कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ वर्षभित्र सबै करिडोरमा सडक

दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले ५ वर्षभित्र उपत्यकाका सबै नदी करिडोरमा सडक विस्तार सम्पन्न गर्ने जनाएको छ । यसका लागि ढल, सडक, हरियाली उद्यान विकास, नदी नियन्त्रण तथा बहाव कायमलगायत कामका लागि विभिन्न निकायलाई जिम्मा दिइएको अधिकारसम्पन्न एकीकृत विकास समितिका आयोजना उपप्रमुख योगेन्द्र चित्रकारले बताए । 

५ वर्षभित्र सबै करिडोरमा सडक

उनका अनुसार उपत्यकाको वाग्मती, नख्खु, हनुमन्ते र विष्णुमतीमा अधिकारसम्पन्न वाग्मती आयोजनाले काम गरिराखेको छ । ‘ढल तथा नदी नियन्त्रण गरी सडक खोल्ने काम भइरहेको छ,’ उनले भने, ‘यसले गर्दा उपत्यका सौन्दर्य पनि बढ्नेछ ।’


मनोहरा करिडोरमा सडक डिभिजन कार्यालय काठमाडौं र मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले सडक विस्तार तथा ढल बिछ्याउने काम गरिरहेका छन् । त्यसैगरी धोबीखोलामा उपत्यका विकास प्राधिकरणले काम अघि बढाएको छ ।


सडक डिजिभन कार्यालय काठमाडौंका प्रमुख कैलाश श्रेष्ठले खानेपानी आयोजना निर्देशनालयले मनोहरा करिडोरको विभिन्न भागमा ढल बिछ्याउने काम गरिरहेको बताए । ‘केही स्थानमा रोलिङ र ग्रेडिङ गर्ने काम भइहरको छ,’ उनले भने, ‘बालकुमारीदेखि मनोहरासम्म काम गरिराखेका छौं ।’


मनोहरा करिडोरको अन्य स्थानमा पनि सडक विस्तार अघि बढेको र बाँकी काम सम्पन्न गर्न पनि छलफल भइरहेको बताए । २०७२ मा सडक डिभिजन कार्यालयले विभिन्न खण्ड विभाजन गरी करिब १८ करोड रुपैयाँमा करिडोर निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।


३० मिटर खोलाको बहाव छाडी किनारबाट २०–२० मिटर दायाँबायाँ छाड्नुपर्ने छ । त्यसमध्येको ११ मिटरमा सडक र ९ मिटरमा ग्रिनबेल्ट निर्माण गरिनेछ । बालकुमारी पुलदेखि साँखु (ब्रह्मखेल) सम्मको करिब ९ किमि लामो उक्त करिडोरको निर्माण गरिने छ । वाग्मती, विष्णुमती, मनोहरा, नख्खु, बल्खु, कर्मनासा, कोडकु, साङ्ले र महादेव खोला धोबीलगायतमा करिडोर निर्माणका लागि सरकारले पहिले नै निर्धारण गरिसकेको छ ।


वाग्मती, विष्णुमती र मनोहराका दायाँबायाँ २०/२० मिटर कायम गरिएको छ । वाग्मती नदीको बहाव क्षेत्र र स्थान हेरी फरक निर्धारण गरिएको छ । सुन्दरीजलदेखि गोकर्णसम्म २० मिटर, गोकर्णदेखि जोरपाटी पुलसम्म ३५ मिटर, जोरपाटी पुलदेखि गुहयेश्वरीसम्म ४० मिटर, तिलगंगादेखि शंखमूल खण्डमा न्यूनतम ३० मिटर, शंखमूलदेखि विष्णुमती दोभानसम्म न्यूनतम ६० मिटर बहाव क्षेत्र निर्धारण गरिएको छ । विष्णुमती दोभान र त्यसको तल्लो तटीय क्षेत्रमा न्यूनतम ८० मिटर बहाव क्षेत्र कायम गरिएको छ ।


अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिले नख्खु–भैंसेपाटी दुवैतर्फ गरी ६ किमि करिडोर विस्तार गर्ने काम भइराखेको समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले बताए । त्यसैगरी हनुमन्ते–ठिमि दोबाटो चोकसम्मको दुवैतर्फ गरी करिब ४ किमि सडक निर्माण भइरहेको उनले बताए । विष्णुमती नदी किनारको दुवैतर्फ गरी करिब २२ सय मिटर सडक विस्तार कार्य भइरहेको उनले बताए । ‘त्यहाँ बाटो पहिले नै खुलिसकेको छ,’ उनले भने, ‘त्यसलाई व्यवस्थित बनाउने काम मात्र भइराखेको छ ।’


नदीको बहावलाई नघटाई सडक विस्तार तथा ढल हाल्ने काम भइरहेको उनले बताए । ‘कही वर्षभित्रै उपत्यका सबै नदी व्यवस्थित र र सफा हुन्छन्,’ उनले भने, ‘विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र पनि निर्माण भइरहेका छन् ।’ करिडोर निर्माण हुँदा सहर व्यस्थित र सुन्दर हुने उनले बताए ।


पछिल्लो पटक सवारी साधनको चाप बढदै गएपछि करिडोरमा सडक विस्तार गर्दा ट्राफिक जाम नियन्त्रण गर्न सजिलो भएको छ । अधिकारसम्पन्न वाग्मती आयोजनामार्फत मात्र झन्डै डेढ अर्ब रुपैयाँ नदी नियन्त्रण तथा करिडोर निर्माणका लागि छुट्याएको उनले बताए ।


पहिलो चरणमा राम मन्दिरबाट खसाङखुसुङ खोला दोभानको दायाँबायाँको २ दशमलव ७ किमि करिडोर निर्माण गरिने उनले बताए । ‘नदीको दायाँबायाँ मनोहरा दोभानसम्मको १२ किमिमा करिडोर निर्माण गरिनेछ,’ उनले भने ।


उनका अनुसार दायाँबायाँ ८/८ मिटर कालोपत्रे सडक, फुटपाथसहित बगैंचा निर्माण गरिनेछ । २ दशमलव ७ किमि हनुमन्ते करिडोर निर्माणका लागि ६९ करोड ७० लाख रुपैयाँमा छुट्याएको उनले बताए । उपत्यका ट्राफिक महाशाखा प्रमुख वसन्त पन्तले करिडोर विस्तार भए ट्राफिक जाममा कमी आउने बताए । ‘करिडोरलाई वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘यसले ट्राफिक जाम कम हुन्छ ।’

प्रकाशित : माघ २८, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?