विप्लवको रणनीतिमा सरकारको प्रहार

के विप्लव प्रचण्ड बन्लान् ?
गृहमन्त्री रामबहादुर थापाले पूर्वसहयोद्धा चन्दका गतिविधिलाई ठूलो चुनौतीका रूपमा लिएका थिएनन् । दुई साताअघि राजधानीमा विस्फोट गराएपछि उनी सतर्क बनेका छन् ।
टिप्पणी
गंगा बीसी

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अवैधानिक बाटोबाट हिंसात्मक गतिविधि गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ लाई ‘प्रचण्ड’ बन्न खोजे पार नलाग्ने प्रतिक्रिया दिए । पोखरामा उनले आफ्नो नक्कल गर्न खोज्दा विप्लव डुब्ने चेतावनी दिए । 

उनले २०५२ सालमा आफूले युद्ध सुरु गरेजस्तै नक्कल गर्न खोजे प्रतिउत्पादक हुने भन्दै मूलधारमा आउन सुझाव दिए। विप्लवले पूर्व माओवादीको स्थान लिने भन्दै ‘एकीकृत क्रान्ति’ को कुरा गर्ने बताइरहेका बेला दाहालको यो भनाइ आएको हो।

‘यो पार लाग्ने बाटो होइन, म चन्दहरूलाई राम्रोसँग चिन्छु, मैले नै स्कुलिङ गरेको हुँ’, उनले भने, ‘उहाँले सचिवका रूपमा मसँग लामो समय काम गर्नुभएको छ। उनीहरू पनि वार्ता र संवादमार्फत मूलधारको राजनीतिमा आएर आफ्नो कुरा राख्नु उपयुक्त हुन्छ।’ दाहालको चेतावनी मिश्रित सुझाव अघि सरकारले विप्लवविरुद्ध कारबाही सुरु गरिसकेको छ।

सरकारले गतसाता कपिलवस्तुमा ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई गोली हानी कारबाहीको ‘फायर’ खोलेको छ। यसले सरकार चन्दका गतिविधि नियन्त्रण गर्ने अभियानमा लागेको देखाएको छ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष दाहाल चन्दका गतिविधिलाई छुट नदिने निष्कर्षमा पुगेका छन्। दुवै नेताले उनका गतिविधिमाथि ‘प्रशासनिक कारबाही’ गर्न गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिइसकेका छन्। त्यही निर्देशनको पहिलो कदम बिहीबार चन्दको गाउँ शिवनगरमा भएको सर्च अप्रेसन हो। सर्च अप्रेसनका क्रममा प्रहरीले भाग्न लागेका कार्यकर्ताको खुट्टामा गोली प्रहार गर्‍यो। उनको बुटवलमा उपचार भइरहेको छ। सर्च अभियान देशभर सञ्चालन हुने गृह मन्त्रालय स्रोतको भनाइ छ।

गृहमन्त्री थापाले गत साता संसदीय समितिमा चन्दले सत्ता उल्ट्याउन समानान्तर गतिविधि बढाउँदै लगेको बताएका थिए। चन्दले सरकारलाई चुनौती दिन रोल्पालगायतका जिल्लामा जनसत्ता गठन गरेको दाबी गरेका छन्। उनको पार्टी नेकपाका वरिष्ठ नेता हेमन्तप्रकाश ओलीले गत साता अज्ञातस्थलबाट कान्तिपुरसँग टेलिफोनमा जनसत्ता गठन गरी कर उठाएको बताए। ‘यो सत्ताविरुद्ध जनसत्ता गठन गरेका छौँ, यो अभियान चलिरहेको छ,’ उनले भने, ‘स्थानीय सरकारबाट कर उठाइएको छ।’

अब कुन बाटो?
सरकारले नेकपा नेता सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता टोली बनाए पनि छलफल बढेन। ‘सरकारले वार्ताका नाममा षड्यन्त्र गर्न थाल्यो, त्यसकारण वार्तामा गएनौं,’ ओलीले भने, ‘सैद्धान्तिक रूपमा हामी वार्ता विरोधी होइनौं।’

सरकारले भने आफ्नो लचकतालाई बेवास्ता गरेकाले चन्दमाथि कठोर कदम चाल्ने नीति लिएको बताए। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले गणतन्त्रविरुद्ध हुने कुनै पनि संघर्ष गलत हुने बताए। ‘हामीले शान्तिपूर्ण ढंगले वार्ताद्वारा समस्या समाधान गर्न खोजेका छौं, त्यसकारण वार्ताका लागि समिति बन्यो,’ उनले भने, ‘गणतन्त्रविरुद्ध संघर्ष केका लागि? उहाँ (विप्लव) को यात्रा कतातिर हो?’

