दशकयताकै बाक्लो हिमपात

हिमपातले दैनिक जनजीवन प्रभावित भए पनि बाली सप्रने आसले किसान हर्षित छन्
हिउँले राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका थिए । सबैजसो कार्यालय र विद्यालय बन्द छन् ।
प्रदेश ब्युरो

धनगढी — सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार रातिदेखि बाक्लो हिमपात भएको छ । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी र दार्चुलाका उच्च लेकाली भेकमा हिमपात भएको छ । तराईका जिल्लामा भने वर्षा भएपछि किसान खुसी भएका छन् ।

भीमदत्त राजमार्गअन्तर्गत डडेलधुरा र बैतडीको सिमाना अनारखोलीमा मंगलबार हिउँमा फसेका सवारीसाधन ।तस्विर : डीआर पन्त/कान्तिपुर

दार्चुलामा व्यास र अपिहिमाल गाउँपालिकाका सबै क्षेत्र बाक्लो हिमपातले मंगलबार सेताम्मे भए । व्यासका व्यास, छाङरु, तिंकर, राप्ला, दुम्लिङ, सुन्सेरा, धौलाकोट, हुती, दुहु गाउँपालिकाका विभिन्न उच्च भागमा पनि हिमपात भएको सुन्सेराका मानसिंह कुँवरले जानकारी दिए ।

अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी, घुसा, मार्मा गाउँपालिकाको घोल्जर ताकु, सितोला सेरीको उच्च भूभागमा बाक्लो हिमपात भएको खण्डेश्वरीका लोकेन्द्रसिंह लोथ्यालले बताए । यससँगै नौगाडको इयरकोट, सिप्टी, दल्लेक, मालिकार्जुनको बालशिखर, न्वालपानी, ऐरिछाना, शिखरलगायत विभिन्न उच्च भूभागमा हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डडेलधुराका उच्च लेकाली भेगमा एक दशकपछि बाक्लो हिमपात भएको छ । सोमबार रातिदेखि डडेलधुरा र बैतडीका उच्च भेगमा भएको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातले भीमदत्त राजमार्गका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको छ । डडेलधुरा र डोटी सिमानाको हगुल्टे लेक, डडेलधुराको भात्काँडा, मेलखर्क, अनार खोली र बैतडीको खोड्पे, सतबाँझ लगायतका क्षेत्रमा भएको बाक्लो हिमपातका कारण यातायात प्रभावित भएको व्यवसायीले जानकारी दिएका छन् । महाकाली यातायात डडेलधुराका प्रमुख वीरबहादुर देउवाले भने, ‘भीमदत्त राजमार्गको हगुल्टेमा भएको हिमपातले रातिदेखि नै यातायात प्रभावित भएको छ ।’

हिमपातका कारण हिउँदे बाली सप्रिने भएकाले कृषकहरू भने खुसी छन् । लेकाली क्षेत्रमा हुने आलु खेतीका लागि हिमपातले फाइदा गर्छ । ‘जनजीवन प्रभावित भए पनि खेतीपातीका लागि राम्रो भएको छ,’ भागेश्वरका कृषक धर्मराज पाण्डेयले भने, ‘पछिल्लो दशकमा भएको यो सबैभन्दा ठूलो हिमपात हो ।’

बझाङमा भएको हिमपातले सडक यातायात अवरुद्ध भएको छ । यात्रु बाटोमा फसिरहेका र चिसोले उनीहरूलाई समस्या भएको छ । धनगढी र महेन्द्रनगरलाई पहाडी जिल्लासँग जोड्ने राजमार्गको फल्डुडे, साहुखर्क, डडेलधुरा, अनारखोली, भातकाँडा, खोड्पे, श्रीभावर, बजपानी, बित्थड, देउलेकलगायत ठाउँमा यातायातका साधनहरू फसिरहेका छन् । यात्रुहरू अलपत्र परेका छन् ।

‘१५ घण्टादेखि हिउँमा फसिरहेका छौं,’ बैतडीको नाचन्थली क्षेत्रमा फसेका धर्म रोकायाले फोनमा भने, ‘गाडीहरू अगाडि बढाउन र पछाडि फर्काउन पनि सकिएको छैन । नजिकै खानेकुरा पाउने पसल पनि छैन । भोक र चिसोले समस्या भएको छ ।’ उनले केटाकेटी र वृद्धवृद्धालाई बढी समस्या भएको बताए । यस क्षेत्रमा करिब २ फिटसम्म हिउँ जमेको छ । जिल्ला प्रशासन कार्यालय बझाङ र बैतडीले पनि सडक खोल्न प्रयास गरिरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरका अनुसार सडक डिभिजन कार्यालय बैतडीबाट गएका केही डोजरले अनारखोली क्षेत्रका सडकमा हिउँ पन्छाइरहेका छन् ।

घरबाहिर निस्कनै मुस्किल
हिमपातले बझाङ र बैतडीमा लेकाली भेगको जनजीवन प्रभावित भएको छ । बझाङमा साबिकका दहबगर, भैरवनाथ, पीपलकोट, ब्यासी, कफलसेरी, धमेना, कैलाश काँडा, दौलीचौर, सुर्मा, लेकगाउँ, मौलाली, सैनपसेला, भामचौर, स्याडी, देउलेक मष्टा, भातेखोला, रिलु, मेलबिसौना, दाँतोलामा हिउँ जमेपछि दैनिक कामकाज गर्न अप्ठयारो भएको स्थानीयले बताएका छन् ।

यहाँका १३० बढी विद्यालय र दर्जनौं सरकारी कार्यालय बन्द छन् । चिसोले सर्वसाधारण घरबाहिर निस्कन सकिरहेका छैनन् । ‘पशुबस्तुलाई आहारा जुटाउन निकै गाह्रो भइरहेको छ,’ कैलाश गाउँपालिकाका कृष्ण कामीले भने, ‘चरन क्षेत्र बाक्लो हिमपातले ढाकिएका छन् । जंगलबाट घाँस दाउरा गर्न सकिने अवस्था छैन ।’

रेडियो बन्द
हिमपातका कारण बझाङमा सञ्चालित ६ रेडियोले प्रसारण सेवा बन्द गरेका छन् । रेडियोलाई ऊर्जा आपूर्ति गर्ने सोलार स्टेसनलाई हिउँले ढाकेपछि प्रसारण बन्द गर्नुपरेको रेडियो सेतीका प्रबन्धक रमेश केसीले जानकारी दिए ।

पश्चिम तराईमा वर्षा
पश्चिम तराईमा लामो समयपछि वर्षा भएको छ । कैलाली र कञ्चनपुरमा सोमबार रातिदेखि वर्षा भएको हो । आकाशे पानीका भरमा खेतीपाती गर्ने किसानलाई हिउँदे वर्षाले खुसी बनाएको छ । गहुँ तथा अन्य खेतीमा सिँचाइ गर्न नपाएका कृषकले वर्षापछि राहत महसुस गरेका छन् । सिँचाइ सुविधा भएका ठाउँमा पनि आकाशे पानीले बाली सप्रिने र उत्पादन वृद्धि हुने कृषकहरू बताउँछन् ।

कञ्चनपुरमा करिब ३० हजार हेक्टरमा गहुँ खेती गरिन्छ । महाकाली सिँचाइ आयोजनाको नहर गहुँमा सिँचाइ गर्ने बेलामै बन्द हुँदा धेरै कृषकले सिँचाइ गर्न पाएका थिएनन् । यसैगरी युरिया मलको अभावले समेत कृषकहरू चिन्तित थिए । ‘ढिलै भए पनि अहिलेको वर्षाले सबै खेतीलाई फाइदा हुन्छ,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका वरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले भने, ‘सिँचाइ भएको र नभएको दुवै ठाउँमै यसले राम्रै फाइदा गर्छ, गहुँ खेतीलाई अहिले पानी चाहिएको थियो ।’ उनका अनुसार मसुरोलगायत दाल र तरकारी खेतीलाई पनि अहिलेको वर्षाले राहत पुग्नेछ ।

डोटीका लेकाली भेकमा हिमपात भएको छ । अन्य क्षेत्रमा झरी परेको छ । खरेडीले बाली बिग्रने चिन्तामा रहेका किसानहरूलाई मंगलबार रातिबाट परेको झरीले राहत भएको छ । मुर्झाउन लागेको गहुँ बालीमा झरीले सहयोग पुग्ने भन्दै किसानहरू खुसी भएका छन् । ‘आकाशे पानीमा निर्भर रहेका किसानका पाखो खेतका गहुँ बाली खडेरीका कारण ओइलाउन थालेका थिए,’ केआईसिंह ५, जमलकट्टेका नवराज जोशीले भने, ‘गहुँ बाली नष्ट हुन्छ कि भन्ने डर थियो, ढिलै भए पनि मंगलबारको झरीले केही आशा पलाएको छ ।’

यो वर्ष हिउँदमा पानी नपर्दा माटो फुकेको, जमिन फाट्न लागेको दुखेसो किसानहरूले गर्दै आएका थिए । ‘आकाशे पानी गहुँ बालीका लागि मलिलो हुन्छ, हिउँदमा पानी पर्दा किसान खुसी हुन्थे,’ कृषि उपसमिति संयोजक रामचन्द्र राणाले भने, ‘पुस मध्यसम्म पनि पानी परिदिएको भए गहुँ फस्टाउँथ्यो, मंगलबार ढिलो गरी झरी परेको भए पनि केही राहत भने अवश्य हुनेछ ।’

