पाहुनाको पर्खाइ

बलराम घिमिरे

रसुवा — भूकम्पले ध्वस्त बनाएको सुन्दर पर्यटकीय स्थल लाङटाङ पुनर्निर्माणपछि पुरानै अवस्थामा फर्किएको छ । विस्थापित सबै स्थानीय आफ्नै थातथलोमा फर्किएका छन् । उनीहरू पाहुनाको स्वागत गर्न आतुर छन् । 

त्यो बेला भूकम्पबाट बाँच्न सफल भएकाहरू विस्थापित भएर काठमाडौंको एलो गुम्बामा बस्न बाध्य भएका थिए । ‘साविकको लाङटाङ गाविस पुनर्निर्माण भएर भूकम्प जानुभन्दा अगाडिकै अवस्थामा पुगेको छ,’ गोसाइँकुण्ड गाउँपालिका ४ का वडाध्यक्ष सुब्पा लामाङले भने ।

लाङटाङ क्षेत्रमा ९५ प्रतिशतभन्दा बढी पुनर्निर्माणको काम भइसकेको तामाङले बताए । भूकम्प प्रतिरोघि घर र होटल निर्माण भएसँगै लाङटाङ झन् सुरक्षित भएको छ । भूकम्पपछि थातथलोमा फर्केका लाङटाङवासीले पुरानै पेसा र व्यवसाय गर्न थालेको स्थानीय ढिन्डुप तामाङले बताए ।

पर्यटकीय क्षेत्र भएकाले लाङटाङवासीको मुख्य पेसा–व्यवसाय होटल र पशुपालन हो । पुनर्निर्माणको तथ्यांकअनुसार लाङटाङमा १२५ घरधुरी छन् । भूकम्पपछि पुनर्निर्माण गरिएका ८५ प्रतिशतभन्दा बढी घरमा स्थानीयले होटल व्यवसाय सञ्चालन गरिसकेको पर्यटन व्यवसायी तेम्बा लामाले बताए ।

होटल व्यवसायी गाउँ फर्केर पुरानै पेसामा जम्न थालिसकेका छन् । भूकम्पपछि क्याङजिनमा ६ वटा होटल थपिएका छन् । विगतमा पशुपालन गर्ने कृषक पनि अहिले नयाँ बनेका घरमा होटल व्यवसाय गर्न थालेका छन् ।

थाङस्यापका बाबु तामाङ पुराना चौंरी पालक हुन् । भूकम्पपछि उनले त्यो व्यवसाय छोडे । ‘भूकम्पले चौरी मरे । त्यो पेसामा धेरै दुख गर्नुपर्छ,’ उनले भने, ‘दुःख गर्ने उमेर गइसक्यो अब होटल मात्रै चलाउँछु । चौरीभन्दा होटलबाट राम्रो आम्दानी हुन्छ ।’

लाङटाङमा पशुपालन र कृषि पेसा गर्नेको संख्या थोरै छ । जंगली जनावरले गर्दा कृषि पेसा गर्न समस्या छ । बारीमा लगाएको सबै खेती बँदेलले खाइदिने कृषक बताउँछन् ।

भूकम्पका कारण आएको हिउँ पहिरोमा परी लाङटाङमा २० जना कृषकको मृत्यु भयो । ४ सयभन्दा बढी चौंरी, याक तथा नाक मरे । भूकम्प जानुभन्दा अगाडि लाङटाङमा ३० वटा चौरी गोठ रहेकोमा अहिले १८ वटा मात्र रहेको गोठ समितिका अध्यक्ष तेन्जेन लामाले बताए ।

भूकम्पपछि पर्यटकीय क्षेत्र लाङटाङमा चौंरी पाल्ने कृषकको संख्या घट्दै गएको छ । भूकम्पले क्षति पुगेको बाटो तथा खर्क पुनर्निर्माण नहुँदा कृषकले चौंरी पाल्न छाडेको लामाले बताए ।

विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोमा परी लाङटाङका स्थानीय बासिन्दा, स्वदेशी तथा विदेशी पर्यटक गरी २१० जनाले ज्यान गुमाउनपर्‍यो । तीमध्ये १७५ जना लाङटाङका स्थानीय थिए । अझै पनि कतिपय हराइरहेका छन् ।
बेपत्ता हुनेमा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नारायण दल गणका १० जना सेनासमेत छन् । अझै कति जना बेपत्ता छन् भन्ने यकिन तथ्यांक कसैसँग पनि छैन । यस क्षेत्रको पर्यटन व्यवसाय लगभग शून्यमा झरेको थियो । स्थानीय आफैं पर्यटन विकासका लागि पुनर्निर्माणमा जुटेका हुन् ।

