कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

स्काउट 'ज्याम्बोरी’ सकियो

विमल खतिवडा

चितवन — ६ दिनअघि सुरु नेपाल स्काउटको दोस्रो ज्याम्बोरी -भेला) सोमबार सकिएको छ । २६ वर्षपछि आयोजना गरिएको भेला शान्ति र सद्भाव कामना गर्दै समापन गरिएको हो ।

नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले समापनमा बोल्दै ज्याम्बोरीबाट देशमा शान्ति र सद्भाव कायम हुने आशा लिएको बताए ।
'स्काउटले विकासका लागि योग्य नागरिक बनाउनुपर्छ,' पौडेलले भने, 'राष्ट्रिय स्वयंसेवक अभियानको मुख्य उद्देश्य स्काउटसँग मिल्दोजुल्दो छ, त्यसैले सहभागिताका लागि अनुरोध गर्दछु,' उनले विद्यार्थीलाई किताबी कुरा सिकाएरमात्र नहुने भएकाले स्काउटले जस्तै जीवनोपयोगी ज्ञान पनि सिकाउन खाँचो रहेको बताए । टिकौली चौरमा आयोजना भेलामा चार सयभन्दा बढी पाल टाँगेर स्काउटलाई राखिएको थियो ।
'ज्याम्बोरीको उद्देश्य शान्ति र सद्भाव हो,' स्काउट प्रमुख आयुक्त श्रीराम लामिछानेले भने, 'त्यसैले हामीले आशा गरेका छौं, भेलाले देशमा शान्ति सद्भाव कायम गराउनेछ ।' उनले भेला सोचेभन्दा राम्रो भएको बताए । समापनमा चितवन स्काउटका बालबालिकाले विवाह, छठ, दसैं, तिज, इदजस्ता विभिन्न समुदायले मनाउने चाडपर्वबारे गीतमार्फत प्रस्तुत गरे । ६ दिनसम्म चलेको कार्यक्रममा विभिन्न जिल्ला तथा विदेशबाट आएका स्काउटले सांस्कृतिक कार्यक्रममार्फत रमाइलो गरे । 'यो बेला हावाहुरी चल्ने समय हो,' आयुक्त लामिछानेले भने, 'प्रकृतिले समेत साथ दियो, हामीले केही समस्या झेल्नु परेन ।' उनले विद्यार्थीको वाषिर्क परीक्षापछिको समयलाई सदुपयोग गर्दै आयोजना गरिएको ज्याम्बोरीबाट बालबालिकाले फुर्सदिलो भएर धेरै कुरा सिक्ने अवसर पाएको र उक्त कुरा व्यवहारमा लागू गरी अभिभावकलाई समेत जानकारी गराउने बताए ।'
भेलामा विभिन्न ८ देशको सहभागिता थियो । त्यस्तै नेपालका ५१ जिल्लाका स्काउट सहभागी थिए । विदेशमा अमेरिका, जापान, लक्जेम्बरबाट १/१ जना, मलेसियाबाट २०, फिनल्यान्डबाट ३२, बंगलादेशबाट ९१, भारतबाट २ सय २२, पाकिस्तानबाट ६ जनाको सहभागिता थियो । नेपालका ५ हजार ८७ र विदेशका ३ सय ३८ स्काउटको सहभागिता रह्यो ।





प्रकाशित : वैशाख ३, २०७० १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?