चन्दको पार्टीले २०७३ भदौमा महाधिवेशन गरी ‘एकीकृत क्रान्ति’ गर्ने निर्णय गरेको थियो। त्यो क्रान्ति २०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गरेजस्तो नहुने चन्दले बताएका थिए। वरिष्ठ नेता ओलीले भने, ‘हाम्रो आन्दोलन दलाल पुँजीवादविरुद्ध हो। शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभए स्वरूप बदलिन पनि सक्छ।’

चन्दले पार्टीनिकट अनलाइनलाई हालै दिएको अन्तर्वार्तामा क्रान्तिका लागि सेना बनाएको बताएका छन्। ‘यहाँ त जनमुक्ति सेना बनाउनुपर्नेछ, लड्नुपर्नेछ, ल्याउनुपर्नेछ,’ उनले भनेका छन्, ‘जनमुक्ति सेनाको एउटा अवधारणा र संरचना हामीले बनाएका छौं, लिएर गएका छौं र एकदम सुदृढीकरणतिर जाँदै छ।’

पूर्वमाओवादीले जस्तो गाउँदेखि सहर घेर्ने रणनीति उनले लिएका छैनन्। उनको रणनीति सहरकेन्द्रित आन्दोलन गर्ने छ। तत्काल सशस्त्र विद्रोह गरिहाल्ने अवस्थामा उक्त पार्टी छैन। सशस्त्र युद्ध गर्दा टिक्न नसक्ने उनीहरूको बुझाइ छ। ‘सशस्त्र विद्रोह गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति छैन, राजनीतिक प्रभाव विस्तारका लागि विद्रोहको नारा लाग्छ,’ चन्दका एक नेताले भने।

गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदीका अनुसार चन्दको राजनीतिक लाइन ‘उग्र र अतिवादी’ हो। ‘चन्द समूह उग्र र अतिवादी धारकै भए पनि एउटा राजनीतिक समूह हो, उनीहरू वार्ताका माध्यमबाट मूलधारको राजनीतिमा आएर देशको सेवामा लागुन् भन्ने चाहना थियो,’ उनले भने, ‘वार्ताको समयलाई यो समूहले आफ्नो शक्ति सुदृढ गर्ने एक सूत्रीय अभियानमा लगायो र अवसर गुमायो।’

प्रहरीले इटहरी र कपिलवस्तुबाट बरामद गरेका एक थान एम–१६ र दुई थान एसएमजी राइफल तत्कालीन माओवादीले कब्जामा लिएका हतियार हुन्। लडाकु समायोजनप्रति असन्तुष्टि जनाउँदै केही लडाकुले हतियारसहित शिविर छाडेका थिए। पूर्वलडाकु कमान्डरका अनुसार चन्द र प्रवक्ता खड्‌गबहादुर विश्वकर्माले सुरक्षाका लागि राखेका हतियार फिर्ता गरेनन्। उनका अनुसार चन्दको पार्टीसँग करिब पाँच दर्जन अत्याधुनिक हतियार छन्। छुट्टै पार्टी गठन गरेपछि थप हतियार खरिद गरेको हुन सक्ने प्रहरीको आशंका छ।

