शिवपुरी-नागार्जुन मध्यवर्तीका चार बस्ती सारिँदै

५ सय २८ परिवारलाई २ अर्ब ३५ करोड ३६ लाख क्षतिपूर्ति   
अब्दुल्लाह मियाँ

काठमाडौँ — वन तथा वातावरण मन्त्रालयले शिवपुरी–नागार्जुन निकुञ्जको मध्यवर्ती क्षेत्रका मुलखर्क, चिलाउने, ओख्रेनी र कुनेगाउँ बस्तीलाई कागेश्वरी–मनोहरा र गोकर्णेश्वर नगरपालिकामा सार्ने भएको छ । 

सुन्दरीजल मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिअन्तर्गत गोकर्णेश्वर–१ र २ वडाका यी बस्तीमा जम्मा ५ सय २८ घरधुरी छन्। तीमध्ये २५ पक्की घर छन्। चारै बस्तीका २ सय गोठ, १० वटा पसल र ४० वटा होटलसमेत हटाइनेछ। यी बस्तीको जनसंख्या करिब २ हजार ५ सय २८ छ। २ हजार ५ सय ४ रोपनी निजी जग्गा छ।

स्थानीयलाई मध्यवर्ती क्षेत्रबाट हटाएर सरकारी र ऐलानी खाली जग्गामा सार्ने प्रस्ताव वन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको छ। भूमि व्यवस्था मन्त्रालयको रायमा वन मन्त्रालयले प्रस्ताव लगेको हो। बस्तीलाई भित्री क्षेत्रबाट हटाएर सँगै जोडिएको निकुञ्जको जग्गामा सट्टाभर्ना दिइनेछ।

सारिने बस्तीबारे अध्ययन गर्न तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालयले २०७३ माघमा निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो। समितिमा शिवपुरी निकुञ्जसहित मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधिसमेत थिए।

मध्यवर्ती क्षेत्रमा ती बस्ती रहँदा पारिस्थितिकीय प्रणाली एवं जैविक विविधता व्यवस्थापन कार्य र वागमती नदीको मुहान संरक्षणमा प्रतिकूल असर पर्नुका साथै मानव–वन्यजन्तु द्वन्द्व बढेको मन्त्रालयले जनाएको छ। चारवटै गाउँमा बँदेल, दुम्सीलगायतले बाली खाइदिनुका साथै चितुवाले स्थानीयमाथि आक्रमण गर्ने समस्या बढेको थियो।

बस्ती सार्न निकुञ्जले चालु आर्थिक वर्षमा बस्ती व्यवस्थापन शीर्षकमा १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बस्ती हटेपछिको जग्गा सरकारको नाममा रहनेछ। स्थानीयलाई सट्टाभर्नास्वरूप कानुनबमोजिम उचित क्षतिपूर्ति दिएर आधुनिक/एकीकृत बस्तीमा सारिने प्रस्तावमा उल्लेख छ।

निकुञ्जका पूर्वचिफ वार्डेन कमलजंग कुवँरका अनुसार ती बस्ती मध्यवर्ती क्षेत्रबाट तल सार्दा पानीको स्रोत थप व्यवस्थित हुनुका साथै जलाधार र जैविक विविधता संरक्षणमा पनि सहयोग पुग्नेछ। ‘सुरक्षित र सुविधायुक्त स्थानमा सारिने भएकाले स्थानीयलाई पनि फाइदा पुग्नेछ,’ उनले भने।

समितिले पेस गरेको प्रतिवेदनअनुसार चारै बस्तीमा कच्ची मोटरबाटोले छोएका जग्गाको प्रतिआना १ लाख ५० हजार र गोरेटो बाटो भएकामा आनाको ५० हजार रुपैयाँ क्षतिपूर्ति दिइने छ। यसअनुसार निजी जग्गाको क्षतिपूर्ति दिन २ अर्ब ३५ करोड ३६ लाख रुपैयाँ आवश्यक पर्छ। नगदै दिने कि सट्टाभर्नामा जग्गा नै दिने भन्ने टुंगो मन्त्रिपरिषद्ले लगाउनेछ।

प्रकाशित : माघ २२, २०७५ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटमा गाडी दुर्घटना, चालकको मृत्यु, ५ घाइते

कृष्ण थापा

नुवाकोट — पञ्चकन्या गाउँपालिका ४ थप्रेकमा गाडी दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।बा ३ च ५७११ नम्बरको गाडी तादी गाउँपालिका सातविसेबाट आरुखर्क जाने क्रममा थप्रेकमा मंगलबार साँझ ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए ।

घटनास्थलमा मृत्यु भएका चालक सर्लाहीका २४ वर्षीय सुमन बुढाथोकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुईजना गम्भीर र तीन जना सामान्य घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि काठमाडौं लगिएको छ ।

प्रकाशित : माघ २२, २०७५ १९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्