काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वाणिज्य बैंकमा धरौटी बापत् बैंकमा राखेको पैसाको ब्याज दिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।
संघले बिमा कम्पनीहरुले बिमा कारोबार गर्न राख्नुपर्ने धरौटी रकमको ब्याज पाउने भन्दै म्यानपावर व्यवसायीलाई पनि ब्याज दिनुपर्ने संघका अध्यक्ष रोहण गुरुङले बताए । संघले यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐनलाई संशोधन गरी धरौटी रकम बढाएको छ । ऐन अनुसार ३ हजार भन्दा कम कामदार पठाउने म्यानपावरले ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी, तीनदेखि ५ हजारसम्म कामदार पठाउने म्यानपावरले एक करोड रुपैयाँ नगद र दुई करोड बैंक धरौटी र ५ हजार भन्दा बढी कामदार पठाउने म्यानपावरले दुई करोड रुपैयाँ नगद र तीन करोड रुपैया बैंक ग्यारेन्टी राख्नुपर्ने बाध्यकारी नियम छ ।
भदौसम्म यो धरौटी नराख्ने म्यानपावरले कामदारलाई विदेश पठाउन पाउने छैन । यसअघि ७ लाख रुपैयाँ नगद र २३ लाख रुपैया बैंक धरौटी राखेपछि म्यानपावरले कामदार पठाउने अनुमति पाउने गरेको थियो ।
‘विमा कम्पनी र स्कुल कलेजले पाउने सुविधा म्यानपावर व्यवसायीले पनि पाउनुपर्छ,’ अध्यक्ष गुरुङले भने,‘अन्यथा वैदेशिक रोजगार व्यवसायीहरुप्रति मात्रै अन्याय र विभेदपूर्ण व्यवहार गरेको ठहरिनेछ ।’ प्रकाशित : वैशाख १६, २०७६ १६:५२
काठमाडौँ — नेपाल कल्चर फिल्म सेन्टरले नेशनल क्यानेडियन फिल्म डेका अवसरमा नेपाली चलचित्र, संस्कृति, पत्रकारिता लगायतका क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा अभिनेत्री बसुन्धरा भुसाल, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, संस्कृतिविद् एवं राष्ट्रिय गानका रचयीता व्याकुल माइला, सांस्कृतिक अभियन्ता उर्मिला डंगोल, चलचित्र निर्देशक माधवराज खरेल, पत्रकार विजयरत्न तुलाधर, पत्रकार कमला जोशी, जीवन पराजुली, विनु श्रेष्ठ, पर्यटनकर्मी पिक शेर्पा लगायतलाई सम्मान गरिएको थियो ।
क्यानेडियन फिल्मको सय वर्ष पुरा भएको अवसरमा क्यानेडियनहरुले राष्ट्रिय चलचित्र दिवश मनाइरहेका छन् । कार्यक्रममा क्यानेडियन फिल्म माउडी का प्रदर्शन गरिएको थियो ।