लाङटाङलाई पुरानै अवस्थामा फर्काउन स्थानीयको सक्रियता झन बढेको छ । पर्यटक बस्नका लागि सुरक्षित होटल र घर बनिसकेका छन् । भूकम्पले भत्काएको गोरेटो बाटो र पुल पनि निर्माण भइसकेको छ । भूकम्पपछि पदमार्ग सुधार र होटलहरूको पुनर्निर्माण भए सँगै घुम्न आउने पयटर्कहरूको संख्यामा क्रमशः वृद्धि हुँदै गएको छ । रिमिचे, लामा होटल, रिभरसाइड, छुनामा, घोडातबेला, थाङस्याब, गुम्बाडाँडा, लाङटाङ, मुन्डु, सिन्दुम र क्याङजिनमा नयाँ घर र होटलहरू बनिसकेका छन् ।

पर्यटक आउन थाले पछि सुनसान रहेको लाङटाङ क्षेत्रमा चहलपहल सुरु भएको छ । सिजनको बेला दैनिक ७० देखि ८० पर्यटक लाङटाङ आउने गरेको होटल व्यवसायी ढिन्डुप तामाङले बताए । ‘पर्यटक संख्या बढेर भूकम्प जानुअगाडिकै अवस्थामा पुगेको छ,’ उनले भने । भूकम्प पछि बन्द भएको प्रहरी चौकी र स्वास्थ्य संस्था अहिले संचालनमा आएका छन् । क्याङजिनमा १ सय १० किलोवाटको नयां लघुजलविधुताको निर्माण सम्पन भएको छ । त्यसले लाङटाङ बस्ति झलमल भएको छ ।

भूकम्प पछि लाङटाङको अवस्था कस्तो छ भनेर हेर्न आउने पर्यटक बढेको क्याङजिनका होटल व्यावसायी ङेरुप लामाले बताए । उनले भने, ‘अब लाङटाङको यात्रा सुरक्षित छ ।’ पछिल्लो समय लाङटाङ घुम्न आउने आन्तरिक पर्यटक पनि बढ्दै गएका छन् ।

भूकम्पभन्दा अगाडिजस्तै गरी विदेशी तथा स्वदेशी पर्यटकहरूलाई स्वागत गर्न लाङटाङ फेरि तयार भएको छ । स्थानीयवासीहरू आफैं पर्यटन विकासका लागि लाङटाङको पुनर्निर्माणमा जुटेका छन् ।

प्रकाशित : वैशाख १३, २०७६ ०७:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

फेरि एमेच्योर च्याम्पियन

राजु घिसिङ

काठमाडौँ — नेपाली व्यावसायिक गल्फ खेलाडीलाई प्रतिस्पर्धा गर्ने सबभन्दा राम्रो अवसर दिएको छ, सूर्य नेपाल गल्फ टुरले । सन् २००८ मा सुरु भएको यस टुरमा बर्सेनि सातदेखि ११ वटासम्म प्रतियोगिता सञ्चालन भइरहेको छ ।

सूर्य नेपाल टुर च्याम्पियनसिपको उपाधि जितेपछि एमेच्योर खेलाडी टंकबहादुर कार्की छेउमा र उपाधिपछि (बीचमा) ट्रफी लिँदै ।तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

व्यावसायिक गल्फरहरूले मोटो रकमको पुरस्कार हात पार्न गर्ने टुरका प्रतियोगितामा सीमित संख्यामा एमेच्योर खेलाडीलाई पनि खेल्ने अवसर दिइन्छ । विश्वमै व्यावसायिक गल्फको टुरमा एमेच्योर खेलाडीले उपाधि दुर्लभै जित्ने गर्छ । नेपाली गल्फ पनि पृथक् होइन । यसपालि भने टुरको कथा फेरिएको छ ।

गोकर्ण गल्फ क्लबमा बिहीबार सम्पन्न सूर्य नेपाल टुर च्याम्पियनसिपको उपाधि एमेच्योर खेलाडी टंक बहादुर कार्कीले कब्जा गरे । सूर्य नेपाल गल्फ टुर २०१८–१९ मा मुख्य उपाधि जित्ने उनी पहिलो एमेच्योर होइनन् । यो सिजन भएका आठमध्ये पाँच प्रतियोगिताको मुख्य ट्रफी एमेच्योरले जितेका छन् । टंकले टुर च्याम्पियनसिप जित्नुअघि १६ वर्षीय सुवास तामाङले सूर्य नेपाल च्यालेन्ज (मार्च, २०१९) र शुक्रबहादुर राईले इस्टर्न ओपन (डिसेम्बर, २०१८) मा सफलता हात पारेका थिए ।

