पाँचथर गठबन्धनमा सहमति- स्थानीय निर्वाचन २०७४ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँचथर गठबन्धनमा सहमति

लक्ष्मी गौतम

पाँचथर — पाँचथर जिल्लाका आठमध्ये सातवटा स्थानीय तहको अध्यक्षमा कांग्रेसका उम्मेद्वारलाई सघाउन गणबन्धनका चार दल सहमत भएका छन् ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी समाजवादीका जिल्ला नेतृत्वबीच पटकपटक भएका छलफलले फिदिम नगरपालिकासहित याङवरक, हिलिहाङ, फालेलुङ, कुम्मायक, फाल्गुनन्द र तुम्वेवा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले उम्मेद्वारी दिनेमा सहमति भएको हो ।

जिल्लाको मिक्लाजुङ गाउँपालिकामा भने माओवादी केन्द्रका उम्मेद्वारलाई सघाउन दलहरुबीच सहमति भएको कांग्रेस जिल्ला सभापति रुपनारायण जवेगुले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिका अध्यक्षसहित फिदिम नगरपालिकाको उपमेयरसँगै तुम्बेवा, फाल्गुनन्द, याङवरक र फालेलुङ गाउँपालिका उपाध्यक्ष पदमा उम्मेद्वारी दिनेछन् ।

यस्तै नेकपा एसले हिलिहाङ र कुम्मायक उपाध्यक्षसहित ८ वटा वडा अध्यक्ष पाउने गरी सहमति जुटेको छ । जिल्लाका ६० मध्ये कांंग्रेस ३६ वडा माओवादी १५ र नेकपा एसले ८ वटा वडामा उम्मेद्वारी दिनेगरी सहमति जुटेको छ । बाँकी एउटा वडाको भागबण्डा टुंगिएको छैन ।

सत्ता साझेदार जनता समाजवादी पार्टी भने गठबन्धनबाट बाहिरिएको छ । कुनैपनि दलसँग तालमेल नगरी एक्लै उम्मेद्वारी दिएर अगाडि बढ्ने वा नेकपा एमालेसँग सहकार्य गर्ने भन्ने विषयमा छलफल भइरहेको जिल्ला अध्यक्ष लक्ष्मण लावतीले बताए ।

प्रकाशित : वैशाख ९, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्

‘काठमाडौंमा कांग्रेसले सिर्जनालाई अघि सार्ने’

कुलचन्द्र न्यौपाने

काठमाडौँ — पार्टीको आन्तरिक शक्ति संघर्षले अर्को मोड नलिएमा कांग्रेसले काठमाडौं महानगरको प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको महानगर कार्यसमितिले बिहीबार नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनासहित पाँच जना आकांक्षीको नाम सिफारिस गरिसकेको छ । त्यसरी सिफारिस भएको नाम प्रदेश हुँदै केन्द्रमा जाने र केन्द्रीय कार्यसमितिअन्तर्गत बन्ने संसदीय समितिले महानगरको उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ । 

संसदीय समिति गठन भएका कारण यसपटक केन्द्रीय कार्यसम्पादन समिति बैठकले महानगर उम्मेदवार चयन गर्ने तयारी कांग्रेसको छ । त्यसका लागि शुक्रबार कांग्रेसले बैठक बोलाएको छ । बालुवाटार स्रोतका अनुसार काठमाडौं महानगरमा सिर्जनालाई प्रमुखको उम्मेदवार बनाउन सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि नै बचन दिइसकेका छन् । सत्ता गठबन्धनको बुधबारको बैठकले काठमाडौंसहित तीन महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउने औपचारिक निर्णय गरेपछि सिर्जनाको नाम अघि बढेको हो ।

‘ठूलै बदलाब नआए सिर्जना नै उम्मेदवार हुने करिब निश्चित छ,’ प्रधानमन्त्रीनिकट एक नेताले कान्तिपुरसँग भने, ‘गणेशमान र मंगलादेवी सिंह परिवारको सदस्य तथा आफ्नै राजनीतिक पृष्ठभूमिसमेत भएको महिलालाई उम्मेदवार बनाउँदा राम्रो सन्देश जान्छ भन्नेमा प्रधानमन्त्रीजी सकारात्मक हुनुहुन्छ ।’

महानगर कार्यसमितिले नगर सभापति नीलकाजी शाक्य, सचिव सुशन वैद्य, हालकी उपमेयर हरिप्रभा खड्गी र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको छ । उम्मेदवारको आकांक्षीमध्येकी खड्कीले गणेशमान परिवारबाट राजनीतिमा दीक्षित भएकी सिर्जना महानगरको नेतृत्व हाँक्न सक्षम रहेको प्रतिक्रिया दिइन् । ‘उहाँले चाहेपछि उम्मेदवार नहुने कुरा छैन, कांग्रेसले पहिलोपल्ट महिलालाई अघि सारेर राजधानीमा इतिहास बनाउने मौका दिन खोजेको छ,’ उनले भनिन्, ‘उपप्रमुख भएर पाँच वर्ष काम गर्दाको मेरै अनुभवले पनि महिलाले महानगर हाँक्ने मौका पाए भने धेरै सुधार गर्न सक्छन् भन्ने अनुभूति भएको छ । सबैभन्दा ठूलो काम सुशासन कायम गर्ने हो । त्यस दिशामा पुरुषको तुलनामा महिलाले नै बढी गर्न सक्छन् ।’