प्रकाशित : माघ ९, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री ओलीले डाबाेसमा भने– ‘नेपालले प्रतीक्षा गर्ने अवस्था छैन’

रासस

डावोस, स्विट्जरल्यान्ड — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सामाजिक, आर्थिक रूपान्तरणका निम्ति वर्तमान सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार स्विट्जरल्यान्डको डावोसमा आयोजित विश्व आर्थिक मञ्चको ‘दक्षिण एसियामा रणनीतिक परिदृश्य’ विषयक कार्यक्रममा । तस्बिर सौजन्य : वर्ल्ड इकोनोमिक फोरमको लाइभ फिङ/रासस

विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकअन्तर्गत यहाँ जारी ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ विषयक छलफलमा बोल्दै ओलीले नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँदै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गरे ।

नेपालले सामाजिक र आर्थिक रूपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी दिँदै छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास निर्माणको मार्गमा अग्रसर भएको बताए । नेपालले नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अंगीकार गरी नयाँ संविधानअनुसार नयाँ कानुन बनाइरहेको बताउँदै उनले संविधान कार्यान्वयनका निम्ति संरचनागत परिवर्तन गरिरहेको उल्लेख गरे । ‘नेपालले अब विकासका लागि धेरै प्रतीक्षा गर्न सक्ने अवस्था छैन,’ उनले भने ।

‘समृद्ध नेपाल तथा सुखी नेपाली’ को लक्ष्य साकार पार्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथा सुशासनमा केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपाली जनताका विकासका आकांक्षा कार्यान्वयन गर्न ध्यान केन्द्रित गरेको बताए । नेपालले नयाँ नीतिका साथ आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार गरिरहेको उनले उल्लेख गरे ।

महिला सशक्तीकरण, न्याय तथा समानता, सामाजिक न्यायको प्रवद्र्धनसँगै समाजका सबै क्षेत्रमा सुधार गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले मानव सूचकांकका दृष्टिले पछि परेका समाजको उन्नयनलाई महत्त्वका साथ अघि बढाएको बताए ।

उनले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको बताए । क्षेत्रीय सहयोग अभिवृद्धिका निम्ति इमानदारी, निष्ठा र विश्वास अपरिहार्य भएकामा जोड दिँदै ओलीले आपसी असमझदारी हटाउँदै क्षेत्रीय सहयोग र व्यापार विस्तारमा नेपालले सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको तथा त्यसका लागि लगानी मैत्री, ऐन–कानुन जारी भएको बताउँदै अन्तर्राष्ट्रिय लगानीका निम्ति प्रधानमन्त्रीले आहवान गरे ।

नेपालले दक्षिण तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) सँग व्यापार तथा अन्य सम्बन्ध कायम गरेर क्षेत्रीय व्यापार प्रवद्र्धनलाई उच्च महत्त्वका साथ कार्यान्वयन गरिरहेको जानकारी दिँदै उनले हालै नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेको स्पष्ट पारे । उनले क्षेत्रीय साझेदारी र समझदारी विकासमा पनि नेपालले उत्तिकै महत्त्व दिएको उल्लेख गरे ।

देशको आर्थिक विकासमा सार्वजनिक–निजी साझेदारी महत्त्वपूर्ण हुने वास्तविकतालाई दृष्टिगत गरी सरकारले दुवै क्षेत्रलाई उच्च महत्त्व दिएको प्रधानमन्त्रीले बताए । रोजगारीको खोजीमा विदेशिएका युवालाई स्वदेश फर्काउन आफ्नो सरकारले भरमग्दुर प्रयास गरिरहेको बताउँदै ओलीले उनीहरूको सीपको उपयोग गर्न चाहेको उल्लेख गरे ।

उनले पारदर्शिताको सुनिश्चितता, विधिको शासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण आफ्नो सरकारको मुख्य प्राथमिकता भएको बताए । उक्त छलफलमा भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रघुराम जी राजन, नर्वेका सिग्भी ब्रेक्के, अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले भाग लिएका थिए । आगामी शुक्रबार सकिने विश्व आर्थिक मञ्चको बैठकको मूल विषय ‘भूमण्डलीकरण : ४.० चौथो औद्योगिक क्रान्तिको युगमा विश्वव्यापी संरचनाका रूपरेखा निर्माण’ छ ।

प्रकाशित : माघ ९, २०७५ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्