विप्लव समूह कुशासन र भ्रष्टाचारका कारण पैदा भएको असन्तुष्टिको उपज : भट्टराई

‘सिके र रेशमका बारेमा सरकारले दोहोरो चरित्र देखायो’
अवधेशकुमार झा

राजविराज — पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले विप्लव समूह कुशासन र भ्रष्टाचारका कारण भएको असन्तुष्टिले पैदा गरेको विद्रोह भएको बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार बिहान संचारकर्मीसँग कुरा गर्दे नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका भट्टरार्ईले असन्तुष्टिहरुलाई समयमै सम्बोधन गर्न नसकिए यस्ता विद्रोहहरु थप बलियो भएर जाने तर्क गरे ।

‘जनताको चाहना अनुरुप भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीको अवस्था सृजना गरिएन भने जनतामा विभिन्न खाले असन्तुष्टि पैदा हुन्छ। यो संसारमै पनि देखिन्छ। नेपालमा पनि यसको उदाहरण छ,’ भट्टरार्ईले भने, ‘विप्लव समूह पनि असन्तुष्टिपछिको विद्रोहको एउटा प्रतिक हो।’

दुईतिहाईको बहुमत प्राप्त सरकारले सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गरेर देशको साधनस्रोतका प्रयोग गरी तिब्र आर्थिक विकास र समृद्धी ल्याउनुपर्ने तथा बेरोजगारलाई रोजगार र सबैलाई सामाजिक न्यायको प्रत्याभुती दिलाउन सकेमात्र यस्ता विद्रोहको औचित्य समाप्त हुने र सेलाएर जान सक्ने भन्दै उनले भने, ‘तर सरकारले काम गर्न सकेन र भ्रष्टाचार कायमै रह्यो भने यस्ता असन्तुष्टिहरुले विद्रोहको रुप लिन सक्छ।’

उनले विप्लव समूहको विषयलाई सरकारले बेलैमा सम्बोधन गर्नुपर्ने बताउँदै उनीहरुसँग पनि सरकारलाई वार्ता गर्न सुझाव दिएका थिए। भ्रष्टाचार नेपालमा गम्भिर समस्याको रुपमा देखिएको बताउँदै भट्टरार्ईले भ्रष्टाचार नियन्त्रण गर्ने निकाय कमजोर भएको दाबी गरे।

‘क्यान्सरको उपचार झारफुक गरेर हुँदैन। अप्रेसन नै गर्नुपर्छ,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने निकाय कमजोर भए, कार्यपालिका लाचार छायाँ जस्तै भए।’ उनले भ्रष्टाचार नियन्त्रणका लागि अधिकार सम्पन्न जनलोकपाल तीनवटै तहमा गठन गर्नुपर्ने बताए।
‘अधिकार सम्पन्न जनलोकपाल तीनवटै तहमा गठन गरी उनीहरु सिधै निर्वाचित प्रतिनिधी सभाप्रति उत्तरदायी भएर कार्यपालिका र न्यायपालिकामा जो जसले भ्रष्टाचार गर्छ त्यसलाई सिधै कारवाही गर्न सक्छन्,’ उनले भने, ‘त्यसो हो भने, भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ। नभए गाह्रो छ। बेलैमा नियन्त्रण गर्न सकिएन् भने भ्रष्टाचारले नेपालको अर्थतन्त्रलाई धारासायी बनाउँछ।’

वर्तमान सरकार काण्डैकाण्डमा फसेको पूर्व प्रधानमन्त्री भट्टराईको आरोप छ। उनले भने, ‘अहिलेको सरकार एनसेल काण्ड, वाइडबडी काण्ड, बुढीगण्डकी काण्ड, सुन काण्ड लगायतका काण्डैकाण्डमा फसेको छ। जसले देशको आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको छ।’

