कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डक मर्मत प्रभावकारी भएन

रासस

नवलपरासी — पश्चिम नवलपरासीको गण्डक क्षेत्रमा भारतीय पक्षद्वारा अहिले भइरहेका संरचनाको मर्मत प्रभावकारी बन्न सकेको छैन । नेपाल भारत गण्डक सम्झौतानुसार नेपाली भूमि गण्डक क्षेत्रमा संरचना निमार्ण भएपनि सो संरचनाअन्तर्गत गण्डक बाँधसहित अन्य सबै संरचनाको मर्मत गर्ने काम भारतीय पक्षको हुने उल्लेख गरिएको थियो । 

अहिले गण्डक क्षेत्रअन्तर्गत सुस्ता गाउँपालिका–४ नर्सहीस्थित नारायणी नदीको बि ग्यापअन्तर्गत ठोकर न‍म्बर ६ मा तटबन्ध निर्माण भइरहेको छ । ठोकरको संरचना बलियो पार्ने उद्देश्यले अहिले ठोकरको स्परमा तटबन्ध निर्माण जारी भएपनि सो काम ठेक्का पाएको भारतीय ठेकेदार पक्षले सम्झौता विपरित गुणस्तहीन काम गरेको स्थानीयवासी श्याम थापामगर बताउँछन् ।


गोरखपुरस्थित महाकाल एशोसिएट्स निर्माण कम्पनीले सो क्षेत्रमा तटबन्ध निर्माणको ठेक्का पाएको थियो। सम्झौताबमोजिम तारजालीको एक मिटर चौडाई हुनुपर्नेमा सो बमोजिम नभएको स्थानीयवासीको भनाइ छ ।


भारतीय पक्षबाट गरिएको सो काम मापदण्डअनुसार नभएको नेपालको तर्फबाट भारत सरकारलाई सहजीकरण गर्दै आएका भारत बाल्मीकीनगरस्थित सम्पर्क तथा भू-आर्जन कार्यालयका प्रमुख तारासिंह थापा बताउँछन् ।


लागत अनुमान र जिपीआरको प्रतिवेदन यस कार्यालयमा भारतीय पक्षले अहिलेसम्म उपलब्ध गराएको छैन् । पत्राचार गरेर कागजात पत्र माग गरेको धैरै दिन भयो अझै प्राप्त नभएकाले अनुगमन कठिन भएको प्रमुख थापाको भनाइ छ । भारतीय ठेकेदार कम्पनीले ठेक्का प्राप्त गरेर पनि सो कामबारे अनुगमन गर्ने अधिकार नेपाली प्रशासन र सिँचाइ कार्यालयलाई नभएको जनाएकाले काम प्रभावकारी बन्न नसेकेको हो ।


तटबन्ध निर्माणमा तारजाली भित्र ठूलो ढुंगा राख्नुपर्नेमा सानो राखिएको छ । तार पनि कमसल खालको प्रयोग गरिएको पाइएको उक्त कार्यालयले जनाएको छ । उक्त कामलाई प्रभावकारी बनाउन भारतको सिँचाइ एवं जलसंशाधन विभाग उत्तर प्रदेश सिँचाइखण्ड द्धितीय महाराजगञ्जबाट अनुगमनका लागि कर्मचारी समेत खटिएका छन् ।


ती कर्मचारीका अनुसार केही भागमा तटबन्ध निर्माण गर्ने क्रममा काम गुणस्तरहीन भएको जनाउँदै तत्काल काम सच्चाउन ठेकेदार पक्षलाई जानकारी गराइसकेकोले अहिले स्थानीयवासीले गुणस्तहीन काम भएको भन्दै दुई सातादेखि कामसमेत बन्द गराइदिएका छन् । स्थानीयवासीले विरोध जनाएपछि दुई सातादेखि काम पूर्ण रुपमा बन्द छ ।


गण्डकमा हुने गरेका सबै निर्माण तथा मर्मतसम्भारको कार्यमा भारतीय ठेकदारले काम गर्ने र सोको अनुगमनका लागि भारतीय पक्षबाट नेपाली निकायमा लिखित रुपमा कुनै जानकारी नगराउँदा समस्या देखा परेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने बताउँछन् ।


गण्डक क्षेत्रमा भारतीय पक्षले पटक-पटक वर्षेनी यस्तै लापर्वाही ढंगले काम गर्दै आएको र वर्षाको समयमा गण्डक क्षेत्रका साविक पक्लिहवा, नर्सही, कुडिया, त्रिवेणी सुस्ता, गुठीप्रसौनी, सुर्यपुरा, बैदौली, सोमनी, प्रतापपुर, जमुनिया, खैरटहवा, भुजहवा, रामपुरखडौनासहित १३ गाविस डुबानमा पर्नसक्नेमा त्यहाँका बासिन्दा चिन्तित छन् ।

प्रकाशित : माघ २७, २०७५ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?