१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

टावर दिनमा बन्द, रातमा सञ्चालन

मेल्छाम, हुम्ला — दक्षिणी भेगका आधा दर्जन गाविसका बासिन्दालाई सञ्चार सुविधा उपलब्ध गराउन नेपाल टेलिकमले स्थापना गरेको नमस्ते मोबाइलको टावर रातमा मात्रै सञ्चालनमा आउने गरेको छ ।



सदरमुकामदेखि ३९ कोस दक्षिण मेल्छाम गाविसको मासिधारामा रहेको टावर दिनभरि बन्द हुने र घाम डुबिसकेपछि मात्रै सञ्चालनमा आउँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् । स्थानीय बासिन्दाका अनुसार घाम नलागुन्जेल सञ्चालनमा आउँछ तर घाम लागेपछि टावर जान्छ र टेलिफोन बन्द हुने गरेको छ । 'घाम नलाग्दासम्म चल्छ । टावरमा घाम लागेपछि बन्द भएर घाम डुबेपछि मात्रै पुन सञ्चालन हुने गरेको छ,' श्रीमस्टा गाविसको पिप्लाङ निवासी कर्णबहादुर शाहीले भने, 'दिनभरि नै टेलिफोनबाट वञ्चित हुने गरेका छौं ।'
सञ्चारको काम दिनमै पर्छ । दिउँसो नमस्ते बन्द भएपछि स्थानीय बासिन्दाले असुविधा भोग्दै आएका छन् । यो टावरले दक्षिणका मिमी, दार्म, श्रीमस्टा, मेल्छाम, जैर गोठी गाविसका बासिन्दालाई सुविधा पुर्‍याएको थियो । नेपाल टेलिकमले यो समस्यामा ध्यान दिएको छैन । यहाँको टावरले दिनमा काम नगर्ने भएकाले दिनको समयमा स्थानीयले मोबाइलको स्विच अफ गर्ने गरेका छन् ।
टेलिकमभन्दा पनि हलोको टावरले राम्रोसँग काम गर्ने गरेको स्थानीयले बताए । नमस्तेको टेलिफोन दिनमा बन्द हुने भएकाले दिनमा हलोको सिम चलाउने र बेलुका टावर आएपछि मात्रै नमस्तेको सिम चलाउने गरेको मेल्छाम गाउँ निवासी गोविन्दबहादुर शाहीले बताए । 'कतै सम्पर्क गर्नु छ भने बिहान र बेलुकाको समय कुर्नुपर्छ,' रामशाह प्राविका प्रधानाध्यापक असर्फी मण्डलले भने, 'प्रायःजसो काम दिउँसो पर्ने भएकाले पनि समस्या नै छ ।'
 

प्रकाशित : पुस १६, २०७० ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?