सरकार असफल हुँदै गएको दावी गर्दे उनले सरकारले विकास खर्च पनि गर्न नसक्ने र राजश्व पनि अपेक्षा अनुरुप उठाउन नसक्ने भनेर आफ्नो कमजोरी सावित गरिसकेको बताए। भट्टरार्ईले पछिल्लो समय वैदेशिक लगानी घटेको, व्यापार घाटा बढेको जस्ता कार्यले देश उल्टो गतिमा गईरहेको प्रष्ट भएको बताए।

पृथकतावादी आन्दोलन गरिरहेका सिके राउत र अदालतको आदेशमा जन्मकैदको सजाय पाएका रेशम चौधरकिा विषयमा सरकारले दोहोरो चरित्र देखाएको उनले आरोप लगाए। सिके राउतलाई सरकारले सेटिङ गरेर रिहा गरेको आरोप लगाउँदै उनले भने, ‘पृथकतावादी आन्दोलन गर्नेलाई सेटिङ गरेर निकाल्ने अनि राजनीतिक विद्रोह गरेकालाई आजीवन कारावास हुने?’

उनले टिकापुरमा सुरक्षाकर्मी मारिनु दुखद भएपनि टिकापुर घटना राजनीतिक विद्रोह भएकाले सोही अनुरुप व्यवहार हुनुपर्ने धारणा राखे।
संविधानमा रहेको अपूर्णतालाई सम्बोधन गरी संसोधन गर्न सरकार असफल रहेको बताउँदै भट्टरार्ईले संविधान संशोधन नगरेसम्म असन्तुष्टि कायमै रहने बताए। संविधानमै रहेको अपूर्णताका कारण तराई–मधेश र जनजाती बाहुल्य क्षेत्रमा असन्तुष्टि कायमै रहेको बताउँदै उनले भने, ‘मैले पहिला नै भनेको थिएँ यो संविधान आधा गिलास भरेको आधा गिलास खाली जस्तै छ। त्यसैले अब खाली आधा गिलास पनि भरिनुपर्छ।’

प्रकाशित : फाल्गुन २८, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्

राउतसँगको सहमति शंकास्पद : पौडेल 

अमृता अनमोल

बुटवल — नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सीके राउतसँग गरेको सहमति शंकास्पद रहेका बताएका छन् । सहमतिले राष्ट्रियता र अखण्ड राष्ट्र बचाउने भन्दा पनि खतरामा पार्नेतिर अघि बढेको भन्दै उनले त्यसको विश्लेषण आवश्यक रहेको बताए ।  

प्रेस यूनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राउतका राष्ट्रघाती साहित्यलाई रोक नलगाउने र उसका अघिल्ला गतिविधिप्रति वेवास्ता गर्नु विखण्डनलाई मलजल गराउनु रहेको बताए।

राउतका कार्यकर्ता अहिले पनि विखण्डनका मुद्दासहित विजय जुलुसमा उत्रिएको बताउदै नेता पौडेलले त्यसलाई रोक्न आग्रह गरेे। 'सहमतिका सबै बुँदालाई एक-एक अक्षरमा विश्लेषण गरेर राष्ट्रलाई अखण्ड बनाउन सरकार जुट्नुपर्छ' उनले भने, 'नत्र राष्ट्र पुन विखण्डनकारीको हातमा पुग्छ।'

मधेशकै जनता राउतसितको सहमतिसँग झस्किएको बताउँदै उनले राउतलाई मूलधारमा ल्याउने भन्दैमा गलत सहमति गर्न नहुने बताए।

फरक प्रसंगमा नेता पौडेलले वर्तमान सरकारले आफ्नो कर्तव्य र जिम्मेवारी नै बिर्सेको दाबी गरेे। विकास, सुशासन र शान्ति सुरक्षा तीनवटै काममा सरकार असफल भएको बताए। न्यूनतम जिम्मेवारी पूरा नगरेकाले सरकार अहिले नैतिकताको सट्टा कृतिम तरिकाले टिकेको उनको टिप्पणी थियो।

प्रकाशित : फाल्गुन २८, २०७५ १०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्