तीन वर्षदेखि बाँधिएर खोरमा

कान्तिपुर संवाददाता

पाँचथर — लामो समयदेखि मानसिक रोगले सताएपछि माङजाबुङ ७ का २३ वर्षीय कृष्ण कुँवरले तीन वर्षयता खोरमा जीवन बिताउन बाध्य हुनुपरेको छ ।

मानसिक रोगका कारण मुर्छा परेर लड्ने भएकाले घाउचोट लाग्न थालेपछि परिवारले उनलाई उपचारको सट्टा तीन वर्षदेखि दाम्लोले बाँधेर खोरमा राखेका हुन् । सानैदेखि काम्ने, बर्बराउने र मुर्छा पर्नेजस्ता लक्षण देखिएपछि उनको परिवार धामीझाँक्रीको भर पर्दै आएको थियो ।
गाउँको विद्यालयमा तीन कक्षा पढ्दै गर्दा नै कृष्णलाई त्यस प्रकारको रोग देखिएको हो । अशिक्षित कुँवर परिवारले लक्षण देखिएपछि उनलाई केही वर्षअघिसम्म धामी लगाउँदै बसेको हो । धामीको भरमा उपचार सम्भव नभएपछि हात र खुट्टा बाँधेर खोरमा राखिएको छ । 'निको होला भनेर १० वटा बोका र कैयन् काला भाले चढायौं,' कृष्णका बुबा दलबहादुरले कान्तिपुरसित भने, 'उपचार गर्दै ७०/८० हजार सकियो ।' गाउँका जान्नेजतिलाई लगाउँदा पनि केही नभएपछि केही वर्षदेखि देखाउन छोडेको उनले बताए ।
सरकारी कार्यालयको कामले सदरमुकाम आएका दलबहादुरले आफूलाई अब छोराको उपचार होला भन्ने विश्वास नलागेको बताए । 'अब केही गरे पनि उपाय लाग्दैन,' छोराको आश मारिसकेका कृष्णले कान्तिपुरसित भने, 'अब थप उपचार गर्दैनौं ।' सामान्य खेती किसानी गरेर परिवार पाल्दै आएको कुँवर परिवारमा कृष्णको रेखदेखमा एक जना खटिनुपर्ने बाध्यता छ ।
बिरामी रेखदेखमै लाग्नुपर्ने अवस्थ्ाा आएपछि उनलाई खोर बनाएर राख्न थालिएको हो । खाना र पानी त्यही खोरमा दिने गरिएको छ । बिरामीले खोरमा गरेको दिसापिसाब परिवारले फुर्सदमा सोहोर्ने गरेका छन् । सात जनाको परिवारमा तीन छोरी र एक छोरा नजिकको स्कुलमा पढ्छन् ।
 

प्रकाशित : पुस १६, २०७० ११:४५
प्रतिक्रिया
पठाउनुहोस्