कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मुद्दा मिलाउन’ न्यायाधीशलाई ५ लाख

फलफूल व्यापारीले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामा ५ लाख जम्मा गरेको भौचरसहित न्यायपरिषद्मा उजुरी, बहुविवाहमा सफाइको आदेश दिलाउन लेनदेन भएको आरोप । 
अवधेशकुमार झा

राजविराज — मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजका व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको भन्दै न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीश अधिकारी जिल्ला अदालत कालिकोटमा छन् । 

‘मुद्दा मिलाउन’ न्यायाधीशलाई ५ लाख

सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरका मनोजकुमार साहले न्यायाधीश अधिकारीले सागरकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न लिएको भन्दै हुलाकमार्फत शुक्रबार न्यायपरिषदमा उजुरी दिएका हुन् । उजुरीपत्रमा उल्लेख भएअनुसार मनोजकुमारले पत्नी सुनीताकुमारी साहलाई सप्तकोसी नगरपालिका २ बस्ने मो अली हुसेनले भगाई विवाह गरेपछि बहुविवाहको मुद्दा चलाएका थिए ।


त्यसपछि अली हुसेन पक्राउ भई सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भए र सुनीताकुमारी साह भने १८ हजार धरौटी बुझाई तारेखमा रिहा भइन् । उक्त मुद्दामा साक्षी बकपत्रसमेत भई ०७४ सालमा सुनीताले पति मनोजविरुद्ध हालेको मानाचामल मुद्दामा बहुविवाहको मिसिलसमेत सामेल गरी नियमानुसार पेस गर्नु भनी सप्तरी जिल्ला अदालतबाट आदेश भएको थियो ।


दुवै मुद्दाको एकसाथ ०७५ असार २५ गते पेसी तोकिएकामा सुनीता, उनका भाइ विजयकुमार साह, अली हुसेनका छोरा र सुनीतासमेत मिली सागरकुमार साहमार्फत न्यायाधीश अधिकारीलाई पैसा दिएर बहुविवाह मुद्दामा सफाइ पाउने गरी फैसला गरेको आरोप मनोजकुमारको उजुरीमा उल्लेख छ ।


उक्त मुद्दा अहिले उच्च अदालत जनकपुरको राजविराज इजलासमा विचाराधीन छ । फलफूल व्यापारी सागरकुमारले जिल्ला न्यायाधीश अधिकारीको माछापुच्छ्रे बैकमा रहेको खाता नम्बर ६१३६५२४५२०१४८०१७ मा विभिन्न मितिमा पाँच लाख रुपैयाँ पठाएको भौचर कान्तिपुरलाई प्राप्त भएको छ । सागरकुमारले अधिकारीको खातामा ०७५ असार १५ गते एक लाख, असार ३२ गते दुई लाख र साउन २ गते दुई लाख गरी पाँच लाख रुपैयाँ जम्मा गरिदिएको भौचर कान्तिपुरलाई प्राप्त भएको छ । भौचरमा उद्देश्य ‘व्यापार’ लेखिएको छ ।


व्यापारी सागरकुमार अहिले इलाका प्रहरी कार्यालय लहान सिरहामा बैकिङ कसुरको आरोपमा हिरासतमा छन् । उनीमाथि सप्तरी जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दासमेत छ ।


२०७४ असोज ३० गते मनाङ जिल्ला अदालतबाट सरुवा भएर सप्तरी जिल्ला अदालत आएका न्यायाधीश अधिकारी ०७५ साउन २ गते जिल्ला अदालत कालिकोट गएका थिए । सप्तरीमा कार्यरत रहँदा सामूहिक बलात्कारको एउटा मुद्दाको आदेशमा उनी आलोचित भएका थिए ।


न्यायपरिषद्मा परेको उजुरीमा न्यायाधीश अधिकारीले विभिन्न मुद्दामा आदेश र फैसला गर्दा रकम लिएको आरोपसमेत लगाइएको छ । स्रोतका अनुसार न्यायाधीश अधिकारीले फलफूल व्यापारी साहलाई बिचौलिया बनाएका थिए । फलफूल व्यापारी सागरकुमार राजविराजमा न्यायाधीश अधिकारीलाई निरन्तर भेट्ने गर्थे ।


न्यायाधीश अधिकारीले फलफूल व्यापारी सागरकुमारसित आफ्नो कारोबार भएको स्वीकार गरे । कान्तिपुरसित टेलिफोनमा उनले भने, ‘पैसा खराब नियतले लिएको होइन । म शाकाहारी मान्छे, फलफूल उनको पसलबाट खान्थेँ । त्यही क्रममा चिनजान भयो । मैले पैसा दिएको थिएँ, उनले फर्काएका हुन् ।’ यस्तै बर्दिया घर भएका न्यायाधीश अधिकारीले फलफूल व्यापारीलाई पाँच लाख रकम दिनु पर्नाको कारण सोध्दा भने बोलेनन् ।


मनोजकुमारले न्यायाधीश अधिकारी, फलफूल व्यापारी सागरकुमार साह, सुनीता साह र उनका भाइ विजयकुमार साहको मोबाइलको कल डिटेल्सबाट थप कुरा खुल्ने उल्लेख गर्दै रकम जम्मा गरेको बैंक भौचरसमेत उजुरीमा सामेल गरेका छन् ।

न्यायपरिषदका सूचना अधिकारी उपसचिव टेकनाथ गौतमले जिल्ला न्यायाधीश अधिकारीविरुद्ध उजुरी परिषदमा आए नआएको विषयमा बोल्न चाहेनन् । ‘परिषदमा उजुरी छानबिन हुन्जेल र तामेलीमा राखिएको अवस्थामा बोल्न मिल्दैन,’ गौतमले टेलिफोनमा भने ।

प्रकाशित : चैत्र २७, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?