि बन्यो । स्थानीय, संघीय ससद र प्रदेश संसदसम्म गठन भए । तीनै तहका सरकार बने । तर लोकतान्त्रिक गणतन्त्रको फल उपभोग गर्न जनताले पाएका छैनन् । जनतालाई करमाथि कर थोपरिएको छ । विकास खर्चको नाममा नेताहरू पैसा असुलिरहेका छन् । १ वर्षमा सकिन पर्ने काम १० वर्षमा सक्दा पनि ठेकेदारलाई कारबाही हुँदैन । असली लोकतान्त्रिक गणतन्त्र भनेको यही हो ? जसले जे गरे नि हुने ? नेतालाई मस्ती जनतालाई सास्ती कहिलेसम्म हो ? व्यवस्था त फेरियो, तर नेताको नियत र सोचाइ फेरिएन । संस्कार फेरिएन । आफू ‘माथि’ जनतालाई ‘तल’को ठान्ने प्रवृत्ति फेरिएन । बिचौलिया संस्कृतिले राजनीति दुर्गन्धित बन्यो । जनता दिन–प्रतिदिन निराश बन्दैछन् । गणतन्त्रलाई नेताहरूले कमाइखाने भाँडो बनाए । विलासितामा रमाउने नेताहरूले आफ्नो कर्तव्य भुले । भोगविलासमा लिप्त भए । गणतन्त्रसँगै राम्रा संस्कार बस्नुपर्थ्यो, त्यसो हुन सकेन । यो नै हाम्रो दुर्भाग्य भयो ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : जेष्ठ १६, २०७६ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्