अख्तियार आयुक्त राजनारायण पाठकद्वारा राष्ट्रपतिसमक्ष राजीनामा, महाअभियोग तयारी स्थागित
काठमाडौँ — नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा पत्र बुझाएका छन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा दर्ता गराएका हुन् । उनको राजिनामा पत्रको दर्ता नम्बर ११४७ रहेको छ ।
नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने भन्दै घुस लिएका समाचार बाहिरिएपछि आयुक्त पाठकविरुद्ध सत्तारुढ दल नेकपाले शुक्रबार नै महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो ।
यो पनि पढ्नुहोस् : अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा
नेकपा स्रोतका अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा देव गुरुङ, कृष्णभक्त पोखरेल र रामनारायण बिडारीले महाअभियोग पत्र तयार गरिरहेका थिए ।
आयुक्त पाठकविरुद्ध महाअभियोग दर्ता गर्नकै लागि नेकपा सांसदहरुको हस्ताक्षर संकलन पनि सुरु गरिसकेको थियो । उनको राजीनामा दिएसंगै महाअभियोग प्रकृयालाई स्थागित गरिएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
प्रकाशित : फाल्गुन ३, २०७५ १३:१८यो पनि पढ्नुहोस् : अख्तियार आयुक्त पाठकको घूस प्रकरण : कार्यालय अख्तियार, अखडा तीनकुने, उच्च पदस्थहरू ४ महिनादेखि गुपचुप