गृहमन्त्री थापाले पूर्वसहयोद्धा चन्दका गतिविधिलाई ठूलो चुनौतीका रूपमा लिएका थिएनन्। दुई साताअघि राजधानीमा विस्फोट गराएपछि उनी सतर्क बनेका छन्। ‘गृहमन्त्रीलाई चन्दको शक्तिबारे राम्रो जानकारी छ,’ थापानिकट एक नेताले भने, ‘त्यसकारण वार्ता र संवादमा जोड दिनुभएको हो। तत्काल आक्रामक हुनुभन्दा छलफलबाट निकास निकाल्ने पक्षमा हुनुहुन्थ्यो। अबचाहिँ कठोर कदम चाल्ने मुडमा हुनुहुन्छ।’

चन्दको पार्टीका गतिविधि विगतमा प्रचारात्मक मात्रै भए पनि पछिल्ला घटनाक्रमले हिंसात्मक मोड लिने संकेत गरेका छन्। बिहीबार कपिलवस्तुको शिवनगरमा प्रहरीको गोली चलेपछि त्यसको बदला लिन थप हिंसा हुने जोखिम रहेको गृहको बुझाइ छ।

सरकार आक्रामक भइरहेका बेला नेकपा नेत्री पम्फा भुसालले प्राप्त उपलब्धिलाई रक्षा गरी अघि बढ्नुपर्ने बताएकी छन्। ‘विगतको युद्ध, जनआन्दोलन र संविधानसभाका उपलब्धिमा टेकेर समाजवादको बाटोमा अघि जान सकिन्छ,’ उनले भनिन्, ‘गणतन्त्र र नयाँ संविधानका उपलब्धिमा टेकेर बाँकी कार्यभार पूरा गर्न सकिन्छ।’

चन्दले सशस्त्र युद्ध सुरु गरी आत्मघाती कदम नचाल्ने पूर्वमाओवादीका नेताहरूको बुझाइ छ। उनीहरूका अनुसार चर्को आन्दोलन गरेर कुनै विन्दुमा उनी सत्ता साझेदारीमा सहझागी हुन्छन्।

क्रान्ति मोह
नेत्रविक्रमचन्दको क्रान्ति मोह विद्यार्थी जीवनदेखिकै हो। उनले पञ्चायत, बहुदल र युद्ध सुरु भएपछि क्रान्ति मोह आत्मसात् गरे। पूर्वमाओवादी २०६४ को निर्वाचनमा ठूलो दल भएपछि सरकारमा सहभागी भयो। त्यसबेला मोहन वैद्य, चन्दलगायत नेताले विद्रोहको नीति लिए। विद्रोहको कसरत भए पनि अन्ततः अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईको बलमा विस्तृत शान्ति सम्झौता गरी युद्ध समाप्त भयो।

पूर्वमाओवादीले क्रान्तिलाई विसर्जन गरेको दाबी गर्दै चन्दको पार्टीले त्यसको ठाउँ लिने प्रयास गरेको देखिन्छ। युद्धमा बेपत्ता, घाइते र मृतकका परिवारलाई पूर्वमाओवादीले भुलेको भन्दै सरकारप्रति वितृष्णा जगाउने अभियान चलाएको छ।

चन्दले ‘एकीकृत क्रान्ति’ को नाममा युवालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्। माओवादी सत्तामा हुँदा पाखा लगाइएका केही नेता–कार्यकर्ता उनको आन्दोलनमा सहभागी भएका छन्। ‘केही व्यक्तिलाई क्रान्तिको नशा लागेको छ, त्यो छाड्न गाह्रो भएको देखिन्छ,’ पूर्वमाओवादी कमान्डरले भने। गत स्थानीय निर्वाचनमा रोल्पाको थबाङलाई आधार क्षेत्र बनाउने चन्दको प्रयासलाई माओवादीले भत्काइदिएको थियो।

२०७१ मा वैद्यबाट अलग भएका चन्दले २०७३ फागुन १ मा नेकपा नामको पार्टी गठन गरेका थिए। ०२४ फागुन ११ मा रोल्पा इरिबाङमा जन्मिएका चन्द पार्टी सत्तामा रहँदा कुनै पनि लाभको पदमा गएनन्। उनी विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका थिए।

