कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय पुस्तकालय साइनबोर्डमै सीमित

काठमाडौँ — नेपालको राष्ट्रिय पुस्तकालय वेबसाइटमा मात्र भेटिएको पाँच वर्ष भयो । २०७२ को भूकम्पले ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयको भवन जीर्ण भएपछि त्यहाँका डेढ लाख पुस्तक बोरामा थन्किएका छन् ।

त्यसमा तीन सय वर्ष पुराना हस्तलिखित ग्रन्थसमेत लथालिंग छन् । पुस्तकालयको प्रशासनिक काम हरिहर भवन घोडातबेला टहरामा सुचारु छ । भूकम्पपछि ती पुस्तकमध्ये ८० हजार थान काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको दुईतले भवनमा पुर्‍याइएका छन् । करिब २१ हजार थान पुस्तक सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको गोदाममा छन् ।


आधा जतिमात्र र्‍याकमा राखिएका छन् । झन्डै सात हजार थान बालपुस्तक र नयाँ खरिद गरिएको तीन हजार पुस्तक हरिहरभवनकै बालशाखा गोदामभित्र बोरामा राखिएका छन् । सरकारले काठमाडौं महानगरपालिका-१ जमलमा रहेको करिब ८ रोपनी क्षेत्रफल जग्गा राष्ट्रिय पुस्तकालयलाई दिने निर्णय गरेको छ ।


यसअघि त्रिभुवन विश्वविद्यालयले उक्त जग्गा उपभोग गर्दै आएको थियो । गत असोज २८ गते मन्त्रिपरिषद् निर्णयले राष्ट्रिय पुस्तकालय जमलस्थित कित्ता नं. १२७० को क्षेत्रफल ४०६७ दशमलब ८५ वर्गमिटर जग्गा नेपाल सरकार राष्ट्रिय पुस्तकालयको नाममा धनीपुर्जा जारी गरेको छ ।


त्रिभुवन विश्वविद्यालयले कुनै हालतमा नछाड्ने अडान लिएपछि उक्त ठाउँमा राष्ट्रिय पुस्तकालयको साइन बोर्ड ठड्याउनेबाहेक कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । शंकरदेव क्याम्पसले उक्त हाताभित्र एमबीएम कक्षा सञ्चालन गर्दै आएको छ ।


'सरकारले सहयोग नगरेकाले प्रतिपक्ष गुहार्ने' भनेपछि शिक्षा मन्त्रालयले नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण स्थलमा शंकरदेव क्याम्पसलाई गत चैतसम्म त्यहाँबाट अन्त सर्न म्याद दिएको थियो ।


'क्याम्पसले ठाउँ छाडेपछि भवन निर्माण प्रक्रिया अघि बढ्ने भनिएको हो,' पुस्तकालयका निमित्त प्रमुख वसन्तराज पन्थले भने, 'क्याम्पस जमलबाट सरेको छैन, हामी (राष्ट्रिय पुस्तकालय) पनि कतै सरेका छैनौं ।' प्रमुख उपेन्द्रप्रसाद मैनाली भने विदेश भ्रमणमा छन् ।


मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले राष्ट्रिय पुस्तकालयको नयाँ भवन निर्माण कार्य अझै प्रक्रिया अल्झिएको बताए । 'सरकारले आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको सात महिना नाघिसक्यो,' उनले भने, 'तर अझै प्रक्रियामै अल्झिएको स्थिति छ ।'

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?