कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीले तस्करी बन्द भएको बताएकै भोलिपल्ट ७ किलो सुन बरामद

जनकराज सापकोटा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरकारले ३८ किलो सुन आउने प्वाल टालिसकेको बताएकै भोलिपल्ट प्रहरीले रसुवाको टिमुरेबाट सात केजी अवैध सुन बरामद गरेको छ । प्रधानमन्त्रीले कम्युनिष्ट पार्टी स्थापनाको ७० औं दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सुन तस्करीका कारोबारीहरु आत्तिएको बताएका थिए ।

प्रधानमन्त्रीले तस्करी बन्द भएको बताएकै भोलिपल्ट ७ किलो सुन बरामद

सरकारले संगठित सुन तस्करीविरुद्ध कुनै कसुर बाँकी नराखेको बताइरहँदा पछिल्ला महिनामा एकपछि अर्को अवैध सुन बरामदका घटनाहरु लगातार बाहिर आइरहेका छन् । मंगलबारको घटना त्यसैको पछिल्लो निरन्तरता हो । सोमबारमात्रै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक वर्षे समीक्षा सुनाउने क्रममा संगठित सुन तस्करीविरुद्ध कुनै कसुर बाँकी नराखिएको बताएका थिए ।


महानिरीक्षक खनालले यस्तो बताएकै भोलिपल्टै चीनबाट रसुवाको केरुङ नाका हुँदै भित्रिएको ७ केजी सुन प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो । प्रहरीले ८ वैशाखमा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका एक भियतनामी र एक कम्बोडियन महिलाबाट तीन केजी अवैध सुन बरामद गरेको थियो ।


प्रहरीले सोमबार मात्रै वर्ष २०७५ मा ७८ केजी ८ सय ७६ ग्राम अवैध सुन बरामद भएको बताएको थियो । ४५ करोड ४ लाख ६० हजार ६५ रुपैयाँ बराबरको सुन बरामद गरेको प्रहरीले सोही समयमा १ सय ३७ जनालाई सुन तस्करीमा संग्लन भएको आरोपमा प्रतिवादी बनाएको थियो । प्रधानमन्त्रीले संगठित सुन तस्करी रोक्न सरकारले सफल भएको बताइरहेकै महिनामा एक पछि अर्को अवैध सुन बरामदका घटनाहरु सार्वजनिक भइरहेका छन् ।


२०७४ माघ ९ मा मोरङ उर्लाबारीका गोरे भनिने चुणामणि उप्रेतीको समूहले विमानस्थल हुँदै भित्र्याएको ३३ केजी अवैध सुन हराएपछि सुरु भएको अपहरण र व्यक्ति हत्याको घटनामाथि अनुसन्धान गर्न सरकारले उच्चस्तरीय समिति नै बनाएको थियो । उक्त समितिले २०७५ साउनमा संगठित सुन तस्करीबारे साढे सात सय पृष्ठको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएका थिए । तर, उक्त प्रतिवेदनमाथि त्यसयता न त प्रधानमन्त्री कार्यालयले थप अनुसन्धान र कारबाही सुरु गर्‍यो न यो प्रतिवेदनमा टेकेर गृह मन्त्रालयले नै कुनै कारबाही अघि बढायो । बरु प्रधानमन्त्रीले संगठित सुन तस्करीको सञ्जाल ध्वस्त भएको अभिव्यक्ति दिइरहे ।


प्रधानमन्त्रीले संगठित सुन तस्करीको जालो ध्वस्त पारेको बताइरहँदा गृह मन्त्रालयले भने फागुन १३ मा प्रतिवेदन जारी गर्दै १ सय १४ केजी १ सय २३ ग्राम सुन बरामद गरेर १८ करोड ८ लाखभन्दा धेरै राजस्व असुली गरेको प्रतिवेदन सार्वजनिक गर्‍यो । गृहले जारी कार्यसमीक्षा प्रतिवेदनमा संगठित सुन तस्करीमा संग्लन ७५ प्रतिवादीमध्ये ४६ जनालाई पक्राउ गरेको जनाएको छ ।


प्रधानमन्त्रीले संगठित सुन तस्करीको प्वाल टालेको बताएकै महिनामात्रै प्रहरीले श्रृंखलाबद्ध रुपमा अवैध सुन बरामद गरिरहेको देखिन्छ । ८ वैशाखमा मात्रै विमानस्थल प्रहरीले भियतनाम र कम्बोडियाबाट आएका महिलाको साथबाट तीन केजीभन्दा धेरै अवैध सुन बरामद गर्‍यो । त्यस्तै २८ चैतमा मलद्वारमा लुकाएर साढे तीन केजी अवैध सुन ल्याएका तीन चिनियाँ नागरिकलाई विमानस्थल प्रहरी र भन्सार टोलीले पक्राउ गर्‍यो । त्यसभन्दा अघि २० चैतमा प्रहरीले ५ किलो ८ सय १४ ग्राम अवैध सुनसहित तीन भारतीयलाई विमानस्थल बाहिरको पार्किङ क्षेत्रबाट पक्राउ गरेको थियो ।

प्रकाशित : वैशाख १०, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?