मासिँदै झिँगटीका घर

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थलीमा तत्कालीन जिम्मुवालहरूका सधैं रातो देखिने चम्किलो झिँगटीवाला धौले घर थिए । बिस्तारै ती नासिए । केही वर्ष अघिसम्म साहित्यकार जगदीश घिमिरेको पुख्र्यौली घरमा झिँगटीको छाना थियो । अहिले त्यसमा जस्तापाता छ । झिँगटी हटाएर खाल्डोमा गाडियो । 

रामेछापमा लोप हुँदै गएका झिँगटीका छानाहरू । तस्बिर : टीकाप्रसाद/कान्तिपुर 

‘सहज पाइँदैनथ्यो, अनि झम्मार पनि उस्तै,’ गुन्सीका कृष्णप्रसाद गौतमले भने, ‘पहिले पनि माटोको झिँगटी लगाउने कुरा सामान्यलाई सहज थिएन । महँगो पर्दथ्यो ।’

झिँगटी बनाउने कर्मीकै अभाव, कर्मी भए पोल्नै गाह्रो, पोलेर मात्रै पनि नहुने त्यसलाई काठ र बाँस जुटाउनै हम्मे ।अहिले त चलनै हरायो । झिँगटी छानावाला घर गह्रौं हुने भएकाले भूकम्पबाट सुरक्षित हुँदैनन् भन्ने चेतना आएकाले भूकम्पपछिको पुनर्निर्माणमा झिँगटीको छाना बर्जित गरियो । अहिले सबैजसो घर जस्तापाताले छाइएका छन् ।

सस्तो र बलियो घर बनाउने अभियानसँगै सम्पत्ति र इज्जतसँग जोडिएको झिँगटी छाना भएका घर बिस्तारै लोप हुन थालेका हुन् । तर २०७२ को भूकम्पबाट बचेका केही त्यस्ता घरमा अझै बसोबास छ । पश्चिमी रामेछापको खनियापानी, बेथान, हिलेदेवी, दिमीपोखरी, गुन्सी लगायतका स्थानका दर्जनौं घर अहिले पनि सानका साथ उभिएका छन् । भुइँचालोले तिनलाई ढालेन ।

पहिले गाउँघरमा हुनेखानेको झिंगटी छाना हुन्थ्यो । कसैको चिनारीका लागि पनि झिंगटीको छाना भएको घर भन्ने गरिन्थ्यो । बिहेवारीमा छोरी दिनेको त्यस्तो घर पहिलो रोजाइ हुन्थ्यो । ‘झिँगटीको रवाफै बेग्लै’ गौतमले भने, ‘अहिले सबै एकैनास भएका छन्, घर देखेर को धनी को गरिब खुट्याउन सकिँदैन, पहिले सहजै सकिन्थ्यो ।’

पश्चिमी रामेछापमा झिँगटी बनाउने कामदारहरू छिमेकी काभ्रे जिल्लाबाट आउँथे । इँटाको साँचो बोकेर आउने कर्मीहरूले महिनौं बसेर माटोको झिँगटी बनाउने, पोल्ने र छाउने काम गरेर फर्कन्थे । अहिले उक्त कार्य रोकिएको छ । झिँगटी बनाउने सीप भएका व्यक्ति हम्मेसी पाइँदैनन् । त्यसैले पुराना घरहरू चुहिँदा थप्ने झिँगटीको अभाव गाउँमा छ । स्थानीयहरूले चुहिएको ठाउँमा सिमेन्टले टाल्दै काम चलाएका छन् । कसैकसैले झिँगटी पाइहाले पनि साइज मिल्दैन । त्यसैले खोजी नै हुँदैन ।

