डिभिजन प्रमुख धितालसहित २० जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ — डिभिजन वन कार्यालय मकवानपुरका तत्कालीन डिभिजन वन अधिकृत उपसचिव प्रल्हादप्रसाद धितालसहित २० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सामुदायिक वनका सालका २०८ वटा रुख कटान गरी १ करोड ५८ लाख ७० हजार ७ सय ९० रुपैयाँ ३८ पैसा हानिनोक्सानी पुर्याएको पुष्टि भएपछि तत्कालीन डिभिजन प्रमुख उपसचिव धिताल, सहायक वन अधिकृतहरु विशाल भट्टराई, टंकनारायण श्रेष्ठ, नारायणबहादुर कार्की, दशराम चौधरी र अवकाशप्राप्त सहायक वन अधिकृतद्वय मोहनबहादुर खडका र राजेन्द्रमान राजभण्डारीसहित २० जनालाई बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
धितालसहित भट्टराई, श्रेष्ठ, कार्की, राजभण्डारी, चौधरी, रेन्जर राजु लामा, फरेष्टर ब्रम्हदेय यादब, वन रक्षक देवीप्रसाद गौतमलगायतविरुद्ध १ करोड ५८ लाख ७० हजार ७ सय ९० रुपैयाँ विगोसहित कैद सयाज माग दाबी गरिएको छ ।
मकवानपुरको बकैया गाउँपालिका-२ मा पर्ने ब्रम्ह सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मर्दनसिंह थिङसहित ठेकेदार, वन समिति र वन कार्यालयसमेतको मिलेमतोमा डिभिजन प्रमुख धितालले १ लाख रुपैयासमेत घुस लिएर ११ हजार १ सय ५४ दशमलव ४९ हजार क्युबिक फिट काठ कटानी र संकलन अनुमति दिएका थिए । मकवानपुरकै स्थायी वासिन्दा धिताल प्रदेश ३ को वन मन्त्रालयमा हाजिर भए पनि लामो विदामा थिए ।
जंगलबाट काठ सहज ढंगले बेचबिखन गर्न सजिलो होस् भनेर ठेकेदार र सामुदायिक वनका पदाधिकारीले २० लाख रुपैयाँ भन्दा बढी रकम विभिन्न निकायमा पहिल्यै बाँडेका थिए । हेटौंडास्थित् होटल सामनाका संचालक सानुकाजी आचार्य, सामाना काष्ठ उद्योगका संचालक सुरज आचार्य, सामुदायिक वनका अध्यक्ष थिङ, कोषाध्यक्ष शुक्रबहादुर भोलन, व्रम्ह आधारभुत विद्यालयका प्रधानाध्यापक राजन भन्ने रामबहादुर घोरसाइनी, सामुदायिक वनका सल्लाहकार जीवन भन्ने भीमबहादुर थिङ, ढलापडा काठ दाउरा संकलन समितिका संयोजक बनेका भुटानी भन्ने वुद्धबहादुर लोप्चन, सदस्यद्वय सोमबहादुर तिमल्सिना र सुर्जबहादुर जिम्मा भन्ने सूर्यबहादुर जिम्माविरुद्ध पनि १ करोड ५८ लाख ७० हजार ७ सय ९० रुपैयाँ ३८ पैसा विगोदाबी गरिएको छ ।
उक्त सामुदायिक वनभित्रका २६२ वटा ढलापडा सालका रुख मात्र कटान गर्नका लागि छपान भएकामा ठेकेदारहरुले बदनियतपूर्वक छपान नगरेका सालका हरिया सग्ला २०८ रुख कटान (९४९७.७८ क्यूबिकफिट) गरी १ करोड ५८ लाख ७० हजार ७ सय ९० रुपैया ३८ पैसा हिनामिना गरेको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उल्लेख गरेका छन् ।
सग्ला सालका रुख कटान गर्ने नियतले ढलापडा रुखको छपान गरिएको, छपान निरिक्षण तहगत हिसाबले तल्लो तहबाट गल्ती भए माथिल्लो तहबाट सुधार गर्ने भन्ने मनसायले भएतापनि वन निर्देशनालय र वन कार्यालयबाट निरीक्षण हुँदा न्यूनतम प्रक्रियासमेत नपुर्याएको पाइएबाट धितालसहित वनका कर्मचारीको मिलेमतो पुष्टि भएको अख्तियारको अनुसन्धानले देखाएको थियो । धिताल यसअघि पनि पटक-पटक अनियमितताका घटनामा मुछिएका वन कर्मचारी हुन् ।
प्रकाशित : जेष्ठ २, २०७६ १५:५४