पोखराको मेयरमा आइतबार ११ जनाको उम्मेदवारी

मेयर र उपमेयरमा चन्द समूहको पनि उम्मेदवारी

वैशाख ११, २०७९

दीपक परियार

पोखरा — पोखरा महानगरपालिकाको प्रमुखमा आइतबार ११ जनाको उम्मेदवारी परेको छ । ६ स्वतन्त्र र ५ दलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन । उपप्रमुखमा तीन दल र एक स्वतन्त्रसहित ४ जनाले मनोनयन दर्ता गराए । 

प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा खडकराज पौडेल (गनेस), विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङ छन् । मौलिक जरोकिलो पार्टीका सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीका भोजराज खनाल, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङ, नेपाल जनता दलका मुक्तिनाथ सुवेदी र राप्रपा (नेपाल)का गोविन्द गुरुङले मनोनयन दर्ता गराएका छन् । 

पोखराबाट सुरु भएको ‘अटेरी अभियान’ अन्तर्गत गनेस पौडेलले महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उक्त अभियानअन्तर्गत महानगरका ८ वडाध्यक्ष र ७ वडासदस्यमा स्वतन्त्र उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता पछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुखको पदमा उम्मेदवारी दिएको बताए । उनका अनुसार अटेरी अभियानअन्तर्गत देशभर ४ हजार २ सय जनाले पालिकाका विभिन्न तहमा आइतबार र सोमबार उम्मेदवारी दर्ता गर्नेछन् । 

पोखरा–१४ का विमलबहादुर कार्की कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । उनले गठबन्धनका कारण आफ्नो पार्टीले पोखरा महानगरको प्रमुख नपाएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । 

प्रमुख र उपप्रमुखमा नेत्रविक्रम चन्द समूहबाट पनि उम्मेदवारी परेको छ । चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सल्लाहकार किसानसिंह गुरुङ र उपप्रमुखमा सोममाया विकले मनोनयन दर्ता गराए । गुरुङले एमसीसी र राष्ट्रघातविरुद्ध पार्टीकै निर्देशनमा स्वतन्त्र उम्मेदवारी दिएको बताए । महानगरका वडाहरुमा पनि उम्मेदवारी दर्ताको तयारी रहेको उनले जनाए ।

पोखरा महानगरपालिकाको प्रमुख, वडाध्यक्ष र सदस्यमा आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि अटेरी समूह । तस्बिर : दीपक परियार/कान्तिपुर

उपप्रमुखमा सचेत नेपाली पार्टीकी सोनी परियार, मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङ र राप्रपा नेपालकी चिना दवाडीको पनि उम्मेदवारी परेको छ । 

कास्कीको रुपा गाउँपालिकामा आइतबार वडा नम्बर ५ को खुल्ला सदस्यतर्फ गोपीराज जोशीको मात्रै उम्मेदवारी पर्‍यो । मादी गाउँपालिकामा अटेरी अभियानको तर्फबाट सुनील ढकालले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए । वडा नम्बर ३ को अध्यक्षमा बुद्धिप्रसाद लामिछानेले अटेरी अभियानकै तर्फबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराए । 

माछापुच्छ्रे गाउँपालिकामा पनि आइतबार दुईजनाको मात्रै उम्मेदवारी दर्ता भयो । मंगोल नेसनल अर्गनाइजेसनको तर्फबाट डमराज मगरले गाउँपालिका अध्यक्ष र पदमबहादुर गुरुङले वडा नम्बर ९ को अध्यक्षमा मनोनयन दर्ता गराए । 

अन्नपूर्ण गाउँपालिकामा आइतबार तीनजनाले उम्मेदवारी दर्ता गराए । गाउँपालिका अध्यक्षमा राप्रपाका पूर्णचन्द्र चुवाई, वडा नम्बर १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेश दाहाल र सदस्यमा राप्रपाका जीवन कुँवरले मनोनयन दर्ता गराए । 

स्थानीय तह निर्वाचन २०७९

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully