कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वकीय सचिवको तलब अब बैंकबाट मात्रै

बैंक खाता नबुझाउनेको तलबभत्ता रोक्ने सचिवालयको तयारी 
मकर श्रेष्ठ

काठमाडौँ — संघीय संसद् सचिवालयले सांसद र पदाधिकारीका स्वकीय सचिवको तलबभत्ता बैंकमार्फत पठाउने प्रक्रिया सुरु गरेको छ । सांसद र पदाधिकारीले स्वकीय सचिव र कर्मचारीको तलबसमेत आफैं लिन थालेपछि सचिवालयले बैंक खातामा पठाउन लागेको हो ।

स्वकीय सचिवको तलब अब बैंकबाट मात्रै

तलब बैंकबाट भुक्तानी हुने व्यवस्था भएपछि अब स्वकीय सचिवहरू सरकारले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमबाट समेत लाभान्वित हुनेछन् ।


सचिवालयले २०४८ देखि नै स्वकीय सचिवको तलबभत्ता सांसदको बैंक खातामा पठाउँदै आएको थियो । स्वकीयको तलबभत्ता सांसदले लिने गरेको समाचार कान्तिपुरमा छापिएपछि सचिवालयले उनीहरूकै बैंक खातामा पठाउने प्रक्रिया सुरु गरेको हो ।


सचिवालयले स्वकीय सचिव र कर्मचारीको बैंक खाता खोलेर त्यसको जानकारी दिन मोबाइलमा म्यासेज पठाएको छ । सचिवालयका अनुसार मंगलबार अपराह्नसम्म ६० स्वकीय सचिवले बैंक खातासहित व्यक्तिगत विवरण बुझाएका छन् । ‘बैंक खाता नबुझाउने स्वकीय सचिवको तलबभत्ता नै रोक्न लागेका छौं,’ सचिवालयका प्रवक्ता रोजनाथ पाण्डले भने, ‘खाता खोलेपछि मात्रै तलब उपलब्ध गराउँछौं ।’


संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको अनुसूची २ मा स्वकीय सचिवको तलबभत्ता बैंकमार्फत पठाउनुपर्ने व्यवस्था छ । सचिवालयले ऐनविपरीत सांसद र पदाधिकारीको खातामा पठाउने गरेको थियो । संसदीय समितिका केही सभापति र २४ सांसदले आफ्ना स्वकीय नै नराखी उनीहरूको तलब आफैं लिने गरेका थिए । धेरैजसो सांसदले आफन्तलाई स्वकीय सचिव राखेका छन् ।


सचिवालयले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ताबापत मासिक १ करोड १७ लाख ४६ हजार २ सय ६९ रुपैयाँ भुक्तानी गरिरहेको छ ।


संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको खातामा मात्रै मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जनही जम्मा गरिदिने गरेको छ । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, उपसभामुख शिवमाया तुम्बाहाम्फे र उपाध्यक्ष शशिकला दाहालले निजी सचिवालयका कर्मचारीको पारिश्रमिक मासिक १ लाख २६ हजार ८ सय ६० रुपैयाँ बुझ्ने गरेका छन् ।


प्रतिनिधिसभाका सत्तारूढ दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, सत्तापक्षका नेता दीनानाथ शर्माले १ लाख १० हजार ६ सय ३० रुपैयाँका दरले निजी सचिवालयका कर्मचारीको तलब बुझ्ने गरेका छन् । प्रतिनिधिसभा विपक्षी दलका सचेतक पुष्पा भुसाल, फोरमका प्रमुख सचेतक उमाशंकर अरगरिया, नेकपाका सचेतक शान्ता चौधरीले ८७ हजार १ सय ३० रुपैयाँका दरले निजी सचिवालयका कर्मचारीको तलबभत्ता बुझ्छन् ।


प्रतिनिधिसभा र राष्ट्रिय सभाका १६ संसदीय समितिका सभापतिले १ लाख २ सय ९० रुपैयाँका दरले कर्मचारीको तलब बुझ्छन् । कतिपय सभापतिले अझै कर्मचारी नराखी उनीहरूको तलब आफैं लिने गरेका छन् । सांसदले भने शाखा अधिकृत तहका स्वकीय सचिवको तलब ३० हजार ५ सय रुपैयाँ बैंकमार्फत आफैं बुझ्ने गरेका छन् ।


केही पदाधिकारी र सांसदले देखावटी स्वकीय सचिव पनि आफन्तलाई राखेका छन् । अधिकांश सांसदले स्वकीय सचिवमा साला, साली, भाइ, श्रीमान्, श्रीमती, बहिनीलाई स्वकीय सचिव बनाएका छन् । ‘यो पनि देखावटी मात्रै हो,’ सचिवालय स्रोतले भन्यो, ‘कागजमा उनीहरूको नाम देखाए पनि कहिल्यै आउँदैनन् । उनीहरूले पाउने तलब सांसदले लिइरहेका छन् ।’


केही सांसदले भने आफ्ना स्वकीय सचिवको तलब बैंकमार्फत नै पठाइदिन आग्रह गर्दै संसद् सचिवालयमा यसअघि नै निवदन दिएका थिए । नेकपाका सांसद विन्दा पाण्डे र खगराज अधिकारीले आफ्ना स्वकीय सचिवको बैंक खातामा तलब पठाइदिन पुस ९ गते नै संसद् सचिवालयमा निवेदन दिएका थिए ।


‘निवेदन दिए पनि मेरो स्वकीयको तलब बैंक खातामा पठाएको छैन,’ सांसद अधिकारीले भने, ‘स्वकीयको तलब बैंकमार्फत पठाउन सुरु गरे सामाजिक सुरक्षा कार्यक्रमबाट लाभान्वित गराउन सकिन्थ्यो ।’ संसद्को तेस्रो अधिवेशन सुरु हुने अघिल्लो दिन कार्यव्यवस्थाको बैठकमा समेत अधिकारीले स्वकीयको तलब बैंकमार्फत पठाउनुपर्ने माग राखेका थिए ।

प्रकाशित : पुस २५, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?