ठूला आयोजनामा आँखा
चन्दको नेकपाले देशव्यापी चन्दा उठाइरहेको बारे सरकार जानकार छ। एनसेलका विभिन्न टावरमा भएको आक्रमणलाई सरकारले चन्दासँग जोडेर विश्लेषण गरेको छ। नेता हेमन्तफ्रकाश ओलीले सरकारलाई कर नतिरेकाले एनसेलमाथि आक्रमण गरेको दाबी गरे। ‘चन्दा नदिएका कारण आक्रमण गरियो भन्ने कुरा गलत हो,’ उनले भने, ‘सरकारलाई तिर्नुपर्ने कर नतिरेकाले कारबाही गरेका हौं।’

उनले देशव्यापी स्वैच्छिक चन्दा उठाए पनि जबर्जस्ती नगरेको दाबी गरे। गृह मन्त्रालयले भने उक्त पार्टीले देशव्यापी जबर्जस्ती चन्दा असुलिरहेको जनाएको छ। चन्दको पार्टीले लामो समयदेखि अपर कर्णाली आयोजना अवरुद्ध गर्दै आएको छ। अपर कर्णाली, अरुण ३ लगायतमा आँखा लगाएको छ। चन्दले आफूनिकट इरातोखबर डट कमको अन्तर्वार्तामा विदेश लगानीका आयोजना रोक्ने चेतावनी दिएका छन्।

‘भारतका लगानीकर्ताले, संस्थाहरूले बुझिराखून्, अपर कर्णाली हामी लागू हुन दिँदैनौं, अरुण ३ पनि बनाउन दिँदैनौं,’ उनले भनेका छन्, ‘कोसी बाँधजस्ता जनतालाई सिधै क्षति पुर्‍याउने, घाटा लाग्ने नेपालको अर्थतन्त्र डामाडोल बनाउने, स्रोतसाधन अस्तव्यस्त बनाउने र कब्जा गर्ने काम हामी हुन दिँदैनौं। त्यो कुरा हामीले जीएमआरलाई भनेका छौं।’

३८२ कार्यकर्ता पक्राउ
प्रहरीले २०७५ वैशाखदेखि हालसम्म चन्दको पार्टीका ३ सय ८२ जनालाई पक्राउ गरेको छ। केही नेता तथा कार्यकर्ता अदालतको आदेशपछि रिहा भएका छन्। चन्दलाई रोल्पामा टेलिकम टावरमा आक्रमण गरेको आरोपमा मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार फौजदारी मुद्दा दर्ता गरिएको छ।

प्रकाशित : फाल्गुन २८, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्

भेष भुलेका कम्निस्ट

कुनै बेला कमरेडको सादा जीवन उच्च विचार नारा नै थियो । संसार बदल्न हिंडेको भन्थे उनीहरू । संसार बदल्न उनीहरूले त्याग र तपस्या, जेल र नेल भोग्न तयार भए । ससार बदल्न हिंडेकाहरू संसार नबदलिंदै आफैं बदलिए ।
गंगा बीसी

काठमाडौँ — जनगायक जीवन शर्माले हालै गाएका छन्– छैन मेरो शरीरमा अत्तरको बासना, होला बरु जीउभरि पसिनाको गन्ध  । चाहिंदैन मलाई सिसाको महल, चाहिंदैन मलाई चमेलीको बास, यसै राम्रो छ यो मेरो जीवन, चाहिंदैन मलाई सम्पत्तिको रास  ।

नेकपाको दुई तिहाइ सरकार भएकै बेला शर्माले यो गीत गाए । यो गीतलाई आत्मसाथ गर्ने कम्युनिस्टका लागि यो शपथजस्तै हो । पूर्वमाओवादी र एमाले नेताहरूका लागि भने यो गीत ब्यंग्य गीतजस्तो देखिएको छ । यतिबेला अत्तरको बासन नआउने, महलमा नबस्ने र सम्पत्ति मोह नभएका, नातावादलाई त्यागेका नेता भेटाउन पाएमा भाग्य हुन्थ्यो ।


