कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उडेको एक मिनेटमै हेलिकप्टर पहरोमा

दुर्घटनामा मन्त्री अधिकारीसहित सातैको मृत्यु
आनन्द गौतम

माथिल्लो फेदी, ताप्लेजुङ — पाथीभराको मौसम बुधबार बिहान खुलेको थियो । बिहानैदेखि हेलिकप्टरले भेडेटारबाट यात्रु ओसारिरहेका थिए । सिम्रिक एयरले चार खेप यात्रु भेडेटारबाट ल्याइसकेको थियो । करिब १ बजेतिर मन्त्री अधिकारीसहितको टोली पाथीभरा मन्दिरमा दर्शनका लागि एयर डाइनेस्टीको हेलिकप्टरबाट ओर्लियो । 

उडेको एक मिनेटमै हेलिकप्टर पहरोमा

सबैले पाथीभरा दर्शन गरे । त्यहाँ स्वर्गद्वारीका फलाहारी बाबा लोकनाथ अधिकारी, किराँत धर्मगुरुका अगुवा चन्द्रकुमार शेर्मासँग मन्त्री टोलीको भेट भयो । उनीहरूले तस्बिर खिचाए । त्यहीबीच लोकनाथले मन्त्रीलाई सोधे, ‘तपाईंलाई दोष लागेको छ, तपाईं त्यो दोषबाट मुक्त हुनुहुन्छ ?’ मन्त्रीले हाँस्दै भने, ‘मैले केही गल्ती गरेको छैन, म दोषमुक्त हुनेछु ।’ यति भनेर उनी बिदा भए ।


त्यहीबीच हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीले मौसम बिग्रिन थालेको भन्दै छिटो जान आग्रह गरे । टोली हतार–हतार उड्यो ।

लगत्तै ठेचुङका स्थानीयले पाथीभराबाट ओरालो लाग्दै गरेको हेलिकप्टर देखे । सिधै उड्नुपर्ने हेलिकप्टर ओरालो लागेको देखेपछि उनीहरू झस्किए । हेर्दाहेर्दै हेलिकप्टर जंगलभित्र छिर्‍यो । माथिल्लो काफ्लेपाटीकी इन्द्रमाया भट्टराईले ठूलो आवाज सुनिन् ।


‘बेस्सरी हुरी चलेको थियो, त्यही बेला ठूलो आवाज आयो,’ उनले भनिन्, ‘आगो लागेको देखियो ।’ उनको घरबाट दुर्घटनास्थल स्पष्टै देखिन्छ । हेलिकप्टर ठूलो ढुंगामा ठोक्किएको थियो । दुर्घटनालगत्तै फुङलिङ–१०, फुरुम्बुका शुक्रवीर भट्टराईले माथिल्लो फेदीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज उमानाथ पौडेललाई फोन गरे, ‘हेलिकप्टर तलतिर आएको थियो, खसेजस्तो छ । आगो लागिरहेको छ ।’


त्यसपछि पौडेलसहितका स्थानीय दौडेर घटनास्थलतर्फ लागे । उपचार सामग्री बोकेर उनीहरू ४५ मिनेटमा घटनास्थल पुगेका थिए । ‘हेलिकप्टर ठूला दुई टुक्रा भएर बलिरहेको थियो, शव पूरै जलेको थियो,’ उनले कान्तिपुरसँग भने, ‘मन्त्री अधिकारीको छाती र टाउको ओडारको कापमा परेकाले चिन्यौं ।’


हेलिकप्टर तलतिर गएपछि पाथीभरा मन्दिरका पुजारीले पनि माथिल्लो फेदीका इन्द्रनारायण भट्टराईलाई फोन गरेर जानकारी दिएका थिए । ‘माथि जानुपर्ने हेलिकप्टर तलतिर गयो, के भयो हेर्नुस् है,’ उनले भनेका थिए ।


हेलिकप्टर खसेको पुष्टि भएपछि माथिल्लो फेदीबाट प्रहरी र थप स्थानीय तारेढुंगा भीरतर्फ लागे । अस्थायी प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयवासी घटनास्थल पुगेर उद्धारमा जुटे । स्याउला भाँचेर आगो निभाए र शव एक ठाउँमा जम्मा गरे । घटनास्थलमा रहेका पाथीभरा मन्दिरका कर्मचारी उमिद लिम्बूले भने, ‘हेलिकप्टर जलिरहेको थियो । प्रहरी पुगेपछि उनीहरूसँगै उद्धार गर्न थाल्यौं ।’

फुङलिङ नगरपालिका–१०, तारेभीरमा बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको शव उठाउन मौसम बाधक भयो । घटनास्थलमा बुधबार हिमपात भएकाले शव उठाउन समस्या परेको हो । पर्यटनमन्त्री अधिकारीसहित चारको शव भने बुधबारै सुकेटार विमानस्थल पुर्‍याइएको छ ।


दुर्घटनामा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा रेडियो इन्जिनियर वीरेन्द्रप्रसाद श्रेष्ठ र सिभिल इन्जिनियर ध्रुवदास भोछिभोय, प्रधानमन्त्री कार्यालयका अधिकृत युवराज दाहाल, मन्त्रीका अंगरक्षक जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसीको ज्यान गयो ।


प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले घटनास्थलबाट तीन शव रातिसम्म माथिल्लो फेदीमा ल्याउने प्रयास भइरहेका बताए । घटनास्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी रहेको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जनाए । घटनास्थलबाट माथिल्लो फेदी पुगेका प्राथमिक स्वास्थ्य केन्द्र इन्चार्ज उमानाथ पौडेलले घटनास्थलमा बाक्लो हिमपात भइरहेको बताए ।

प्रकाशित : फाल्गुन १६, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?