दार्चुलामा उम्मेदवारी दर्ताको जुलुसमा गएकी महिलाको मृत्यु- स्थानीय निर्वाचन २०७४ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा उम्मेदवारी दर्ताको जुलुसमा गएकी महिलाको मृत्यु

मनोज बडू

दार्चुला — नेकपा एमालेले उम्मेदवारी दर्ताका लागि निकालेको जुलुसमा नौगाड गाउँपालिका–३ स्थित गोगनेमा एक महिलाको मृत्यु भएको छ । जुलुसमा सहभागी नौगाड गाउँपालिका–२ सुण्डमुण्डकी करिब ५५ वर्षीया पाना टमटाको मृत्यु भएको खार स्वास्थ्य चौकीले जनाएको छ । 

स्थानीय रघुवीर ठगुन्नाका अनुसार मनोनयन दर्ता गर्न सुण्डमुण्डबाट बाजागाजासहित नाच्दै (छलो) खेल्दै जाने बेला जामिरको सरद्वारीको सडकमै लडेर बेहोस भएकी थिइन् । बेहोस भएकी टमटालाई बोकेर खार स्वास्थ्य चौकीमा नपुगाउँदै बाटोमै मृत्यु भएको स्वास्थ्य चौकी इन्चार्ज गोविन्दसिह ठगुन्नाले बताए ।

स्थानीय रघुवीरका अनुसार अस्पताल लैजान गाडी नपाएपछि पिठ्युँमै बोकेर एक घण्टाको उकालो खार स्वास्थ्य चौकी पुर्‍याए पनि बाटोमै मृत्यु भएको हो । नौगाड गाउपालिकामा आइतबार नेकपा एमालेले आफ्नो दलको तर्फबाट अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएको छ ।

प्रकाशित : वैशाख ११, २०७९ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्

भक्तपुरमा तीन नगरपालिकामा गठबन्धन दलबीच तालमेल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धन दलले भक्तपुरका तीन वटा नगरपालिकामा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । वाग्मती प्रदेशस्तरीय गठबन्धनको बैठकले भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् । चाँगुनारायण नगरपालिकाको विषयमा भने अहिले सहमति जुटेको छैन ।

सहमतिअनुसार तीन वटै पालिकामा नेपाली कांग्रेसले मेयर पदमा उम्मेदवारी दिने भएको छ ।

त्यस्तै, भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपमेयर पदमा नेकपा एकीकृत समाजवादी र मध्यपुरथिमि नगरपालिकाको उपमेयरमा नेकपा मोआवादी केन्द्रबाट उम्मेदवारी दिने सहमति भएको छ ।

यसअघि भक्तपुरका चारमध्ये तीन वटामा नेकपा एमालेले जितेको थियो भने भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले जितेको थियो ।

प्रकाशित : वैशाख ११, २०७९ १८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×