मनाङको नारमा जेठमै हिमपात [तस्बिर र भिडियो]

आश गुरुङ

लमजुङ — कहिलेकाहीं पुसमाघमा समेत मनाङमा हिउँ पर्दैन । यसपटक अचम्मै भयो, बैशाख–जेठमा पनि हिउँ पर्‍यो । अलिअलिमात्रै नभई गाउँबस्ती नै ढाकिने गरी । तराईमा ४० डिग्री सेन्टिग्रेडमाथि तापक्रम पुगेको छ ।


हिमाली जिल्ला मनाङको नारमा भने हिमपात भइरहेको छ। गर्मीले तराईमा एकसरो लुगा लगाउन समेत मुस्किल परेका बेला मनाङको नारमा भने मुटु कमाउने जाडो बढेको छ।



‘४/५ वर्षअघि बैशाखमा हिउँ परेको थियो। त्यतिबेला अलिअलि परेको थियो। यो त हिउँ पर्ने समय होइन,’ नारगाउँका फुर्पा ठेले लामाले भने, ‘पुसमाघमा हिउँ पर्दैन बरु। पछिल्लो समय त बैशाख जेठमै हिउँ पर्ने पो भयो।’


नार्पाभूमि गाउँपालिका–१ का अध्यक्ष रितार छिपेल लामाले जेठमै हिउँ पर्नु नयाँ कुरा भएको बताए। नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाले जेठ १ गतेयता प्रायः दिनदिनै हिमपात भइरहेको बताए। ‘सुरुमा हावाहुरी चल्छ। त्यसपछि पानी पर्छ। पानी पर्दापर्दै हिमपात हुने गरेको छ,’ उनले भने, ‘जेठमै ३ इन्चसम्म हिउँ जम्ने गरेको छ।’


उनले मंगलबार र बुधबारसमेत गाउँमा केही समय हिमपात भएको बताए। अहिलेको संकेत अनुसार जेठ महिनाभरी नै हिमपात हुनसक्ने उनले अनुमान गरे। ‘माघ फागुनको हिमपातले धेरै नोक्सान पुर्‍यायो। बैशाख जेठमा पनि हिउँ परेको छ। असार नलागेसम्म यस्तै होला जस्तो छ,’ उनले भने, ‘मौसम परिवर्तन भइरहेको छ। बेमौसमको हिमपातले बिउबालीलाई समस्या पारेको छ।’


फागुनभरी हिमपात हुँदा स्थानीयमात्रै नभएर अस्थायी रुपमा मनाङ बस्दै आएकाहरु आत्तिएका थिए। एकदिन हिउँ पर्न छोडे उनीहरु सहरबजार झर्थे। अहिले मनाङकै नार गाउँका बासिन्दा जेठ महिनामा समेत हिमपातसँग जुधिरहेका छन्। घरेलु तथा साना उद्योग विकास समिति मनाङका उद्योग अधिकृत प्रदीप न्यौपानेले बर्खा लाग्ने बेलामा पनि हिमपातको अचम्मको दृश्य देखिएको बताए। ‘नारमा हाम्रो तालिम चल्दै थियो। हामी गयौं। गएकै दिन हिमपात भयो,’ उनले भने, ‘कस्तो अचम्म। हामीलाई पुसमाघ जस्तै लाग्यो।’


नासों गाउँपालिका–१, तालगाउँकी कान्छी गुरुङ नारबासीलाई अचार बनाउने तालिम दिन गएकी थिइन्। ‘हाम्रो गाउँमा पुसमाघ मै हिउँ देख्न मुस्किल छ। २० वर्षपछि अहिले फागुनमा हिउँ पर्‍यो,’ उनले भनिन्, ‘नार गाउँमा जेठमै पनि हिउँ पर्दो रहेछ।’ मनाङका जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले नारगाउँमा हिमपात हुँदा अचम्म मानेको बताए। ‘हिमाली जिल्ला चिसो त स्वभाविक हो। बैशाख–जेठमै हिमपात हुनु त त्यति स्वभाविक ठानिन मैले।’


‘पहिले त मान्छे नै उडाउने गरी हावा चल्यो। पछि त हिमपात भैगो,’ अधिकृत न्यौपानेले भने। जिल्ला निर्वाचन अधिकारीले नारबाट काङला पास हुँदै मनाङ गाउँ निस्कने योजना भएपनि हिमपातले जान नसकिएको बताए।


नारमा नार गेष्ट हाउससमेत संचालन गर्दै आएका लामाले मौसम परिवर्तन भइरहँदा अहिले हिमपात भएको हुनसक्ने अनुमान गरे। उनका अनुसार पुसमाघको हिमपातले बालीनाली सप्रिने भएपनि बेमौसममा परेको हिमपातले बालीनाली बिगार्छ। उनका अनुसार आलु र करु रोपेको २ साता पनि भएको छैन। एकसातापछि तोरी रोप्ने तयारी छ। ‘आलु र करु उम्रिएको छ। ‘पानी परेको भए खेती राम्रो हुने थियो। हिउँ पर्‍यो। साह्रै चिसो छ। चिसोले बाली पहेंलो बनाइदिन्छ। पहेंलो भएपछि मर्ने सम्भावना हुन्छ।’


संघीय संरचनापछि नार्पाभूमि गाउँपालिकाको १, २ र ३ नं. वडामा नार गाउँ पर्छ। ४ हजार १ सय २० मिटर उचाईको नार गाउँमा ८६ घरधुरी छन्। स्थानीयको प्रमुख बाली आलु, जौ, करु र तोरी हो। तिनै बालीमा हिमपातले क्षति पुर्‍याएको वडाअध्यक्ष लामाले बताए।


तस्बिर र भिडियो सौजन्यः प्रदीप न्यौपाने/मनाङ


प्रकाशित : जेष्ठ ९, २०७६ ११:४४

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

किशोरीलाई लैजान खाेज्ने तीन भारतीय युवा पक्राउ 

माधव अर्याल

पाल्पा — गुल्मीका तीन किशोरीलाई भारत लैजाँदै गर्दा पाल्पा प्रहरीले तीन भारतीय युवालाई पक्राउ गरेको छ । उनीहरुलाई तानसेन–रिडी सडक अन्तर्गतको रिब्दीकोट गाउँपालिका–३, हार्थोक खस्यौलीमा प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी गुल्मी तम्घासको एक होटलमा काम गर्दै आएका भारत विहारका २१ वर्षीय मनोहर कुमार, २० वर्षीय अभिजित कुमार र १९ वर्षीय कालु कुमार पक्राउ परेको जानकारी गराएको छ।

ललाइफकाई भारतको विहार लैजाँदै गर्दा प्रहरीले ती युवालाई हार्थोकमा पक्राउ गरेको हो। गुल्मी तम्घासको एक होटलमा काम गर्दै आएका ३ जना युवतीलाई विवाहको बाहनामा ललाई फकाई गरी भारत लैजाँदै गर्दा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। भारत जान खोजेका ती युवतीहरु २१ वर्षीया विवाहित फुपु र अन्य २ जना १४ र १५ वर्षीया किशोरी भतिजी हुन्।

भारतीय युवा पनि तम्घासकै मिष्ठान भण्डारमा काम गर्दै आएका थिए। भारतीय युवाले कसैले थाहा नपाउन भनी विक्की कुँवरका नाममा ६ जनाको टिकट काटेका थिए। प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका युवाहरुले बिहेको नाटक गर्दै हात काटेर किशोरीलाई रगतको सिउँदो लगाइदिएका थिए।

पक्राउ परेका किशोरीहरु घरपरिवार तथा स्थानीयवासीको रोहबरमा मनोपरामर्श गरी बुझाइसकेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए। पक्राउ परेका युवालाई मानव बेचविखन तथा ओसार–पसार कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरुलाई ५ दिनको म्याद थपिएको छ।

प्रकाशित : जेष्ठ ९, २०७६ ११:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×