कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि किर्ते उपभोक्ता समिति

अवधेशकुमार झा

राजविराज — नागरिकता र छाप किर्ते गरी उपभोक्ता समिति गठन गरेको आरोपमा दुई नेता हिरासतमा रहेकै बेला छिन्नमस्ता गाउँपालिका–५ को सडक ग्राभेल योजनामा किर्ते उपभोक्ता समिति बनाइएको खुलेको छ ।

यो प्रकरणमा पनि पूर्वसांसद तथा राजपा केन्द्रीय सदस्य बीपी यादवको संलग्नता रहेको स्रोतको दाबी छ । यादव र राजपा केन्द्रीय सदस्य हरि मण्डल हिरासतमा छन् । अग्निसाइर कृष्णासवरण गाउँपालिकामा २५ लाख रुपैयाँको योजनामा किर्ते समिति बनाएको आरोप लागेका उनीहरूमाथि सोमबार सात दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


किर्ते समिति फेला परेको पछिल्लो योजना १५ लाख रुपैयाँको हो । जुन प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालित छ । उक्त समिति छिन्नमस्ता–५ का वडाध्यक्ष रामानन्द पण्डित अध्यक्षताको बैठकले गठन गरेको पूर्वाधार विकास कार्यालयमा रहेको योजनाको फाइलमा उल्लेख छ ।


जबकि पण्डित वडा नम्बर ४ का अध्यक्ष हुन् । ‘५ नम्बर वडाको योजनाका लागि मेरो अध्यक्षतामा कसरी बैठक हुन्छ त ?,’ उनले भने, ‘त्यस्तो कुनै पनि उपभोक्ता समिति मेरो अध्यक्षतामा भएको बैठकमा गठन भएको छैन ।’


फाइलमा छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले गरेको भनिएको सिफारिससमेत संलग्न छ । मंसिर २४ गतेको मितिमा चलानी नम्बर ३१० राखी गरिएको सिफारिसपत्र पनि किर्ते नै छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द चौधरीले उक्त पत्र खानेपानी तथा सरसफाइ १ नम्बर डिभिजन कार्यालयलाई पठाइएको बताए । ‘पूर्वाधार विकास कार्यालयका नाममा कसरी गयो, थाहा भएन,’ उनले भने ।


उपाध्यक्ष मण्डलले खानेपानी कार्यालयलाई गरिएको सिफारिसमा हस्ताक्षर गरेको र सो पत्र वडा नम्बर ५ का अनिल मिश्रलाई दिएको बताइन् । मिश्रले भने उक्त सिफारिस पूर्वसांसद यादवको आग्रहमा गाउँपालिकाबाट लिएको र उनैलाई दिएको सुनाए । ‘३१० चलानी नम्बरको पत्र त खानेपानी डिभिजनलाई सम्बोधन गरिएको हो, मैले पूर्वसांसद बीपी यादवलाई दिएँ, पूर्वाधार विकास कार्यालयको नाम कसरी भयो, मलाई थाहा भएन, बीपीजीले नै भन्न सक्नुहुन्छ,’ उनले भने ।


खानेपानीलाई पठाइएको सिफारिस किर्ते गरेर पूर्वाधार विकास कार्यालयको नाममा बनाई लेटरप्याड र उपाध्यक्षको हस्ताक्षरसमेत दुरुपयोग गरिएको हो । उक्त समितिमा उल्लिखित पदाधिकारी र सदस्यमध्ये केहीको नागरिकतामा केरकार गरिएको छ । सदस्य उल्लेख गरिएकी मन्दादेवी चमैनको नागरिकतामा बेल्ही चपेनाको ठाउँमा माथिबाट छिन्नमस्ता लेखेर केरमेट गरिएको फोटोकपीमा प्रस्ट देखिन्छ ।


सम्बन्धित योजना उपभोग गर्नेहरूमध्येबाटै समिति गठन गर्नुपर्ने प्रावधानसमेत उल्लंघन गरिएको छ । समितिमा अध्यक्ष उल्लेख गरिएका सुरेन्द्रकुमार मण्डल बेल्ही चपेना ३ का हुन् । जुन हाल राजगढ गाउँपालिकामा पर्छ । अघिल्लो समिति पनि मण्डलकै नागरिकता केरमेट गरी बनाइएको थियो ।


समिति उपाध्यक्ष रामकृष्ण यादव, सचिव इन्दु यादव, कोषाध्यक्ष विजयकुमार यादव, सदस्यहरू बबितादेवी यादव, मन्दादेवी चमैन र रानीदेवी यादवमध्ये कोही सम्बन्धित वडाका होइनन् । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलसित राम्रो सम्पर्क बनाएका बीपी यादवले सप्तरीमा स्वीकृत योजनामा आफूखुसी उपभोक्ता समिति गठन गरेको स्रोतको दाबी छ । उक्त मन्त्रालयबाट सप्तरीमा २० योजना स्वीकृत भएका छन् । तर कुन–कुन योजना सञ्चालनमा छन् भने विवरण पूर्वाधार विकास समन्वय इकाई कार्यालय राजविराजमा छैन ।

प्रकाशित : वैशाख १२, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?