जीउभरि पसिना बगाउने खासमा कम्युनिस्टका आधार हुन् । तर, पसिना बगाउने नजिक आउँदा कमरेड नेताहरूलाई गन्ध आउँछ । जीउमा महँगा अत्तरको बासनाले उनीहरूलाई तान्छ । उनीहरू नै कमरेडको वरिपरि घुम्छन् । जबकि पसिनाको गन्ध आउनेहरूकमरेडबाट टाढिंदै गएका छन् । यसलाई भन्छन्, नयाँ बोतलमा पुरानो रक्सी । नाम कम्युनिस्ट ब्यवहार पुरानै ।‘देशअनुसार भेष, कपालअनुसार केश’ को प्रसंगलाई धेरै अर्थमा प्रयोग गर्न सकिन्छ । खासगरी हाम्रो परिवेशमा अझ लोकप्रिय छ ।परिवेश र परिस्थितिअनुसार यो उखान बढी प्रयोगमा आउँछ । यहाँ प्रसंग भने फरक छ । यो कम्युनिस्ट, कमरेड, क्रान्ति, सर्वहारा, सत्ता, मोह, कार्यशैलीका कुरासँग गाँसिन्छ ।कार्ल मार्क्स, लेनिन, माओ जीवित भएको भए नेपालका कम्युनिस्टबारे के भन्थे होलान् ? उत्तर सहज छैन । तर, नेपालका कम्युनिस्टहरू आफैं भन्छन्, हामी सर्वहाराका मुक्तिदाता हौं । साँच्चै हो त ? दुई तिहाइ सरकार हाँकिरहेका कम्युनिस्टहरूको यात्रा यतिबेला कतातिर हुँदैछ ।


कम्युनिस्ट सिद्धान्तले भन्छ, जनताको जीवनशैली नेता कमरेडले अँगाल्नुपर्छ । नेता, कार्यकर्ता र जनताबीच कार्यशैलीमा खास फरक हुनु हुँदैन ।नेता र जनताको सम्बन्ध नङ र मासुजस्तो हुनुपर्छ ।नेताको कार्यशैलीले जनतालाई जोड्नुपर्छ । कम्युनिस्ट सिद्धान्तले कार्यशैलीको खाडल बढ्दै गएमा जतिसुकै राम्रो सिद्धान्त भए पनि काम नलाग्ने भन्छ । त्यसैले लेनिनले भनेका होलान्, ‘कुनै पनि सिद्धान्त व्यवहारमा लागू हुँदैन भने त्यसको कुनै अर्थ हुँदैन ।’ सिद्धान्त उपदेश दिन होइन, व्यवहारमा उतार्नका लागि हुन्छ, खासगरी कम्युनिस्टका लागि । सिद्धान्त एउटा व्यवहार अर्कै भयो भने त्यो ‘रूप र सार’ मा मेल खाँदैन ।
सिद्धान्त एकातरि व्यवहार अर्कोतिर । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर गएजस्तो हो । सिद्धान्त जतिसुकै राम्रो भए पनि व्यवहारमा लागू भएन भने त्यो कागजको फूलजस्तो हुन्छ । अर्थात् व्यवहारमा लागू नहुने सिद्धान्त देख्न मात्र हुन्छ, सुगन्ध लिन होइन । झन्डा रातो भएर केही अर्थ छैन । सबै राता झन्डाहरू क्रान्तिकारी हुन्छन् भन्ने छैन । सबै राता फूल गुराँस हुँदैनन् । सबै राता झन्डा क्रान्तिकारी हुँदैनन् ।

कुनै बेला कम्युनिस्ट नेताले कोक खायो भने स्पष्टीकरण खाने अवस्था थियो । टाई–सुट लगाउने कुरा दुर्लभ हुन्थ्यो । अहिले कम्युनिस्ट नेताहरूका लागि टाई–सुट फेसनजस्तो भइसक्यो । नहर उद्घाटन गर्न होस् या पार्टीको आमसभा नेताहरू चिटिक्क टाईसुटमा देखिन्छन् । विगतमा पूरा हुन नसकेको रहर कामरेडहरूले पूरा गरेजस्तो देखिन्छ । कतिसम्म भने गाउँको भ्रमण गएको बेलासमेत उनीहरूको टाई–सुट मोह रहन्छ ।आवश्यक ठाउँमा टाई–सुट लगाउनुलाई अन्यथा मानिदैन । हालै पूर्वमाओवादी वरिष्ठ नेता, हाल नयाँ शक्ति नेपालका नेता बाबुराम भट्टराईले कर्णाली प्रदेश पुग्दा दौरा–सुरुवाल लगाए । उनले काठमाडौंको असनबाट किनेर लगेर रुकुम पश्चिमको चौरजहारी पुगेर दौरा–सुरुवाल लगाए । जीउमा त्यति नसुहाए पनि उनले त्यो सुदूरपश्चिमको बैतडीमा पनि त्यही लगाए ।


