पाँचथर गठबन्धनमा सहमति

वैशाख ९, २०७९

लक्ष्मी गौतम

पाँचथर — पाँचथर जिल्लाका आठमध्ये सातवटा स्थानीय तहको अध्यक्षमा कांग्रेसका उम्मेद्वारलाई सघाउन गणबन्धनका चार दल सहमत भएका छन् ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी समाजवादीका जिल्ला नेतृत्वबीच पटकपटक भएका  छलफलले फिदिम नगरपालिकासहित याङवरक, हिलिहाङ, फालेलुङ, कुम्मायक, फाल्गुनन्द र तुम्वेवा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले उम्मेद्वारी दिनेमा सहमति भएको हो ।

जिल्लाको मिक्लाजुङ गाउँपालिकामा भने माओवादी केन्द्रका उम्मेद्वारलाई सघाउन दलहरुबीच सहमति भएको कांग्रेस जिल्ला सभापति रुपनारायण जवेगुले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिका अध्यक्षसहित फिदिम नगरपालिकाको उपमेयरसँगै तुम्बेवा, फाल्गुनन्द, याङवरक र फालेलुङ गाउँपालिका उपाध्यक्ष पदमा उम्मेद्वारी दिनेछन् ।

यस्तै नेकपा एसले हिलिहाङ र कुम्मायक उपाध्यक्षसहित ८ वटा वडा अध्यक्ष पाउने गरी सहमति जुटेको छ । जिल्लाका ६० मध्ये कांंग्रेस ३६ वडा माओवादी १५ र नेकपा एसले ८ वटा वडामा उम्मेद्वारी दिनेगरी सहमति जुटेको छ । बाँकी एउटा वडाको भागबण्डा टुंगिएको छैन ।

सत्ता साझेदार जनता समाजवादी पार्टी भने गठबन्धनबाट बाहिरिएको छ । कुनैपनि दलसँग तालमेल नगरी एक्लै उम्मेद्वारी दिएर अगाडि बढ्ने वा नेकपा एमालेसँग सहकार्य गर्ने भन्ने विषयमा छलफल भइरहेको जिल्ला अध्यक्ष लक्ष्मण लावतीले बताए ।

स्थानीय तह निर्वाचन २०७९

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully