शिक्षक अन्तर्वार्ता स्थगनले परीक्षार्थी अन्योलमा

काठमाडौ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि शिक्षक सेवा आयोगले शिक्षकको पदपूर्तिका लागि भएको खुला प्रतियोगितात्मक परीक्षाको अन्तर्वार्ताका कार्यक्रम स्थगित भएपछि परीक्षार्थी अन्योलमा परेका छन् ।



लिखित परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मेदवारले अन्तर्वार्ताको तयारी गरिरहेका बेला यही पुस ११ गतेदेखि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट माध्यमिक तहका शिक्षक पदपूर्तिका लागि अन्तर्वार्ताको समय निर्धारण गरिएको थियो ।  तर एकाएक अन्तर्वार्ता रोकिएको र अर्काे मिति समेत तय नहुँदा परीक्षार्थीहरू अन्योलमा परेका हुन् ।

लिखित परीक्षाको नतिजामा सामाजिक विषयतर्फ माध्यमिक शिक्षकमा उत्तीर्ण हुनुभएका वीरगन्जका सीता देवकोटा अब कहिले अन्तर्वार्ता होला भनेर सञ्चारमाध्यमका समाचार र शिक्षक सेवा आयोगका सूचना पर्खेर बसेको बताउँछिन् । उनको अन्तर्वार्ता यही पुस १७ गते मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौँडामा तोकिएको थियो ।

यता शिक्षक सेवा आयोगले अख्तियारको निर्देशनका कारण हाललाई अन्तर्वार्ता रोकिएको भनी औपचारिकरूपमा सोमबार मात्रै गोरखापत्रमा सूचना प्रकाशन गरेको छ । अख्तियारले छानबिन गरिरहेकाले अब कहिलेदेखि अन्तर्वार्ता हुन्छ भन्नेबारेमा शिक्षक सेवा आयोग पनि स्पष्ट छैन । लिखित परीक्षाको नतिजा प्रकाशनमा अनियमितता भएको उजुरी परेका आधारमा अख्तियारले अन्तर्वार्ता रोक्न बुधबार निर्देशन दिएको थियो ।

    एकाएक अन्तर्वार्ता रोकिएपछि विभिन्न क्षेत्रीय शिक्षा निर्देशनालयमा परीक्षा गराउन खटिएका कर्मचारीहरू काठमाडौँ फर्केका छन् । शिक्षक सेवा आयोगका उपसचिव नारायण ढुङ्गानाले जानकारी अर्काे निर्णय वा सूचना नआउन्जेलसम्म प्रतीक्षामा रहन शिक्षकका प्रतिस्पर्धी उम्मेदवारलाई आग्रह गर्नुभयो ।

कतिपय शिक्षक सङ्घ÷सङ्गठनले परीक्षामा हालसम्म धाँधली भएको नपाइएकाले कुनै खास जिल्ला वा परीक्षार्थीको उजुरीका आधारमा सबै ठाउँमा अन्तर्वार्ता रोक्का नगर्न अख्तियारलाई आग्रह गरेको भए पनि त्यसको सुनुवाइ नभएको गुनासो गरेका छन् । अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष लालबहादुर बिसीले कुनै जिल्ला विशेषमा उजुरी परेका आधारमा देशभरिकै अन्तर्वार्ताका कार्यक्रम रोकिँदा १७ वर्ष पछि खुला भएको शिक्षकको पदपूर्ति कार्य अवरुद्ध भएको बताए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव लक्ष्मण शर्माले पनि अख्तियारको निर्देशनका नाममा सेवा आयोगको अन्तर्वार्ता रोकिएकामा आफूहरू आश्चर्यमा परेको बताए । सेवा आयोगले प्राथमिक तहको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरेको छैन । रासस
 

प्रकाशित : पुस १६, २०७० १२:०३
प्रतिक्रिया
पठाउनुहोस्

पतिले धोका दिएपछि अलपत्र

अन्तर्जातीय विवाहले घर न घाटको बनायो
भीमबहादुर सिंह

जाजरकोट — पतिले धोका दिएपछि एक दलित महिला अलपत्र परेकी छन् । सँगै मर्ने बाँच्ने कसम खाएर १० वर्षअघि अन्तर्जातीय विवाह गरेका पतिले धोका दिएपछि खलंगा ५, पोखराकी जमुना विक चार सन्तानसहित घर न घाटकी भएकी हुन् ।