उनीहरूले नै बनाएका सर्वहारा कार्यकर्ताहरू उनीहरूको टाई–सुटले तर्सिन्छन् । आहो परिवर्तन । त्यो पनि महँगा टाई–सुट । जसले एकजोर टाई–सुटले एक गरिब परिवारको एक वर्षको घर खर्च चल्छ । कमरेडको कार्यशैलीले अग्रगामी छलाङमारेको छ । नेताको खुट्टामा ब्रान्डेड जुत्ता, जनताको खुट्टामा हात्ती छाप चप्पल । यो तीतो यथार्थ हो, अझ खाली खुट्टा हिंड्नेहरू पनि छन् ।सर्वहारा नेताको जीउमा भएको ब्रान्डेड परिहनले सर्वहारको हुर्मत लिएको छ ।
कुनै बेला कमरेडको सादा जीवन उच्च विचार नारा नै थियो । संसार बदल्न हिंडेको भन्थे उनीहरू । संसार बदल्न उनीहरूले त्याग र तपस्या, जेल र नेल भोग्न तयार भए । ससार बदल्न हिंडेकाहरू संसार नबदलिंदै आफैं बदलिए । कुरा भेषको होइन, देशको हो । तर, कम्युनिस्ट नेताहरूको पुरानो जुन भेष थियो, त्यो अब रहेन । भेष परिहन मात्र होइन, कार्यशैली हो । कम्युनिस्ट कार्यशैलीबारे धेरै पुस्तक लेखिएका छन् । मार्क्स, लेनिन, माओ र मदन भण्डारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत कम्युनिस्ट कार्यशैलीबारे भनेका छन् ।‘सादा जीवन उच्च विचार’ सार यही हो । यसकै आधारमा कम्युनिस्टप्रति जनता प्रभावित भए । गत वर्षको निर्वाचनमा अत्यधिक बहुमत दिए ।

पूर्व माओवादीतिर फर्कौं । २०४८ सालतिर नेता तथा कार्यकर्ता आफूले खाएको थाल आफैं माझ्थे । जनताको घरमा गएर ‘जनसेवा’ गर्थे । खेतीपाती लगाउनमा सहयोग गर्थे । त्यो २०५२ मा युद्ध सुरु हुनुअघिको कुरा हो । माओवादी युद्ध सुरु भएपछि अलि भेष फेरियो । हातमा बन्दुक भएपछि अलि स्वर ठूलो भयो । युद्धअघि नरम बोली बिस्तारै कडा हुन थाल्यो । बोलीले नसुने गोली चल्न थाल्यो । युद्धका सुरुका दिनमा खुकुरी बढी चले । बन्दुक जम्मा हुँदै गएपछि खुकुरी कम प्रयोग हुन थाले । बन्दुकको नालबाट राज्यसत्ता जन्माउने युद्धमा जनतासँग नरमभन्दा बढी गरम हुने नीति माओवादीले लियो ।
बन्दुकको अगाडि खाली हातको के चल्थ्यो ? जे भन्यो त्यही मान्ने अवस्था आयो सर्वसाधारणको । परिवर्तन हुने आशामा भात दिए, साथ दिए जनताले । नमान्ने सफाया भए, केही घाइते–अपांग भए । माओवादीको बोली २०६४ मा शान्ति प्रक्रियामा आउनुअघि पनि उस्तै कडा थियो । त्यसबेलासम्म भेष भने बदलिएको थिएन । हार्डकोर कम्युनिस्ट विचार लिएर हिंडेका थिए । व्यवहारमा कडा भए पनि कार्यशैली कम्युनिस्ट शैलीको हुनेनै भयो । त्यही भएर जनताले माओवादीलाई २०६४ को निर्वाचनमा सबभन्दा ठूलो पार्टी बनाए । सबभन्दा ठूलो पार्टी भएपछि शक्तिशाली बने नेता तथा बाठा कार्यकर्ता । युद्धबाट प्राप्त शक्तिले निर्वाचनमा वैधानिकता पायो । त्यसपछि सरकारमा पुगे कमरेडहरू । संसार बदल्ने कुरा गरिरहे, भेष बदलिरहे । कार्यशैली बदलिइरह्यो । सरकारमा पुगेपछि कमरेडसँग बन्दुक र सक्ताको शत्तिको उन्मादले भरङ्ग भए । संसार जितेको खुसियालीमा उनीहरू मैमत्त हुँदै गए । विगतमा उनीहरू हिंडेका गोरेटा बिर्से । बास बसेका झुपडी, भात खुवाएका जनता ओझेलमा पर्दै गए । सार अरू भए पनि रूप भने कम्युनिस्ट थियो, अझmै क्रान्तिकारी ।