बागदलबारी, सुनसरीका २७ वर्षीय टंक नेपाली व्यावसायिक गल्फमा एमेच्योर छँदै मुख्य उपाधि जित्ने पाँचौं खेलाडी हुन् । एमेच्योर छँदै शिवराम श्रेष्ठले सन् २००५ मा इस्टर्न ओपन जितेका थिए भने रूपक आचार्यले २०१० मा सेन्ट्रल ओपनको उपाधि चुमेका थिए । उनीहरूको लयलाई यो सिजनको टुरमा शुक्र, सुवास र टंकले समातेका हुन् ।

यी तीनको उपाधि यात्राले सूर्य नेपाल गल्फ टुरको इतिहासमै यो सिजनलाई एमेच्योरका लागि सबभन्दा सफल बनाइदियो । सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप तीन सातापछि हुनेछ र त्यसमा पनि एमेच्योर खेलाडीहरूले उपाधि होडमा व्यावसायिक गल्फरलाई कडा टक्कर दिन सक्छन् ।

‘एमेच्योर खेलाडीको सफलतालाई सकारात्मक रूपमा लिनुपर्छ,’ सूर्य नेपाल गल्फ टुरको आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) का महासचिव दीपक आचार्यले भने, ‘नयाँ खेलाडी आइरहेका छन्, जुन नेपाली गल्फकै लागि राम्रो हो । एमेच्योर खेलाडी नै पछि प्रो–टर्न भएर खेल्ने हो । नयाँ–नयाँ खेलाडीले उपाधि जित्नु टुरकै लागि पनि राम्रो हो ।’ सुवास सूर्य नेपाल गल्फ टुरकै सबभन्दा कान्छो विजेता हुन् ।

सूर्य नेपाल एनपीजीए म्याच प्ले जनवरी १७, सर्वाधिक ४४ उपाधि जितेका नेपाली प्रो शिवराम श्रेष्ठ र रूपक आचार्य एउटै ‘ब्याच’ का खेलाडी हुन् । उनीहरूपछि नेपाली गल्फमा प्रभावशाली देखिएको एमेच्योर शुक्र, टंक र सुवासकै समूह हो ।

विश्व एमेच्योर गल्फको वरीयतामा शुक्र ११६९, टंक १३३३ र सुवास २७२७ औं स्थानमा छन् । टुरमा टंकले तीन, सुवासले एक र शुत्रले पाँच स्ट्रोक अन्तरमा उपाधि हात पारे । एमेच्योर खेलाडीको बेग्लै टुर नभए पनि उनीहरू सूर्य नेपाल गल्फ टुरमा नियमित खेल्न पाउँदा निखारिंदै आएका छन् ।

तीन स्ट्रोक अन्तर
टंकले प्रो सञ्जय लामामाथि तीन स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन् । बहत्तर होलको प्रतियोगिताको अन्तिम दिन एक अन्डर ७१ खेलेका उनको कुल स्कोर चार अन्डर २८४ रह्यो । उनले पार ७२ को गोकर्ण गल्फ क्लबमा पहिलो र तेस्रो दिन समान ७३ शट खेलेका थिए । दोस्रो दिन पाँच अन्डर ६७ खेल्दै शीर्षस्थानमा उक्लिएका उनले दीपक आचार्यमाथि दुई स्ट्रोकको अग्रतासहित अन्तिम दिनको खेल सुरु गरेका थिए ।

दसौं होलबाट सुरु भएको अन्तिम समूहको खेलको दुई होल सकिंदै दीपक बराबरीको अवस्थामा पुगेका थिए । पार ३ को दसौं होलमा पार खेलेका टंक ११ औं होलमा बोगीमा परे । त्यसैले दसौंमा बर्डी गरेपछि ११ औं होलमा पार खेल्दै दीपक टंकसमान अवस्थामा पुगेका थिए । टंक १२ औं होलमा पनि बोगीमा परेपछि त्यसमा पार खेल्दै दीपकले एक स्ट्रोकको अग्रता लिए ।

दीपकले अर्को होलमा पनि अग्रता जोगाए । पार ४ को १४ औं होलमा दीपकको टि–शट ‘ओबी’ गयो । त्यसमा उनी डबल बोगीमा परेपछि टंकले बर्डी खेल्दै दुई स्ट्रोकको अग्रता लिए । त्यसपछि टंक पहिलो स्थानमा कायमै रहे र अन्त्यमा सञ्जयमाथि तीन स्ट्रोकको अग्रतासहित उपाधि जिते । टंकले सुरुका नौ होलमा एक अन्डर ३५ र पछिल्ला नौमा इभन पार ३६ स्कोर गरे । राम्रो सुरुआतलाई कायम राख्न असफल दीपकले ३७ र ४१ शट खेले ।

