कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केसीसँग वार्ता गर्न नेकपा ‘सकारात्मक’

काठमाडौँ — चिकित्सा शिक्षा विधेयक दुवै सदनबाट पारित भएपछि सत्तारूढ दल नेकपा आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सकारात्मक देखिएको छ ।

केसीसँग वार्ता गर्न नेकपा ‘सकारात्मक’

१५ औं अनशनका बेला सम्झौता प्रक्रियामा संलग्न नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले केसीका धेरै माग चिकित्सा शिक्षा विधेयकले सम्बोधन गरेकाले बाँकी विषयमा छलफलबाट अघि बढ्न चाहेको बताए ।


‘९५ प्रतिशत माग विधेयकले सम्बोधन गरेको छ, त्यसलाई कार्यान्वयन गर्न उहाँले पनि सहयोग गर्नुपर्छ,’ नेम्वाङले कान्तिपुरसँग भने, ‘बाँकी केही विषय छन् भने छलफल र वार्ताका क्रममा सहमति खोज्न सकिन्छ । हामी छलफलमा बस्न तयार छौं ।’ १५ औं अनशनका बेला सहमति गर्दा चिकित्सा शिक्षासम्बन्धी कानुन संसद्को प्रक्रियाबाट टुंग्याउने सहमति भएको र अहिले त्यही सहमतिअनुसार विधेयक पारित भएको उनले बताए ।


‘संसदीय प्रक्रियाबाट कानुनसम्बन्धी माग सम्बोधन गर्ने प्रतिबद्धता थियो, त्यसैअनुसार हाम्रो दलका प्रमुख सचेतक देव गुरुङले विधेयकमा संशोधन हाल्नुभयो, उपसमितिमा छलफल भयो र डा. केसीसहितका व्यक्तिसँग व्यापक छलफल भयो,’ उनले भने, ‘त्यसैको निष्कर्षका आधारमा ९५ प्रतिशत केसीले भनेकै कुरा समेटिए, केही कुरा हामीले पनि उपयुक्त ठान्यौं ।’


हासिल भएका उपलब्धिलाई कार्यान्वयन गर्न केसीले सहयोग गर्नुपर्ने उनले बताए । केसीलगायतकै ठूलो प्रयासमा चिकित्सा शिक्षासम्बन्धी कानुन तयार भएकाले यसलाई उपलब्धि ठानेर छलफलमा बस्नुपर्ने नेम्वाङको धारणा छ ।


प्रकाशित : माघ १८, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?