त्रान्तिकारी भेषमा बिस्तारै खिया लाग्न थालेको स्वयं थाहा पाउन छाडे । थाहा पाएर पनि उनीहरू वास्ता गरेनन् कि ? दर्जनौं केन्द्रीय समिति बैठकमा भड्किलो कार्यशैली सुधारका विधि बने । कार्यशैली बने । माओवादीको हेटौंडा महाधिवेशनले माओवादी बिग्रनुमा नेता तथा कार्यकर्ताको कार्यशैली पनि एक कारक भएको निष्कर्ष निकाल्यो । विधि बन्यो, त्यो केवल कागजमा सीमित भयो । माओवादीहरू आफैं भन्थे, व्यवहारमा लागू नभएको सिद्धान्त कागजको खोस्टो हो । आखिर कार्यशैली सुधार गर्ने विधि कागजको खोस्टो भयो । त्यसपछि विराटनगर राष्ट्रिय सम्मेलन भयो, त्यहाँ पनि बिग्रिएको भेष सुधार गर्ने विधि बन्यो, त्यो पनि लागू भएन । त्यतिबेलानै थाहा भइसकेको थियो, जब सुध्रिने पटक–पटक वाचा गरिन्छ, सुधार हुँदैन, त्यतिबेला धेरै बिग्रिइसकेको हुन्छ । माओवादीको कार्यशैली सुधार पनि ठीक त्यस्तै भयो ।


नेता तथा कार्यकर्ताको जीवनस्तर फेरियो, उनीहरूको जीवनमा साम्यवाद आयो । जनताको जीवन सधैं सर्वहारानै । नेताहरूको रहनसहन, बसउठ, खानपान देखेर जनता आत्तिए । भने, ‘आम्मै देश बदल्न हिंड्नेहरू आफैं बदलिएछन् ।’पार्टीमा वैद्य बाका नामले चिनिने मोहन वैद्य यो देखेर अलग भए । उनी अहिले पनि सर्वहारा नेताझैं लाग्छन् । नेताहरू छाड्दै गएपनि उनले सर्वहाराको मुक्तिको कुरा छाडेका छैनन् । पूर्वमाओवादीमाथि द्रव्य मोहको बात लाग्यो । बात मात्र होइन, देखिंदै गयो । रक्सी पुरानो बोतल नयाँ भनेजस्तै भयो उनीहरूको कार्यशैली । बाहिर सर्वहारका नेता देखिए पनि अरू संसदीय पार्टीका नेताभन्दा फरक देखिएन् । केहीको अझ त्योभन्दा भड्किलो देखियो । जसले झुपडीमा भात र साथ दिएका थिए, उनीहरूले ती ‘सर्वहारा’ का नेतालाई भेट्नु दुर्लभ बन्दै गयो । नेताका वरिपरि बिचौलिया, भेष बदलेर माओवादी भएका उनै अवसरवादीकोभीड लाग्न थालेपछि जनता भन्न थाले— हरे, त्यो पुरानो कार्यशैली कहाँ गयो, त्यो खाँटी भेष कहाँ हरायो? त्यो सत्तामा हरायो, महलमा हरायो । पसिना बगाउनेहरूको सपनामा असिना बर्सिंदै गयो ।

के नेकपाका नेता तथा कार्यकर्ताहरू हाल आफूले खाएका भाँडा आफैं माझ्छन् ? के उनीहरू कुटो–कोदालो बाकेर जनसेवामा सहभागी हुन्छन् ?यो कुरा गरिरहँदा नेकपाका अधिकांश नेता तथा कार्यकर्ता, जो सत्ताको वरिपरि छन्, माला थाप्न व्यस्त होलान् । या, उनीहरूसहरका कफी सपमा कफीको चुस्की लिंदै होलान् । बेलुका महँगा रेस्टुरेन्टमा ‘समाजवाद’ का गफ गर्दै होलान् । यो उनीहरूको रहर हो या बाध्यता ? त्यो आफैं जानून् । युद्धकालमा जसले सेल्टर दिए, खाना दिए, माना दिए, नेता तथा कार्यकर्ताले गर्धन लच्काउने गरी लगाएको माला, कफी सपमा तस्बिर र महँगा रेस्टुरेन्टका समाजवादका गफले व्यंग्य गरेजस्तो लाग्छ । जनताको सेवामा जुट्नुपर्नेको यो विचलित चालचलन ।


समाजवाद उन्मुख संविधानमा टेकेर नेकपाको दुई तिहाइको सरकार बनेको छ । त्यो समाजवादको बाटो कतातिरबाट अघि बढ्छ ? समाजवाद गोरिल्ला ट्रेक हुँदै अघि बढेको छ कि महेन्द्र राजमार्ग हुँदै ? या बीपी राजमार्ग हुँदै कि मदनभण्डारी राजमार्ग हुँदै ? जो सर्वहाराको रेखामाथि उक्लन सकेका छैनन्, उनीहरूलाई समाजवादको अर्थ के हो ? खुट्टामा राम्ररी हात्तीछाप चप्पल होस्, जीउमा भेस्ट होस्, साँझ–बिहान हात–मुख जोड्न गाह्रो नहोस्, शिक्षा, स्वास्थ्य निःशुल्क होस् । यसरी बुझाउन सक्ने हैसियत भेष बदलेका कम्युनिस्टमा छैन ।रोल्पा, रुकुममा युद्धमा मृतकका नाममा सालिक, शिलालेख र गेट छन् । हरेक वर्ष फागुन १ गते युद्ध सुरु भएको दिन अबिर, माला लाग्छ त्यसमा । त्यो माला ओइलाएर जान्छ, अबिर उडेर जान्छ । त्यसरीनै ती युद्धमा मारिएका सहिदका सपनाहरू उडे । कमरेडहरू केन्द्रदेखि स्थानीय तहसम्म सत्तामा छन् । सत्ता र सपनाको के सम्बन्ध छ ? सपनाले सत्ता निर्माण गर्छ तर सत्ताले सपना निल्छ । त्यसैले होला, हरेक वर्ष सहिद दिवसका दिन सहिदका सपना याद गरिन्छ । एक मिनेट मौन धारणा गरेर याद गरेका सपना सत्ताको कुर्सीमा बस्नेबित्तिकै दबेर जान्छन् । सपना बिर्सनका लागि होइनन् पक्कै पनि । हालसम्म विगतको इतिहासको भर्‍याङ चढेर कमरेड उक्लिएका छन् । इतिहास व्यवहारले जोगाउने हो । विगतको आफ्नै इतिहासलाई कुल्चेर समाजवादको यात्रा पूरा हुन गर्न कमरेडहरू कस्सिएका छन् । वर्ग विभाजन उस्तै छ, धनी र गरिबबीच खाडल उस्तै छ । कमरेडहरू सामना परिवारले गाएजस्तै गाइरहेछन्:
साम्यवाद चुम्ने लक्ष्य छ हाम्रो वर्ग मेटाउने सपना छ हाम्रो...।

प्रकाशित : फाल्गुन १८, २०७५ १२:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्