सञ्जयले चार अन्डर ६८ को दिनकै उत्कृष्ट स्कोर बनाउँदै टुर च्याम्पियनसिपको उपविजेता तथा प्रोतर्फ पहिलो हुँदै एक लाख २० हजार रुपैयाँ हात पारे । उनले सुरुका नौ होलमा एक अन्डर ३५ र पछिल्ला नौ होलमा तीन अन्डर ३३ स्कोर गरे । ‘सुरुका शट राम्रो हानेपछि पटिङ सटीक भएन । त्यसैले उपाधि होडमा पछाडि परियो,’ व्यावसायिक गल्फमा चार उपाधि जितेका सञ्जयले भने ।

कुल ६ लाख ६१ हजार ५ सय रुपैयाँ पुरस्कारको प्रतियोगितामा दिनेश प्र्रजापति र भुवन नगरकोटी (समान ३ ओभर २९१), एमेच्योरद्वय सुवास तामाङ र विपिन तामाङ (समान ४ ओभर २९२), राहुल बीके (एमेच्योर), सुमन राई, दीपक मगर र दीपक आचार्य (समान ५ ओभर २९३) शीर्ष दसमा रहे ।

एमेच्योर विजेता र उपविजेताले ट्रफी पाए भने प्रोतर्फ दोस्रोमा रहेका दिनेश र भुवनले ६६–६६ हजार हात पारे । सुमन र दुई दीपकले ३७–३७ हजार पाए । अमेरिकामा रहेकाले शिवराम भने लगातार तेस्रो प्रतियोगितामा अनुपस्थित रहे ।

‘स्कोर अझै भएन’
एमेच्योर छँदै व्यावसायिक गल्फको उपाधि जितेर पनि टंकले आफ्नो स्कोरप्रति चित्त बुझाएनन् । गोकर्णमै भएको आठौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक जितेका उनले भने, ‘राष्ट्रिय खेलकुदमा तीन दिनमा १२ अन्डर खेलेको थिएँ । यसपालि चार दिनमा चार अन्डरमात्रै खेल्न सकें । यसैका लागि करिब तीन साता निकै मिहिनेत गरेको थिएँ । टि–शट राम्रै गरे पनि पटिङ राम्रो भएन । ग्रिनमा धेरै गल्ती गरें । तैपनि उपाधि जितेकामा खुसी छु ।’

सूर्य नेपाल गल्फ टुरमा व्यक्तिगत उत्कृष्ट स्कोर बनाएका टंकले थपे, ‘आफ्नो खेल सुधार गरेर राम्रो स्कोर बनाउने लक्ष्य राखेको थिएँ । अरूले पनि राम्रै खेले । त्यसैले प्रतिस्पर्धा कठिन थियो । उपाधि नै जित्छु भन्नेचाहिँ सोचेको थिइनँ ।’ उनले भुटान एमेच्योर ओपन २०१७, नेपाल एमेच्योर ओपन २०१८ र राखेप च्याम्पियनसिप २०१८ को उपाधि पनि जितेका थिए ।

एमेच्योर छँदै व्यावसायिक गल्फमा उपाधि जित्नेहरू
१.शिवराम श्रेष्ठ
सूर्य नेपाल वेस्टर्न ओपन २००५
हिमालयन गल्फ क्लब, पोखरा
स्कोर : १२ ओभर १५६
२.रूपक आचार्य
सूर्य नेपाल सेन्ट्रल ओपन २०१०
गोकर्ण गल्फ क्लब, काठमाडौं
स्कोर : ४ अन्डर २८४
३.शुक्रबहादुर राई
सूर्य नेपाल इस्टर्न ओपन २०१८
निर्वाणा कन्ट्री क्लब, धरान
स्कोर : ४ अन्डर २०६
४.सुवास तामाङ
सूर्य नेपाल च्यालेन्ज २०१९
रोयल नेपाल गल्फ क्लब, काठमाडौं
स्कोर : ५ अन्डर २६७
५.टंकबहादुर कार्की
सूर्य नेपाल गल्फ टुर च्याम्पियनसिप २०१९
गोकर्ण गल्फ क्लब, काठमाडौं
स्कोर : ४ अन्डर २८८

प्रकाशित : वैशाख १३, २०७६ ०७:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT