प्रधानमन्त्रीद्वारा सम्पदा पुनःनिर्माणको अवलोकन

रासस

ललितपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

२१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनःनिर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस स्थानको भ्रमण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ललितपुरमा रहेका स्मारकको पुनःनिर्माण सन्तोषजनक रुपमा अघि बढेको बताए । पुनःनिर्माण चाँडो सम्पन्न गर्नका लागि सबै दत्तचित्त भएर लाग्नुपर्नेमा उनको जोड छ ।

सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रको पुनःनिर्माणलाई प्राथमिकता दिइरहेको बताउँदै काठमाडौँ उपत्यकाका अघि बढ्न नसकेका स्मारकको पुनःनिर्माण चाँडो सुरु गर्ने उनले प्रतिबद्धता जनाए ।

उनले भने,“पुनःनिर्माणलाई गति दिनका लागि जनप्रतिनिधि, स्थानीय तह, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जनता सबैको भूमिका छ ।”

विश्वसम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा रहेका स्मारक र पुनःनिर्माणको अवस्थाका बारेमा नगरप्रमुख महर्जनले प्रधानमन्त्री ओलीलाई जानकारी दिए । गृहमन्त्री अध्यक्ष हुने ‘२१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति’ को व्यवस्थापन उपसमितिको संयोजक ललितपुर महानगरपालिकाका प्रमुख महर्जन रहेका छन् ।

सरकारले वर्षेनी माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा सचेतनामूलक कार्यक्रम गरेर मनाउँदै आएको छ ।

तस्बिरहरुः इलिट जोशी/कान्तिपुर

प्रकाशित : माघ २, २०७५ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्

माघी उल्लास [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — लोप हुँदै गएको थारू संस्कृति र कला जोगाउन यहाँ थारु महोत्सव गरिएको छ । थारू कल्याणकारणीसभाले संयोजन गरेर जिल्लास्तरीय ३ दिने महोत्सव शिवराज नगरपालिका चन्द्रौटामा आयोजना गरेको हो । माघ २ गते बुधबारबाट सुरु भएको महोत्सव ४ गतेसम्म सञ्चालन हुनेछ ।

माघ १ लाई थारू समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । त्यसैले नयाँ वर्षको उमंग र उत्साहमा रमाउँदै जातीय परम्परा, कला र संस्कृतिको जगेर्ना गर्न महोत्सवमा रूपान्तरण गरिएको थारू कल्याणकारी सभा अध्यक्ष उमाशंकर चौधरीले बताए । महोत्सव थारू कला, संस्कृति र परिकारका ५० स्टल राखिएका छन् । चन्द्रौटा बजारबाट नाचगान गर्दै थारु पोसाक, परम्परामा झाँकी निकालिएको थियो ।

प्रकाशित : माघ २, २०७५ १७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्