उनी अबोध लालाबाला साथमा लिएर न्यायको खोजी गर्दै सदरमुकाम आएकी छन् । उनका पति गंगाराम बुढाले ३ महिनाअघि सौता ल्याएपछि अहिले बिचल्लीमा परेको बताउँछिन् । चार छोरीको लालनपालनमा समस्या परेको छ । अन्तर्जातीय विवाहलाई घरपरिवारले स्वीकार नगरेपछि उनीहरू भारतको हिमाञ्चल प्रदेशको किनोर, पांगीमा गएर बस्दै आएका थिए । मजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आएका बुढा परिवारलाई भारतमै छाडेर दसैं मनाउन घर आएका हुन् ।
परिवारसँग दसैं मानेर तिहार मान्न भारत र्फकने सल्लाहमा बुढा यता आएका थिए । बुढालाई घरपरिवारले आफ्नै जातको बिहे गरेर यतै बस्न र भारत नर्फकन दबाब दिएपछि उनले दोस्रो विवाह गरेका हुन् । परिवारले भनेअनुसार उनले चार छोरी र श्रीमतीलाई चटक्कै बिर्सेर रुकुम, गराइलाकी भावना बुढासँग दोस्रो बिहे गरे । आफ्ना पति नफर्किएको र अर्को बिहे गरेको खबर पाएपछि जमुनाका दिन अँध्यारा भए ।
उनी तत्काल आफ्नै जन्मथलो फर्किइन् । तर घर र्फकंदा न पति भेटिन्, न त पाइलै टेक्न पाइन् । जमुना आएको पत्तो पाउनासाथ श्रीमान् दोस्री पत्नी लिएर फरार भए । 'मेरो पति कहाँ हुनुहुन्छ थाहा छैन, कुनै सम्पर्क भएन,' उनले भनिन्, 'भारत हुँदा एकपटक फोन गर्नुभएको थियो । त्यसपछि सम्पर्कमै आउनु भएन ।'
सासूससुराले तल्लो जातको भनेर घरमा बस्न नदिएको उनले सुनाइन् ।
उनीसँग २ वर्षदेखि ८ वर्षका छोरी छन् । जेठी छोरी ३ कक्षामा र माइली छोरी १ कक्षामा पढ्छन् । तर यता पढ्नेसमेत व्यवस्था गर्न नसकेको उनले बताइन् । आफ्नो भन्दा छोरीहरूको चिन्ता लागेको उनी बताउँछिन् ।
'कसरी पढाउने र हुर्काउने भन्ने चिन्ताले सताइरहेको छ,' जमुनाले भनिन् । अहिलेसम्म विवाह दर्ता नगरेकी उनी गाविसमा उजुरी दिन जाँदा श्रीमानले दोस्री श्रीमतीसँग बिहे दर्ता गरेको पाएपछि झनै आपतमा परेकी छन् ।
बुढाले बिहेलगत्तै दर्ता गराएको खलंगा गाविस सचिव शेरबहादुर केसीले बताए । 'पहिलो विवाह भन्ने हामीलाई थाहा भएन । यही नै हो भनेपछि विवाह दर्ता गरेको हो,' केसीले बताए । विवाह दर्ता नहुँदा जमुनालाई श्रीमान्बाट अंश दाबी र कारबाही गराउनसमेत समस्या परेको छ ।
पत्नीको कुटाइबाट गम्भीर
बारा

पत्नीको कुटाइबाट कलैया १२ का विन्देश्वर साह गम्भीर घाइते भएका
छन् । उनको टाउको र हातमा घाउ लागेको छ । घरायसी विवादका कारण पत्नी लालसा देवीले निर्घात कुटेर घाइते बनाएको भन्दै उनी सुरक्षा र पीडक पत्नीलाई कानुनी कारबाही माग गर्दै प्रहरी गुहार्न आएका हुन् । पत्नीको नाममा पुर्खौली सम्पत्ति बेच्न खोजेको पीडितले आरोप लगाएका छन् । पतिलाई पिटेपछि पत्नी बेपत्ता भएकी छन् । घाइते विन्देश्वरको टाउकोमा गम्भीर घाउ लागेको र उनको टाउकोमा कलैया अस्पतालमा उपचार क्रममा नौवटा टाँका लगाएको प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिए ।




 

प्रकाशित : पुस १६, २०७० ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×