कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्पका मिथक

काठमाडौँ — भूकम्प प्राकृतिक प्रकोप हो भन्ने मान्छेले धेरै पछि बुझे । पहिले यसलाई धार्मिक पृष्ठभूमिमा व्याख्या गरिन्थ्यो । देउता रिसाएर भूकम्प आउँछ भन्ने विश्वास थियो । जापानीहरू जमिनमुनि बस्ने ठूलो माछा (नमजु) का कारण भूकम्प आउँछ भन्ठान्थे । सन् १८५५ को महाभूकम्पपछि स्थानीयले नमजुलाई लौराले हान्दै गरेको चित्र अझै पनि अनलाइनतिर पाइन्छ ।

भूकम्पका मिथक

भारत र चीनमा पनि भूकम्पलाई लिएर अनेक मिथक छन् । यो क्षेत्रका लोककथाअनुसार पृथ्वी कछुवाको डाढमा अवस्थित छ । यसलाई दुई छेउमा हात्ती र ब्वाँसोले आड दिएका छन् भने पृथ्वीको माथिपट्टि कोब्रा (सर्प) बसेको छ । कथाअनुसार यी जनावर थोरै हलचल गर्नासाथ जमिनमा भूकम्प जान्छ । ग्रिक किंवदन्तीमा चाहिँ समुद्रका देवताले बल्छी हल्लाउँदा जमिनमा कम्पन आउने मानिन्थ्यो ।


सन् १७५५ मा पोर्चुगलमा गएको महाभूकम्पपश्चात् यी सबै जनविश्वास तोडिँदै गए । त्यो बेला ६० हजार मानिसको मृत्यु भएको थियो । द ग्रेट लिस्बन नाम दिइएको उक्त भूकम्प र त्यसपछिको समुद्री आँधीले मान्छेलाई प्रकोपका वैज्ञानिक पाटोमाथि अध्ययन गर्न उक्साएको थियो । यसलाई गैरधार्मिक कोणबाट व्याख्या गर्न थालियो । सोही घटनाले भूकम्पको वैज्ञानिक विश्लेषण सुरुवात गरेको बताइन्छ ।


ज्वालामुखी विस्फोट, उल्कापात आदिका कारण वा जमिनमुनि हुने प्लेटहरूको हलचलका कारण भूकम्प जानेको गरेको छ । पृथ्वीको सतहमा २० वटा निरन्तर चलायमान प्लेट हुन्छन् । तिनको हलचलले दबाब सिर्जना हुन्छ । त्यो शक्ति (इनर्जी) निवारण गर्दा जमिनमा कम्पन आउने भूगर्भशास्त्रीहरूले बताएका छन् । २०७२ वैशाख १२ मा युरेसियन र इन्डियन प्लेटको घर्षणका कारण नेपालमा भूकम्प गएको बताइएको थियो ।


पर्याप्त वैज्ञानिक अध्ययनपछि पनि यो प्रकोपलाई लिएर मानिसहरूमा अनेकखाले भ्रम छँदै छन् । अमेरिकामा मान्छेहरू भूकम्पका कारण क्यालिफोर्निया सहर समुद्रमा विलय हुने ठान्छन् । वैज्ञानिकले भने यो सम्भव नभएको बताइसकेका छन् । भूकम्पले जमिन चिरा पारेको ठाउँ खुलेर सर्लक्कै सहर निल्छ भन्ने भ्रम पनि छ । यो हास्यास्पद भएको विभिन्न अध्ययनले देखाएका छन् ।


भूकम्पलाई लिएर हामीकहाँ पनि अनेक अफवाह छन् । यो बेला काग उड्छ, जनावरलाई पूर्वसूचना मिल्छ भन्नेखालका हल्ला २०७२ सालको प्रकोपका बेला सुन्नमा आएका थिए । तिनको कुनै वैज्ञानिक आधार नभएको विज्ञले अवगत गराए । यस्ता भ्रमले समाजले डर सिर्जना गर्ने उनीहरूको भनाइ थियो ।


भूकम्पबारे वैज्ञानिक अध्ययन हुनुअघि ग्रिक दार्शनिक अरस्तुले पृथ्वीको वायुका कारण जमिनमा कम्पन आउने बताएका थिए । उनैले अर्थक्वेक वेदर (भूकम्पको मौसम) को अवधारणा ल्याएका थिए । आधुनिक विज्ञानले यसलाई अफवाह मानेको छ । वैज्ञानिक आइज्याक न्युटनले चाहिँ जमिनमुनिका प्रज्वलनशील पदार्थको विस्फोटका कारण भूकम्प जाने बताएका थिए । अमेरिकी स्ट्रक्चरल इन्जिनियर जोन ब्लुमलाई अर्थक्वेक इन्जिनियरिङका पिता मानिन्छ ।


सन् १९२५ मा सान्टा बारबारा भन्ने ठाउँमा भूकम्प गएपछि बुलमले यसबारे अध्ययन गरेका थिए । भूकम्पको अध्ययन र मापनका लागि विश्वभर विभिन्न संस्था बनेका छन् । सन् १९६६ मा अमेरिकामा स्थापना भएको नेसनल अर्थक्वेक इन्फर्मेसन सेन्टरले हरेक दिन कुन ठाउँमा कति म्याग्निच्युडको भूकम्प गयो भनेर मापन गर्छ ।


सेन्टरका अनुसार हरेक दिन विश्वमा करिब ५० वटा भूकम्प जाने गरेका छन् । वर्षको १२ हजारदेखि १४ हजार वटा भूकम्प जाने गरेका छन् । लाइभ साइन्स डटकमका अनुसार तेल उत्खनन गर्दा सानोतिनो झट्का जान्छ तर मान्छेले खासै महसुस गर्न सक्दैनन् । सन् १९६० मे २२ मा हालसम्मकै ठूलो रेक्टर स्केलको भूकम्प गएको थियो । ९.५ म्याग्निच्युडको उक्त भूकम्पले चिलीमा पाँच हजार जनाको ज्यान लिएको थियो भने करिब २० लाख घरबारविहीन भएका थिए ।

– एजेन्सीको सहयोगमा सजना बरालको प्रस्तुति


प्रकाशित : माघ २, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?