कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सार्वजनिक निकायमा भागबन्डा नगर : डा. केसी

काठमाडौँ — चिकित्सा शिक्षा र सेवाक्षेत्र सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले मुलुकका सबै सार्वजनिक तथा नियमनकारी निकायमा दलीय भागबन्डाका आधारमा नभई वरिष्ठता, योग्यता र कार्यक्षमताका आधारमा नियुक्ति गर्न माग गरेका छन् ।

सार्वजनिक निकायमा भागबन्डा नगर : डा. केसी

डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै सुशासन, विपन्न नागरिकको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका विषय पढ्ने अधिकार रक्षाका लागि भागबन्डा गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई पदमुक्त गरेको जनाउँदै डा.केसीले कुनै पनि संस्थाका कुनै पदाधिकारीप्रति अनियमितता वा भ्रष्टाचारको आरोप भए त्यसको तदारुकताका साथ छानबिन गरी कानुनबमोजिम कारबाही गरिनुपर्ने जनाएका छन् ।

सरकारले एकातिर न्यायिक जाँचबुझ आयोगले दोषी किटान गरेर बर्खास्तको सिफारिस गरेका पदाधिकारीहरूलाई कारबाही नगरेको र ती पदाधिकारीले सरकारसँगको मिलेमतोमा मेडिकल माफियाको स्वार्थमा काम गर्दै विश्वविद्यालयलाई धराशायी पारिरहेको आरोप डा. केसीले लगाएका छन् ।

यस्ता पदाधिकारीहरूलाई सिफारिसअनुसार कारबाही गर्ने भनेर सरकारले आफूसँग सम्झौता गरेको पनि उनले स्मरण गराएका छन् । डा.केसीले मेडिकल शिक्षालगायत देशका सबै क्षेत्रमा भ्रष्ट र अपराधीलाई संरक्षण र प्रोत्साहन गर्ने सरकारको रवैयाले देशमा दण्डहीनतालाई चरम सीमामा पुर्‍याएको आरोप लगाएका छन् ।

साह न्याम्स उपकुलपति

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले वरिष्ठ आँखारोग विशेष प्रा.डा. देवनारायण साहलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति नियुक्त गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सिफारिसमा ओलीले प्रा.डा. साहलाई नियुक्त गरेका हुन् ।

उपकुलपति साहको सिफारिसमा स्वास्थ्यमन्त्री यादवले न्याम्सका अन्य पदाधिकारीको समेत नियुक्ति गरेका छन् । प्रा.डा. सुबोधकुमार अधिकारीलाई शिक्षाध्यक्ष, प्राध्यापक प्रमिला देवानलाई रजिस्ट्रार, प्रा.डा. पियूष दाहाललाई डिन र डा.केदारप्रसाद सेन्चुरीलाई वीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको हो ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत सबैलाई बालुवाटारमा शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण गराए । शपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा वीर अस्पतालका संरचना निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिए ।

उनले हालको वीर अस्पताललाई सिटी अस्पतालका रूपमा सञ्चालन गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले वरिष्ठ डाक्टरहरूले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेको उल्लेख गर्दै त्यसलाई तोड्न निर्देशन दिए । उनले स्वास्थ्यकर्मीलाई बिरामीप्रति गर्ने व्यवहारमा सुधार गर्नसमेत आग्रह गरे ।

प्रकाशित : चैत्र ३, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?