कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय सडकले नेपालमा क्षति

मनोज बडू

दार्चुला — भारतले महाकाली नदी किनारमा निर्माण गरिरहेको सडकले नेपालतर्फ क्षति पुगेको छ । पैदल बाटो ठाउँठाउँमा भत्किएको छ । नदी थुनिएर ड्याम बनेको छ ।

भारतले नेपालसँग जोडिएको उत्तरपश्चिम सीमा क्षेत्र लिपुलेकसम्म जोड्ने सडकलाई उच्च प्राथमिकतामा राखेर २ वर्षदेखि निर्माण तीव्र बनाएको छ । त्यसको असर भने नेपालतर्फ परेको हो । विस्फोट गराएर सडक निर्माण गर्दा दुम्लिङदेखि महाकाली सीमा क्षेत्रमा नेपालतर्फको घोडेटो बाटो, स्थानीयको घर र घरपालुवा जनावरलाई क्षति पुगेको स्थानीयले बताए । उक्त क्षेत्रमा नदी थुनिएर ३ वटा ठूला ड्याम बनेका छन् ।


व्यास गाउँपालिका २ अन्तर्गतका विभिन्न ३ ठाउँमा नदी थुनिएर ड्याम बनेपछि नेपालतर्फको घोडेटो बाटोमा क्षति पुगेको स्थानीयले बताए । व्यास गाउँपालिका २ को घाँटीबगड, बयालीधार र नज्याङमा नदी थुनिएर ठूलो ड्याम बनेको व्यास गाउँपालिका १ का वडाध्यक्ष अशोक बोहराले बताए । ‘ठूलो मात्रामा विस्फोटक पदार्थ पड्काएर सीमा नदी वारि नेपालतर्फ धेरै क्षति पुगेको छ,’ उनले भने, ‘व्यास क्षेत्रमा जाने बाटो भत्किएको छ । नदी वारिपट्टि धेरै रुखहरू भाँचिएका छन् ।’ ३ ठाउँमा बनेका ठूला ड्याम एकै पटक खुले तल्लो क्षेत्रमा ठूलो क्षति हुनसक्ने उनको भनाइ छ ।


दुई देशको सीमा क्षेत्र पर्ने उत्तर पश्चिमी नाका व्यास गाउँपालिका २ घाँटीबगड, बयानीधार क्षेत्रमा भारतले सडक निर्माण गरिरहेको छ । बीचमा महाकाली नदीले दुवै देशको सीमा छुट्याएको छ । दुवै देशबाट उत्तरतिर जाँदा महाकाली नदी किनार भएर बाटो छ । भारततर्फ अहिले उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ ।


नेपालतर्फ घोडेटो बाटो छ । व्यास गाउँपालिका २ दुम्लिङदेखि घाँटीबगडको माथिल्लो भेगसम्मको पूरै बाटो भत्किएर अवरुद्ध भएको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले व्यास जोड्न निर्माण गरेको बाटोसमेत भत्किएको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?