२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५०

सीमाविद् श्रेष्ठ पुरस्कृत

काठमाडौँ — सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई बुधबार ताम्रपत्रसहित ५० हजार नगद राशीको दण्डपाणि–नन्दकुमारी राष्ट्रिय पुरस्कार २०८० प्रदान गरिएको छ । पुरस्कार दिँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले स्मृतिकेन्द्रबाट पुरस्कृत श्रेष्ठ कृतित्व, व्यक्तित्व र अस्तित्वको हिसावले सही पात्र भएको बताए ।

सीमाविद् श्रेष्ठ पुरस्कृत

गोरखामा जन्मिएका विद्वान् प्रतिभा दण्डपाणि अर्ज्यालको नाममा स्थापित दण्डपाणि अर्ज्याल स्मृति केन्द्रले त्रिवि परिसर कीर्तिपुरमा बुधबार एक समारोहका बीच उक्त पुरस्कार श्रेष्ठलाई प्रदान गरेको हो । सीमा र सुरक्षाका विषयमा गहन अध्ययन गर्दै राष्ट्रिय योगदान पुर्याएबापत श्रेष्ठलाई पुरस्कृत गरिएको स्मृतिकेन्द्रका अध्यक्ष इन्जिनियर ईश्वरचन्द्र बानियाँले बताए ।

पुरस्कार ग्रहण गर्दै सीमाविद् श्रेष्ठले इतिहास, ज्योतिषशास्त्र र तन्त्रशास्त्रका धुरन्धर विद्धान अर्ज्यालको नामबाट पुरस्कृत हुन पाउँदा खुसी लागेको बताए । उनले सीमाको विषयमा थप प्रकाश पार्दै भारतबाट सन् १९६२देखि अतिक्रमित ३ सय ७२ वर्ग किलोमिटर नेपाली भूभाग लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्रको नेपालसँग प्रमाण लालपूर्जा भएर पनि भोगचलन गर्न नपाएको विषय समेत उजागर गरे ।

नेपाल सरकारले चाहे कूटनीनिक माध्यमद्वारा अझै पनि वार्ता र छलफलमार्फत आफूसँग भएको प्रमाण देखाएर अतिक्रमित नेपाली जमीन फिर्ता ल्याउन सक्ने उनको दाबी थियो ।

इतिहास, साहित्य, संस्कृति, ज्योतिष र समाजसेवा लगायतका विधामा योगदान पुर्‍याउनेलाई वर्षेनि दिइने उक्त पुरस्कारको स्थापना २०६२ मा भएको थियो । यसअघि ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, तुलसीराम वैद्य, दिनेशराज पन्त, सत्यमोहन जोशी, सुरेशराज शर्मा, सुरेन्द्र केसी, पुण्यरश्मि खतिवडा, मोदनाथ प्रश्रित, रमा शर्मा, विष्णु प्रभात लगायत पुरस्कृत भइसकेका छन् ।

प्रकाशित : चैत्र २८, २०८० २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?