धादिङमा गठबन्धनमा भागबन्डा मिल्यो, कुन दललाई कति पालिका ?

वैशाख ११, २०७९

सरिता श्रेष्ठ

धादिङ — धादिङमा तीन दलबीच गठबन्धनको टुंगो लागेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच जिल्लाको नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको भागबन्डामा सहमति जुटेको हो । जिल्लामा दुई नगरपालिका र ११ वटा गाउँपालिका छन् । 

कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख, नेकपा माओवादीले ३ प्रमुख र ५ उपप्रमुख, समाजवादीले २ प्रमुख र ४ उपप्रमुख लिएर जिल्लास्तरीय गठबन्धनमा हस्ताक्षर गरेका हुन् । जिल्ला समन्वय समितिको प्रमुखमा माओवादी र उपप्रमुखमा समाजवादीले लिने भएका छन् । 

प्रदेशस्तरीय ५ दलीय गठबन्धनको निर्णयबमोजिम नै नगरपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षको टुंगो लगाइएको एकीकृत समाजवादी धादिङका सचिव सुवास खतिवडाले बताए । सहमतिपत्रमा कांग्रेसका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका जिल्ला इन्चार्ज सालिकराम जम्कट्टेल र एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गुरुप्रसाद बुर्लाकोटीले हस्ताक्षर गरेका छन् । 

वडामा तहमा भने स्थानीयस्तरमै मिलाउने सहमति गरिएको छ । पालिकाको प्रमुख र उपप्रमुखमा दलहरुको टुंगो लगाए पनि उम्मेदवारको भने टुंगो लगाउन सकेको छैन । उम्मेदवार टुंग्याउन दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । वडाको हकमा वडास्तरमा गठबन्धनमा रहेका दलहरुबीच २०७४ सालमा आएको मतभारलाई आधार मानी भागबन्डा गरेर भोलिसम्म टुंग्याइने नेताहरुले बताएका छन् । धादिङमा प्रमुख मानिएको नेकपा एमाले भने अब एक्लै चुनाव लड्नु पर्ने स्थितिमा छ । 

कुन पार्टीले कहाँ पाए ?

धुनिबेंसी नगरपालिका

प्रमुख : नेकपा एकीकृत समाजवादी

उपप्रमुख : नेपाली कांग्रेस

नीलकण्ठ नगरपालिका

प्रमुख : नेपाली कांग्रेस

उपप्रमुख : नेकपा माओवादी केन्द्र

रुविभ्याली गाउँपालिका

अध्यक्ष : नेकपा माओवादी केन्द्र

उपाध्यक्ष : नेपाली कांग्रेस

खनियाबास गाउँपालिका

अध्यक्ष : नेपाली कांग्रेस

उपाध्यक्ष : नेकपा माओवादी केन्द्र

गंगाजमुना गाउँपालिका 

अध्यक्ष : नेपाली कांग्रेस

उपाध्यक्ष : नेकपा एकीकृत समाजवादी

नेत्रावती डबजोङ गाउँपालिका 

अध्यक्ष : नेपाली कांग्रेस

उपाध्यक्ष : नेकपा माओवादी केन्द्र

त्रिपुरासुन्दरी गाउँपालिका

अध्यक्ष : नेपाली कांग्रेस

उपाध्यक्ष : नेकपा माओवादी केन्द्र

ज्वालामुखी गाउँपालिका 

अध्यक्ष : नेपाली कांग्रेस

उपाध्यक्ष : नेकपा एकीकृत समाजवादी

सिद्धलेक गाउँपालिका

अध्यक्ष : नेपाली कांग्रेस

उपाध्यक्ष : नेकपा एकीकृत समाजवादी

बेनीघाट रोराङ गाउँपालिका

अध्यक्ष : नेकपा माओवादी केन्द्र

उपाध्यक्ष : नेकपा एकिकत समाजवादी

गजुरी गाउँपालिका

अध्यक्ष : नेकपा माओवादी केन्द्र

उपाध्यक्ष : नेपाली कांग्रेस

गल्छी गाउँपालिका

अध्यक्ष : नेकपा एकीकृत समाजवादी

उपाध्यक्ष : नेपाली कांग्रेस

थाक्रे गाउँपालिका

अध्यक्ष : नेपाली कांग्रेस

उपाध्यक्ष : नेकपा माओवादी केन्द्र

धादिङ जिल्ला समन्वय समिति

प्रमुख : नेकपा माओवादी केन्द्र

उपप्रमुख : नेकपा एकीकृत समाजवादी

स्थानीय तह निर्वाचन २०७९

सरिता

Link copied successfully