खनियापानीका रमेश खड्का भूकम्पपछि झिँगटी छाना सपना जस्तै बनेको बताउँछन् । शीतल र सानका झिँगटीहरू हराए, ‘मैले पनि झिँगटी पुरिदिएँ,’ खड्का भन्छन् ‘आफूलाई काम नलाग्ने र बिक्री पनि नहुने भएकाले खाडलमा पुर्नुपरेको हो ।’ खनियापानीको डाँसे डाँडामा हेर्दै लोभलाग्दो खड्काको घर अझै धेरैको आँखामा छ । तर झिँगटी खाडलमा पसिसक्यो । अब निस्कँदैन ।

लगाउँदा अलि झम्मार भए पनि झिँगटीले घर छाएपछि ५०/६० वर्षलाई ढुक्क हुन्थ्यो । ‘झन्डैझन्डै ढलान जस्तैभरपर्दो,’ खड्का भन्छन्, ‘पुरानो हुँदै जाँदा कताकति चुहिन्थ्यो, मर्मत गरेर चलाउन सकिने । खर र जस्ताको घर ५ पटक छाना फेर्दा झिँगटी डेग चल्दैनथ्यो ।

२०७२ सालको भूकम्पपछि निजी आवास निर्माणका लागि अनुदान दिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गह्रौं छाना भएका घरलाई मापदण्डबाहिर राख्यो । जस्तापाता या सोहीबमोजिम हलुका सामग्री भन्दा बाहेकका ढुंगा, टायल र झिँगटीका छाना लगाइएका घर मापदण्डमा नपर्ने नियम ल्याएपछि जिल्ला नै जस्तामय बनेको हो । टायल र ढुंगाभन्दा पनि झिँगटी गह्रौं हुन्छ ।

बाक्लो माटो राखेर त्यसमाथि छाइने झिँगटी धेरै बोझिलो हुने भएकाले भूकम्प आउँदा घर लड्ने सम्भावना ज्यादा हुन्छ । ढुंगामाटोको जोडाइमा बनेका घरमा त्यस्तो छानो सुरक्षाका हिसाबले उपयुक्त नहुने प्राविधिकहरूले सल्लाह दिने गर्छन् ।

प्रकाशित : माघ २५, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्

विश्वरूपाअघि कंक्रिट तुरुन्त रोक्नू

दामोदर न्यौपाने

काठमाडौँ — ‘पुरातत्त्व विभागको सहमति लिनुभयो ?’ उपमेयर हरिप्रभा खड्गीले श्लेष्मान्तक वनमाझ रहेको विश्वरूपा मन्दिर वरपर ठड्याउन खोजिएका कंक्रिटका पिलर देखाउँदै सोधिन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले ‘अस्थायी संरचना भएकाले’ सिफारिस नलिएको जनाए । 

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्लेष्मान्तक क्षेत्रमा अनुगमन गर्दै । तस्बिर : इलिट जोशी/कान्तिपुर 

‘यो विश्व सम्पदा हो । यहाँ थोरै खोस्रँदा पनि अनुमति लिनुपर्छ । यहाँको प्राचीनता बिग्रन्छ,’ उनले भनिन्, ‘यो काम तुरुन्त रोक्नुस् । यो स्थानीय सरकारको निर्देशन हो ।’ सर्वोच्च अदालतको आदेशविपरीत पशुपति क्षेत्रमा कंक्रिट राख्ने काम जारी रहेपछि काठमाडौंकी उपप्रमुख खड्गी
बिहीबार पशुपतिक्षेत्र पुगेकी थिइन् । स्मारक क्षेत्रमा लागू हुने कुनै पनि ऐनविपरीत काम नगर्नू भनेर सर्वाेच्चले अन्तिरम आदेश दिए पनि पशुपति क्षेत्र विकास कोषले विश्वरूपा वरिपरि कंक्रिटका पिलर राख्न थालेको थियो ।

गैरकानुनी निर्माण रोकेर विश्व सम्पदा क्षेत्र सुरक्षित राख्न माग गर्दै सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासी, प्रदेशसभा सांसद लगायत निर्माणस्थल पुगेका थिए । कोषका योजना महाशाखा प्रमुख भरत मरासैनीका अनुसार विश्वरूपा मन्दिरको पर्खाल जोगाउन खनिएका १२ वटा खाडलमा कंक्रिटको पिलर उठाउन लागिएको छ । ‘फलामको ट्रस्ट राखेर मन्दिर संरक्षण गर्न यो बनाउन लागिएको हो,’ उनले भने, ‘मन्दिर बनेपछि यो झिक्छौं ।’

पशुपतिका भण्डारी केदारमान भण्डारीले कोषले सधैं स्थानीयवासीलाई पेलेरै जाने नीति बनाएको, विकास निर्माणका काममा समेत जानकारी नदिई मनोमानी गरेको गुनासो गरे । ‘यहाँका पर्व/पूजा समेत कोषकै कारण नास भएका छन्,’ उनले भने, ‘मन्दिर भत्किएका छन् । कुण्ड क्षतविक्षत भएका छन् । ढुंगेधारा सुकेका छन् । यतातिर ध्यानै गएको छैन कोषको ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोकेका उममेयरका चार काममध्ये अनुगमन एक हो । विश्वसम्पदा क्षेत्रमा गैरकानुनी निर्माण भएको सूचना पाएको आधारमा आफू अनुगमन गर्न आएको खड्गीलेबताइन् । ‘म यसअघि पनि अनुगमन गर्न आएकी थिएँ,’खड्गीले भनिन्, ‘विश्वरूपालाई छोपेर राख्न भनेकी थिएँ । अझैछोपिएको रहेनछ ।’

सम्पदा संरक्षणमा कोष संवेदनशील नभएको प्रतिक्रिया दिँदै उनले कोषबाट गर्न नसकिने हो भने स्थानीय सरकारले संरक्षण पहल गर्ने बताइन् । विश्वरूपा बन्न केही वर्ष लाग्ने भएकाले त्यसको गाह्रो जोगाउन ट्रस्ट राख्न लागिएको जिकीर गर्दै सदस्य सचिव ढकालले भने, ‘यसरी झकझक्याउँदा अब सचेत हुन्छौं ।’

पहिला पनि सचेत गराउँदा गराउँदै निर्माण जारी राखेको भन्दै प्रदेश नम्बर ३ का सांसद नरोत्तम वैद्यले आपत्ति जनाए । ‘विशेष ऐन ल्याएर पशुपति विकास कोष बनाइएको हो । पहिला संरक्षक राजा हुन्थे, अहिले पनि कोषको मनोविज्ञान अरूलाई रैती ठान्ने खालको छ,’ उनले भने, ‘कोषले स्थानीय सरकारको कुरा सुन्दैन, संघीय सरकारको कुरा पनि सुन्दैन । प्राचीन स्मारक संरक्षण ऐन पल्टाउँदैन । सर्वाेच्चको आदेश समेत सुन्न छाड्यो ।’

गुरुयोजना बन्दै गरेको अवस्थामा धमाधम काम बढाउनुले कोषको नियतमा वैद्यले शंका गरे ।
महानगर वडा ६ का अध्यक्ष अध्यक्ष दिनेश डंगोलका अनुसार कंक्रिट झिकेर सच्याउन पत्राचार गर्दा पनि कोषले श्लेष्मान्तकमा कंक्रिटको बाटो बनाएकामा आपत्ति जनाए । श्लेष्मान्तक जंगलमाझको विश्वरूपा मन्दिरअगाडि बालुवा, गिटी, सिमेन्टको ‘वाक वे’ बनाइएको छ । करीव तीन करोड रुपैयाँ खर्चेर बनाएको ‘मृगस्थलीमा पर्यटक घुम्ने बाटो’लाई कसरी सच्याउने भनेर सोचिराखेको ढकालले दाबी गरे ।

प्रकाशित : माघ २५, २०७५ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्