रौतहटको फतुवा विजयपुरमा कांग्रेस विजयी   - स्थानीय निर्वाचन २०७४ - कान्तिपुर समाचार

रौतहटको फतुवा विजयपुरमा कांग्रेस विजयी   

शिव पुरी

रौतहट — रौतहटको फतुवा विजयपुर नगरपालिकामा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका उम्मेदवार गोपाल राय यादव निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार विजय यादवलाई १ हजार ४९० मतान्तरले पराजित गर्दै उनी नगर प्रमुखमा पुन: निर्वाचित भएका हुन् । निर्वाचित नगर प्रमुख यादवले ४ हजार ८५१ मत पाए । विजयले ३ हजार ६६१ मत पाए । 

नगर उपप्रमुखमा कांग्रेसकै उम्मेदवार अमवेया खातुन विजयी भएकी छन् । खातुनले निर्वमान नगर उपप्रमुख कान्ति देवीलाई १ हजार ४९४ मतान्तरले पराजित गरिन् । खातुनले ५ हजार १६२ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी कान्तिले ३ हजार ६६८ मत पाइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादीबाट उपप्रमुखमा जितेकी कान्ति एमाले प्रवेश गरेकी हुन् । उनी यस पटक पराजित भइन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ वटा वडाहरु रहेको फतुवा विजयपुर नगरपालिकाको १, ३, ४, ५, ७, ८ र ९ वडाहरुमा कांग्रेसका वडाध्यक्षले जितेका छन् । २, ६ र १० नम्बरमा एमाले र वडा नम्बर ११ मा जसपाले जितेका छन् । १८ वटा नगरपालिका रहेको रौतहटको सबै मतगणना बुधबार साँझ सकिएको निर्वाचन कार्यालय गौरले जनायो ।


प्रकाशित : जेष्ठ ११, २०७९ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वी नवलपरासीमा कांग्रेसबाट धमाधम राजीनामा

कान्तिपुर संवाददाता

पूर्वी नवलपरासी — स्थानीय तहको निर्वाचनमा कांग्रेसले सबैजसो स्थानमा पराजय भोगेपछि नेपाली कांग्रेसका नेताहरुले धमाधम राजीनामा दिएका छन् । पराजयको कारणमा जिल्ला नेतृत्व दोषी देखिएको दाबी गर्दै नगर तहका नेताले राजीनामा दिएका हुन् । देवचुली नगरपालिकाका पार्टी सभापति डिल्लीराम कडरिया र कावासोती नगरपालिकाका सचिव विनोद रानामगरले राजिनामा दिएका हुन् । 

रानाले दिएको राजीनामा पत्रमा स्थानीय तहको निर्वाचनमा पार्टीले लज्जास्पद हार ब्यहोरेका कारण पदमा बसिरहन उपयुक्त नदेखिएको बताएका छन् । कावासोती र देवचुली नगरपालिकामा उम्मेदवार नमिलेकै कारण पार्टीले पराजय भोग्नुपरेको उनिहरुले राजीनामा पत्रमा आशय व्यक्त गरेका छन् । अन्य वडा र प्रदेश कमिटीमा रहेका सदस्यले पनि राजीनामा दिएका छन् ।

पार्टीको केही महिनाअघि सम्पन्न निर्वाचनमा सर्वाधिक मत ल्याएर कावासोती नगर सचिव चुनिएका राना स्थानीय तहको निर्वाचनमा वडा १३ मा वडाध्यक्षको उम्मेदवार भएर पराजित भएका थिए । उनी २०७४ मा निर्वाचित वडाध्यक्ष हुन् ।

त्यसैगरी देवचुली नगरपालिकाका पार्टी सभापति डिल्लीराम कडरियाले जिल्लाभरी कांग्रेसले नराम्रो पराजय भोगेको कारण देखाएका छन् । उनले देवचुलीमा कांग्रेसका लज्जास्पद हारका पछाडि जिल्ला नेतृत्वको मुख्य हात रहेको दाबी गरेका छन् । पार्टी जिल्ला नेतृत्वले जनमत नभएका व्यक्तिलाई खोजीखोजी टिकट दिएको र पराजय भोग्न परेको उल्लेख गरेका छन् ।

पूर्वी नवलपरासीको ८ स्थानीय तहमध्ये ६ वटामा कांग्रेस पराजित भएको छ । यहाँको विनयी त्रिवेणी र बुलिंटार गाउँपालिकामा कांग्रेसकै अन्तर्घातका कारण पराजित भएको नेताहरु बताउँछन् । २०७४ मा ६ पालिकामा बहुमतसहित मुख्य पदमा कांग्रेस निर्वाचित भएको थियो । यसपटक हुप्सेकोट र गैंडाकोट नगरपालिकामा मात्र कांग्रेस बहुमतसहित विजयी भएको छ । अन्य ६ वटा पालिकामा पराजित भएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ २२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×