काठमाडौंको आन्तरिक राजनीतिमा प्रकाशमान सिंहको भूमिका निर्णायक हुँदै आएको छ । १४ औं महाधिवेशनमा सभापति बन्न सिंहको निर्णायक भूमिका भएकाले देउवाले सिर्जनालाई प्रमुखको उम्मेदवार बनाएर त्यसको गुनसमेत तिर्न खोजेको कांग्रेस नेताहरू बताउँछन् । महाधिवेशनमा सिंह आफैं सभापतिका प्रत्याशी थिए । देउवासहित नेताहरू शेखर कोइराला, सिंह र विमलेन्द्र निधि चार जनाबीचको प्रतिस्पर्धामा ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा देउवा र कोइरालाबीच भएको प्रतिस्पर्धामा सिंह देउवाको पक्षमा लागेका थिए ।

सभापतिको प्र्रतिस्पर्धामा अपेक्षाकृत मतसमेत प्राप्त गर्न नसकेर तेस्रो स्थानमा पुगेपछि सिंहले पारिवारिक विरासतका रूपमा श्रीमतीलाई अघि सार्न खोजेको कतिपय नेताहरूको बुझाइ छ । ‘१४ औं महाधिवेशनमा प्राप्त मतका कारण अब पार्टीको केन्द्रीय सभापति बन्ने सम्भावना प्रकाश दाइले देख्नुभएन, सम्भावना हुञ्जेल सिर्जना भाउजू केन्द्रीय राजनीतिमा नआउनुभएकै हो,’ सिंह परिवारसँग नजिक रहेका पार्टीका एक नेताले भने, ‘अब प्रकाशमान दाइले आफू पछि सरेर भए पनि भाउजूलाई अघि बढाउन खोजेको देखिन्छ ।’

गोरखा बजारमा जन्मिएकी सिर्जना २०४२ सालमा गणेशमान परिवारमा भित्रिएकी हुन् । तर, राजनीतिक संघर्षको यात्रा भने उनले गोरखाबाटै सुरुवात गरेकी थिइन् । २०३३ सालमा कांग्रेसको सदस्यता लिएकी उनी त्यही वर्ष गोरखाको महिला संघकी सभापति बनेकी थिइन् । पेसाले केही समय उनले नर्सिङ काम पनि गरिन् । नर्सिङ पढ्दापढ्दै समाजशास्त्र पढ्न थालिन् । स्नातक पढ्दै गर्दा शंकरदेव कलेजमा उनी स्ववियुको कोषाध्यक्ष भएकी थिइन् । त्यतिबेला उनीसँग हालकी ऊर्जामन्त्री रहेकी पम्फा भुसालले प्रतिस्पर्धा गरेकी थिइन् । सिर्जनाले पछि त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा एमए गरिन् ।

प्रजातन्त्र स्थापनाका लागि वाम गठबन्धनमा भएको ०४६ सालको आन्दोलनको नेतृत्व गणेशमानले गरेका थिए र चाक्सीबारी त्यसको मुख्य केन्द्र बनेको थियो । ‘म घरको बुहारी थिएँ, घरका काममा मात्रै रमाएर बस्दिनथें, आन्दोलन सफल बनाउन बाहिरको खबर भित्र ल्याउने र भित्रको खबर बाहिर (नेताहरूलाई) पुर्‍याउने काम गर्थें,’ आफ्नो राजनीतिक पृष्ठभूमि सुनाउँदै सिर्जनाले कान्तिपुरसँग भनिन्, ‘प्रजातन्त्र आएपछि पनि गणेशमान बुबा र मंगलादेवी आमा राजनीतिको मुख्य केन्द्रमा हुनुभयो । श्रीमान् (प्रकाशमान) राजनीतिमै हुनुहुन्थ्यो । त्यतिबेला मैले घर हेर्नुपर्छ भन्ने लागेर राष्ट्रिय राजनीतिमा आउन खोजिनँ । अहिले आएर महिला संघले मेयरमा मेरो नाम प्रस्ताव गरेपछि जीवनले अर्को मोड लिएको अनुभूति भएको छु ।’

काठमाडौं महिला संघले चैत १४ मै सिर्जनाको नाम प्रस्ताव गरेको थियो । त्यसपछि काठमाडौंको तरुण दल र नेविसंघले उनको नाममा सहमति जनाएका थिए । ‘बैठकमा भाउजू (सिर्जना) लाई मेयरको उम्मेदवारमा अघि सार्नुपर्छ भनेर प्रस्ताव आयो, लामो राजनीतिक पृष्ठभूमि भएको, गणेशमान परिवारको बिरासतसमेत भएकाले यो त राम्रो प्रस्ताव हो भनेर हामीले पारित गर्‍यौं, त्यही प्रस्ताव लिएर भाउजूलाई अनुरोध गर्‍यौं,’ काठमाडौं महिला संघकी अध्यक्ष विष्णुदेवी पुडासैनीले भनिन्, ‘घर मात्रै होइन, अब महानगर नै सम्हाल्नुपर्छ भनेर अनुरोध गरेपछि उहाँ तयार हुनुभएको हो ।’

सिर्जनाले पनि श्रीमान् (प्रकाशमान) बाट नभएर महिला संघबाट आफूलाई अघि बढ्न दबाब आएको बताइन् । ‘केन्द्रको राजनीतिमा आउँदा जतिसुकै राजनीतिक योगदान भए पनि नेताको श्रीमती भनेर ‘ट्याग’ लगाइदिन्छन् तर मलाई उहाँले अहिले कुनै खालको दबाब दिने र अघि सार्ने काम गर्नुभएको होइन,’ उनले भनिन्, ‘महिला संघ र समकालीन साथीहरूबाट प्रस्ताव आएपछि म तयार भएको हुँ, यो मेरालागि जीवनको फरक मोड हो ।’

प्रकाशित : वैशाख ९, २०७९ ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×