सरकारी खर्चमा सपरिवार घुमघाम- समाचार - कान्तिपुर समाचार

सरकारी खर्चमा सपरिवार घुमघाम

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिकाको न्यायिक समिति र ६ नम्बर वडाका जनप्रतिनिधि सरकारी खर्चमा परिवारसहित भारतको तीर्थयात्रा गरेर फर्केका छन् ।

वैशाख ३१ गते कञ्चनपुरको महाकाली नगरपालिकाको अवलोकन भ्रमणमा निस्किएका उनीहरू भारतका विभिन्न धार्मिक क्षेक्र घुमेर गत शुत्रबार फर्किएका छन् ।


गुलरियाकी उपप्रमुख सुशीला गिरी, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र पौडेल, वडाध्यक्ष, न्यायिक समितिका पदाधिकारी र कर्मचारीले वृन्दावन, मथुरा, आगरा र नयाँ दिल्लीलगायतको भ्रमण गरेका हुन् । भ्रमण टोलीका अधिकांशले परिवारका सदस्य लिएर गएका थिए ।


नगरपालिकाको लेखा फाँटका अनुसार गत वैशाख ३० मा २ लाख ७५ हजार रुपैयाँ पेश्की बुझेर टोली भ्रमणमा निस्किएको थियो । टोलीले भ्रमण प्रयोजनका लागि न्यायिक समितिबाट १ लाख ५० हजार र वडा ६ बाट १ लाख २५ हजार गरी २ लाख ७५ हजार पेस्की बुझेको देखिन्छ ।


भारतीय नम्बर प्लेटका दुईवटा गाडीमा उनीहरू तीर्थयात्रामा गएका थिए । पेस्की निकासाका क्रममा न्यायिक समिति र वडाको अनुगमन भ्रमण उल्लेख गरिएको छ । नगर कार्यपालिकाको गत आइतबारको बैठकमा गुलरिया–२ का वडाध्यक्ष टंक अधिकारीले सरकारी रकम बुझेर पारिवारिक भ्रमणमा जानुको कारण सोधेको बताए । पारिवारै भ्रमणमा लैजानुले सरकारी रकमको दुरुपयोग भएको उनले बताए ।


उपप्रमुख तथा न्यायिक समिति संयोजक गिरीले महाकाली नगरपालिकामा हुने न्यायिक समितिका मुद्दा, न्यायिक अधिकारी, समस्या र समाधान कसरी गरिन्छ भन्ने विषयमा छलफल भएको बताइन् ।


सभाबाट निर्णय भएअनुसार न्यायिक समितिका पदाधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधिले महकालीको अनुगमन र छलफल गरेको उनको भनाइ छ । ‘त्यसपछि वडाको बजेटबाट भारतका ऐतिहासिक स्थलको अवलोकन भ्रमण गरेका हौं,’ उनले भनिन्, ‘अवलोकनबाट धेरै कुरा जानकारी लिएर फर्केका छौं ।’


मथुराको कृष्ण मन्दिर, दिल्ली र आगराको ताजमहल भ्रमण गरेको टोलीका एक सदस्यले बताए । ‘भारत भ्रमण सार्वजनिक नगर्ने सहमतिअनुसार फेसबुकमा समेत फोटो अपलोड नगरिएको हो,’ उनले भने । नगरपालिका टोलीले विगतमा अनुगमन गर्दा तत्कालै फेसबुकमा फोटो खिचेर अपलोड गर्ने गरिन्थ्यो ।


उपप्रमुख गिरीले अनुगमन, छलफल गर्ने नगरपालिकाको अधिकार क्षेत्रभित्र भएकाले सोहीअनुसार भ्रमण गरेको दाबी गरिन् । गुलरियाको वार्षिक बजेटमध्ये २५ लाख रुपैयाँ अनुगमन भ्रमणका लागि छुट्याइएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्

६८ वर्षेसँग बिहे गर्दै सेलेना

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी पप गायिकाका रूपमा चिनिनुअघि सेलेना गोमेज डिज्ने च्यानलको टीभी सिरिजबाट अभिनय क्षेत्रमा बालकलाकारका रुपमा नै भित्रिसकेकी थिइन् । १७ वर्षकी छँदै आफ्नो ब्यान्ड खोलेर पहिलो एल्बम ‘किस एन्ड टेल’ ल्याएपछि भने गोमेज पप गायनमै रम्न थालिन् ।

दुई वर्षअघि बिलबोर्डलेकोतथ्यांकअनुसार गोमेजका विश्वभरमा एल्बम ७० लाख बिक्री भएका थिए भने दुई करोड २० लाखप्रति एकल गीत बिक्री भएका थिए ।

पछि सेलेना विश्व चर्चित सेलिब्रेटी नै बनिन् । गतवर्ष फुटबलर क्रिस्टियानो रोनाल्डोले उछिन्नुअघि उनी इन्स्टाग्राममा विश्वकै सर्वाधिक फलोअर्स पाउनेमा थिइन् । अहिले पनि गोमेजले इन्स्टामा राख्ने प्रत्येक पोस्टबाटै आठ लाख डलर कमाउँछिन् ।

गायन क्षेत्रकी आइकन बनिसकेकी २६ वर्षीया गोमेज हालै भने कान्स फिल्म फेस्टिभलमा देखापरिन् । विश्वभरका उत्कृष्ट फिल्महरूको प्रिमियरदेखि बजार प्रवर्द्धनका लागि प्रतिष्ठित मानिने कान्समा यसपटक उनी आफैं अभिनीत फिल्म ‘द डेड डन्ट डाई’ को प्रिमियर भयो । गोमेज प्रिमियरको रेडकार्पेटमा कोएक्टर बिल मुरेसँगै देखापरेकी थिइन् ।

यो उनको पहिलो कान्स अनुभव पनि हो । कान्स अनुभवले उत्साहित भएकी गोमेजले रेडकार्पेटका फोटा पोस्ट गर्दै उल्लेख गरेको क्याप्सनले माहोल गर्माएको छ । पोस्टमा उनले ६८ वर्षीय कोएक्टर मुरेसँगको रेडकार्पेट फोटो राख्दै उनीसँग विवाह गर्न लागेको उल्लेख गरेकी थिइन् ।

सेतो लुइस भुइटोनमा रेड कार्पेटमा प्रस्तुत भएकी अभिनेत्री गोमेजले लेखेकी छन्, ‘कान्समा मेरो पहिलो पटक । फिल्मको एक सदस्य हुन पाएकोमा आफूलाई सम्मानित महसुस गरेकी छु र, टिमप्रति आभार । साँच्चै, बिल मुरे र म विवाह गर्दै छौं ।’

गोमेजको स्टाटसले फ्यान निकै उत्तेजित भए । आफूभन्दा ४६ वर्ष जेठा मुरेसँगको विवाह किस्साले सबैलाई अवाक नै बनायो । उता, मुरेले पनि भ्यानिटी फेयरलाई अन्तरवार्ता दिने क्रममा भनिदिए, ‘मलाई उनी साँच्चै मन पर्छ । मायालु र स्वाभाविक छन् । म सधैं आफूलाई मनपर्ने पप आइकन भेटा आनन्दित महसुस गर्छु ।’ रेडकार्पेटमै मुरेले गोमेजको कानमा गएर फुसफुसाएका थिए । के भने त बाहिर आएन तर त्यसपछि गोमेजपछि उत्तेजित हुँदै मुरेतर्फ फर्केर फ्लाइङ किस दिएकी थिइन् ।

आफूभन्दा एक वर्ष कान्छा पप गायक जस्टिन बिबरसँग लामो समय रिलेसनसिपमा रहेकी गोमेज यति बेला भने सिंगल छिन् । प्रियंका चोपडाका पति गायक निक जोनाससँग १६ वर्षकै उमेरमा पहिलो पटक डेट थालेकी गोमेजले ३ वर्षपछि जस्टिनसँग जोडिन थालेपछि निकलाई छोडिदिइन् ।

पछि जस्टिनसँगको सम्बन्ध पनि कहिले छुट्ने कहिले जोडिने हुँदै अन्ततः गतवर्षको मार्चमा विधिवत् टुंगिएको थियो र उनी गायक द विकेन्डसँग छोटो समयका लागि जोडिएकी थिइन् । जेहोस्, लामो समय सुस्ताएकी गोमेजलाई चर्चा कमाउन यसपटकको कान्स लाभदायक रहृयो ।

प्रकाशित : जेष्ठ ७, २०७६ १०:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×