रोल्पा एमालेले टुंग्यायो उम्मेदवार

वैशाख ११, २०७९

काशीराम डाँगी

रोल्पा — नेकपा एमालेले रोल्पाका दस स्थानीय तहमा उम्मेदवार चयन गरेको छ । जिल्ला र प्रदेश तहमा छलफल गरेर उम्मेदवारको नामावली तयार पारिएको एमालेले जनाएको छ । 

एमालेले एक नगरपालिकासहित ९ वटा गाउँपालिकाका उम्मेदवारको नाम आइतबार सार्वजनिक गरेको हो । एमालेले रोल्पा नगरको प्रमुखमा घनश्याम आचार्य र उपप्रमुखमा कृष्णी गौतमको नाम चयन गरेको छ । यस्तै गाउँपालिकाहरु थबाङको अध्यक्षमा रवीन्द्र रोका र उपाध्यक्षमा शान्ति घर्तीमगर, परिवर्तनको अध्यक्षमा गंगाराम बुढा र उपाध्यक्षमा सपना रोकामगर, माडीको अध्यक्षमा विजयकुमार घर्तीमगर र उपाध्यक्षमा अमृता घर्तीमगर चयन भएका हुन् । 

गंगादेवको अध्यक्षमा रोशनकुमार वली र उपाध्यक्षमा निर्मलाकुमारी वली, त्रिवेणीको अध्यक्षमा कर्णबहादुर बाँठामगर र उपाध्यक्षमा जानकी बुढामगर, रुन्टीगढीको अध्यक्षमा बालाराम बुढामगर र उपाध्यक्षमा हस्तमाली बाँठामगर, सुनील स्मृतिको अध्यक्षमा खिमचन्द्र पुनमगर र उपाध्यक्षमा तारा सेन, लुंग्रीको अध्यक्षमा वीरबहादुर खड्का र उपाध्यक्षमा जुकमती बस्नेत तथा सुनछहरीको अध्यक्षमा जयप्रकाश बुढा र उपाध्यक्ष पुर्माला खत्रीको नाम चयन भएको हो ।

एमालेका जिल्ला अध्यक्ष समेत रहेका रुन्टीगढीका अध्यक्ष बालाराम बुढा पुन: दोहोरिएका छन् । दोहोरिने चर्चा चलेपनि त्रिवेणीका अध्यक्ष शान्तकुमार वलीलाई पार्टीले टिकट दिएको छैन । उनी जिल्लामै प्रभावकारी काम गर्ने स्थानीय तहका प्रमुखमध्येमा पर्छन् । 

हरेक तहबाट जिल्लामा पठाइएका सिफारिससहितको उम्मेदवार सूचीबारे जिल्ला तहमा छनोट गर्न नसकेपछि प्रदेश समितिले छलफल गरी उम्मेदवारी टुंग्याएको थियो । एमालेले सबै वडा समेतको उम्मेदवारी टुंगो लगाएको छ ।

स्थानीय तह निर्वाचन २०७९

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully