कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनकाण्ड र वाइडबडी प्रकरणका दोषी बालुवाटारबाट संरक्षित : शेखर कोइराला

विनोद भण्डारी

विराटनगर — कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले सुनकाण्ड र वाइडबडी प्रकरणका मुख्य अभियुक्तलाई बालुवाटारले संरक्षण गरेको आरोप लगाएका छन् ।

सुनकाण्ड र वाइडबडी प्रकरणका दोषी बालुवाटारबाट संरक्षित : शेखर कोइराला

नेपाली कांग्रेस मोरङ क्षेत्र नं ३ ले बिहीबार विराटचौकमा आयोजना गरेको क्षेत्रीय सभामा बोल्दै नेता कोइरालाले सुन काण्डका मुख्य अभियुक्तहरू बालुवाटार वरपर घुमिरहे पनि सरकारको नजरमा नपरेको आरोप लगाएका हुन् ।

सुनकाण्डका ठूला माछा पक्राउ पर्छन् भनेर गृहमन्त्रीले सार्वजनिक रूपमा उद्घोष गरेको उल्लेख गर्दै कोइरालाले पक्राउ परेका साना माछा समेत सरकारले धमाधम छाडेर ठूला माछालाई बालुवाटारले संरक्षण गरेको दाबी गरे ।


त्यसै गरी उनले वाइडबडी जहाज खरिदका दोषीलाई पनि बालुवाटारले संरक्षण गरेको आरोप लगाए । प्रधानमन्त्री केपी ओलीले तत्कालीन पर्यटन मन्त्री स्वर्गीय रविन्द्र अधिकारी यो प्रकरणमा दोषी नभएको दाबी गरेको उल्लेख गर्दै कोइरालाले दोषी को हो प्रधानमन्त्रीलाई नै थाहा होला र उनीहरूलाई किन सरकारले पक्राउ नगरेको भन्ने प्रश्न गरे । 'स्व. अधिकारी दोषी नभएको हेक्का प्रधानमन्त्रीलाई हुने तर दोषी को हो भन्ने हेक्का नहुने सवाल हुन्छ ?' कोइरालाले भने ।


सरकार प्रेस स्वतन्त्रता विरुद्ध धावा बोलिरहेको आरोप लगाउँदै कोइरालाले कांग्रेसले कुनै पनि हालतमा प्रेस काउन्सिल विधेयक पारित हुन नदिने बताए । 'सरकार प्रेस स्वतन्त्रता र मानव अधिकारविरुद्ध तानाशाही हुँदै छ ' कोइरालाले भने, 'यी दुवै सवाल का‌ंग्रेसलाई मान्य हुने छैन ।'


सुरक्षा परिषद्को सहमति विपरीत सरकारले सेना परिचालनको तयारी गरेर तानाशाहीको अर्को रूप देखाउन खोजेको आरोप लगाउँदै उनले इतिहासमै विवादमा नमुछिएको सेनालाई सरकारले विवादमा पार्ने तयारी गरेको दाबी गरे ।


पार्टीभित्रका सबै गुट उपगुटको अन्त्य हुनुपर्ने कोइरालाको भनाई थियो । अहिले कांग्रेसलाई चौतर्फी घेराबन्दी गरिएको उल्लेख गर्दै उनले पार्टीभित्रका सबै तिता मिठा कुरालाई बिर्सेर कम्युनिस्ट सरकारविरुद्ध लाग्न कार्यकर्तालाई निर्देशन दिए ।


'सबै कम्युनिस्ट र समाजवादी नामका पार्टीहरू कांग्रेस विरुद्ध एकबद्ध भएका छन् । यस्तो अवस्थामा कांग्रेस फुटेर नभई एकजुट भएर अगाडी बढ्नुपर्छ' कोइरालाले भने ।

प्रकाशित : जेष्ठ २, २०७६ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?