नेपाल भाषाको कवितासंग्रह ‘चिनियाम्ह किसिचा’ को अङ्ग्रेजी अनुवाद शनिबार सार्वजनिक हुँदै- साहित्य/विविध - कान्तिपुर समाचार

नेपाल भाषाको कवितासंग्रह ‘चिनियाम्ह किसिचा’ को अङ्ग्रेजी अनुवाद शनिबार सार्वजनिक हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९६५ मा पहिलो पटक प्रकाशित कविता संग्रह चिनियाम्ह किसिचाको अङ्ग्रेजी अनुवाद आगामी शनिबार लोकार्पण गरिने भएको छ । नेपालका साहित्य, कला तथा संस्कृतिका धरोहरलाई प्रवर्द्धन गर्दै आएको स्वतन्त्र प्रकाशन गृह सफू पब्लिकेसन्स तथा पुस्तक बिक्रेता किहोटेजकोभको संयुक्त आयोजनामा काठमाडौं असनको जनबहाःमा अनूदित पुस्तक लोकार्पण गरिने भएको हो ।

कवितासंग्रह नेपाल भाषा र नेपाली भाषाका कवि तथा गीतकार दुर्गालाल श्रेष्ठको हो भने अमेरिकाको रिड कलेजमा अङ्ग्रेजी र मानविकीका सहायक प्राध्यापक कृतिश राजभण्डारीले अनुवाद गरेका हुन् ।

यो कविता संग्रह नेपाल भाषाको एक चर्चित तथा अत्यधिक बिक्री भएको पुस्तक भएको स्वतन्त्र प्रकाशन गृह र बिक्रेताको दाबी छ । राजभण्डारीले यसअघि सन् २०१९ मा कुटाः पिकाकाद्वारा प्रकाशित पूर्ण वैद्यको ललखाःका (पानीकाथोपा) को पनि अनुवाद गरेका थिए ।

कवि श्रेष्ठले सन् १९५० देखि १९८० को दशकसम्म कन्यामन्दिर उच्च माध्यमिक विद्यालयमा नेपाल भाषाको शिक्षकका रूपमा बालबालिकालाई मातृभाषामा अभिव्यक्त गर्न प्रेरित गर्न गीतहरू सिर्जना गरेका थिए ।

प्रकाशित : चैत्र २, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्

रोल्पामा सत्तापक्षीय विद्यार्थी संगठनबीचमै प्रतिस्पर्धा

काशीराम डाँगी

रोल्पा — चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा सत्ताधारी दलहरूका भ्रातृ संगठनबीच प्रतिस्पर्धा हुने भएको छ ।

रोल्पाका दुईवटै क्याम्पसमा हुने निर्वाचनमा सत्तापक्षीय दलसँग आबद्ध विद्यार्थी संगठन स्ववियु निर्वाचनको मैदानमा छन् ।

सदरमुकाम लिबाङस्थित जलजला बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैत ३ गते हुने तयारी छ । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको जलजला क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको पहिलो निर्वाचनमा सत्तापक्षीय कांग्रेस र प्रमुख प्रतिपक्ष एमाले आबद्ध विद्यार्थी संगठनबीच चुनावी गठबन्धन छ भने अर्कातिर सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र र सत्ताको विरोध गर्दै आएको चन्द नेतृत्वको नेकपा आबद्ध विद्यार्थी संगठनबीच गठबन्धन गरिएको छ । अन्य जिल्लामा वामपन्थी विद्यार्थी संगठन र कांग्रेसनिकट विद्यार्थीबीच चुनावी प्रतिस्पर्धा भए पनि रोल्पामा भने भिन्नै तरिकाले निर्वाचन हुने देखिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त पश्चिमी रोल्पास्थित त्रिवेणी गाउँपालिकाको जुगारमा रहेको नवनेपाल क्याम्पसमा चैत ५ मा हुने निर्वाचनमा पनि सोहीअनुसारकै गठबन्धन छ । नव नेपालमा एमालेनिकट अखिल र नेविसंघबीच भागबन्डा गरी उम्मेदवार उठाएका छन् । अखिलका एकराज डाँगीको अध्यक्षतामा उम्मेदवार चुनावी मैदानमा छन् । जलजलामा भने नेविसंघका दीपक विष्टको अध्यक्षतामा पदाधिकारी निर्वाचनको मैदानमा छन् ।

यस्तै नव नेपालमा अखिल क्रान्तिकारीका खुमराज थापा र जलजलामा अखिल क्रान्तिकारीकै उमेर पुन अध्यक्षका उम्मेदवार छन् । रोल्पाका दुवै क्याम्पसमा पहिलो पटक विद्यार्थी संगठन निर्वाचनमा होमिएका छन् । यसअघिका निर्वाचन स्थगित भएकाले यी क्याम्पसमा स्ववियुको निर्वाचन हुन सकेको थिएन ।

जलजला क्याम्पसमा विद्यार्थी संख्या ४ सय ७३ जना छ भने नव नेपाल क्याम्पसमा २ सय ७६ रहेको छ । विद्यार्थी निर्वाचनलाई स्वच्छ, धाँधलीरहित, भयरहित र सुरक्षित रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था बलियो बनाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बताए ।

प्रकाशित : चैत्र २, २०७९ १९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×