कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

योगमा आकर्षण

पाँचथर सदरमुकाम फिदिम र तुम्वेवा गाउँपालिकामा आधा दर्जन साधना केन्द्र नियमित सञ्चालनमा छन् । ती केन्द्रमा नियमित योग साधना गर्ने युवायुवतीको संख्या १ सय ५० भन्दा बढी छ ।
लक्ष्मी गौतम

पाँचथर — किशोरावस्थादेखि योग साधनामा जुटेका पाँचथर फिदिमका सङखर आङदेम्बे (आत्मा) योग प्रशिक्षक हुन् । उनले योग साधना सुरु गरेको दुई दशक नाघिसक्यो । प्राणायाम र ध्यानको सन्तुलन मिलाएर नियमित योग गर्न सके शारीरिक, मानिसिक, वैचारिक र बौद्धिक रूपमा स्फूर्त रहने उनको अनुभव छ । ‘रोग लागेपछि निको हुन योग गर्नुपर्छ भन्ने भ्रम छ, कतिपयले त योग रोगीहरूले गर्छन् भन्छन् । तर रोग निको पार्नुभन्दा पनि लाग्नै नदिने छेकबारको काम योगले गर्छ,’ आङ्देम्बे भन्छन् । नैतिकवान्, इमान्दार र आत्मानुशासन कायम गर्नका लागि सबैले योग गर्नुपर्छ भन्ने उनको सुझाव छ ।

योगमा आकर्षण

बाल्यकालबाटै योग साधनामा लागेका फिदिमकै ओमप्रकाश पोखरेल अर्का अभ्यस्त साधक हुन् । नियमित साधनाले आफूमा कुनै समस्या देखा नपरेको उनको अनुभव छ । योग, प्राणायाम र ध्यानलाई नियमित एवं व्यवस्थित गर्दै खानपानमा पनि सन्तुलित राख्दा शरीरमा लचकतासँगै फूर्तिलोपन बढेको उनले सुनाए । स्थानीय २४ वर्षीया पुष्पा मगर गत वैशाखदेखि बिहान ४ देखि ६ बजेसम्म नियमित योग साधना गर्छिन् । वैशाख पहिलो साता ७ दिवसीय योग शिविरमा सहभागी भएपछि रम्न थालेको उनले बताइन् । साधनामा लागेको छोटो समयमै धेरै लाभ लिएको उनको अनुभूति छ । ‘पहिले महिनाबारी नियमित थिएन, रुघा, मर्की लागिरहन्थ्यो, घाँटीमा धेरै खालका समस्या थिए, योग साधना गर्न थालेपछि बिस्तारै महिनाबारी नियमित हुनुका साथै अन्य समस्या पनि समाधान भएका छन्,’ मगरले भनिन् ।

स्थानीय २६ वर्षीया सुनिमा लिम्बू अर्की नियमित साधक हुन् । ६ महिनादेखि नियमित योग गर्दै आएकी उनले त्यसअघि देखिएको ढाड, कम्मर दुख्ने समस्या निको भएको बताइन् । ‘प्रायः बिहान ६–७ बजेसम्म सुत्छौं, यो राम्रो होइन रहेछ, प्रभातकालमा उठेर कम्तीमा २ घण्टा व्यायाम गर्दा धेरै लाभ लिन सकिने अनुभव गरेकी छु,’ सुनिमाले भनिन् । यहाँ सञ्चालन भइरहेको साधना केन्द्रहरूमा पछिल्लो समय युवा पुस्ताको आकर्षण बढेको छ । युवासँगै प्रौढ र ज्येष्ठ नागरिक पनि नियमित योग अभ्यास गर्छन् । उनीहरू बिहान ४ नबज्दै साधना केन्द्रहरूमा भेला हुन्छन् । कम्तीमा २ घण्टा सामूहिक अभ्यास गरेर दैनिकीमा फर्किन्छन् । कुनै किसिमको स्वास्थ्य समस्या आउन नदिन योग साधनालाई निरन्तरता दिएको युवायुवती बताउँछन् ।

हालै फिदिममा सञ्चालन भएको सहयोग शिक्षक प्रशिक्षणसम्बन्धी ३६ दिने तालिममा ३२ जना दीक्षित भएका छन् । तीमध्ये अधिकांश युवा छन् । यसअघि उप–योग र सह–योग शिक्षकको तालिम पूरा गर्नेहरू एक सयभन्दा धेरै छन् । सदरमुकाम फिदिम र तुम्वेवा गाउँपालिकामा ५ भन्दा धेरै साधना केन्द्र नियमित सञ्चालनमा छन् । ती केन्द्रमा नियमित योग साधना गर्ने युवायुवती १ सय ५० भन्दा धेरै छन् । यी साधना केन्द्रमा योग ध्यान र प्राणायामको सन्तुलन मिलाएर अभ्यास गराइने भएकाले शरीरसँगै विचार पनि स्वस्थ हुने योग प्रशिक्षक हरिप्रकाश सुवेदी बताउँछन् । उनका अनुसार योगको शाब्दिक अर्थ जोड हो । परापूर्वकालमा ऋषिमुनि र योगीहरू आफूलाई अदृश्य शक्तिसित जोड्नका लागि योग गर्थे । अहिले योगको परिभाषा बदलिएको छ ।

सुवेदीको बुझाइमा योग भनेको रोगीहरूका लागि चिकित्सा पद्धति पनि हो । यहाँ नियमित योग साधना गर्दा दम, श्वासप्रश्वास, रक्तचाप, मिर्गौला र गोला गानो जस्ता समस्याको निदान भएकाको जमात उल्लेख्य छ । फिदिम–२ की यमुना तामाङलाई एक वर्षअघिसम्म ढाडदेखि कम्मरसम्म दुख्ने समस्यासँगै मिर्गौलामा संक्रमण थियो । नियमित योगले समस्या समाधान भएर औषधि खानु नपरेको उनी बताउँछिन् । श्वासप्रश्वास र दमको समस्या भएका स्थानीय सन्तोष सिन्चेउरीले प्राणायाम र ध्यानको मात्रा मिलाएर गर्दा रोगको निदान भएको सुनाए । पाँचथरमा योगप्रति युवा पुस्तामा आएको यो जागरणले जीवनको उत्तरार्धलाई केही हदसम्म व्यवस्थित गर्न मद्दत पुग्ने उनीहरूको विश्वास छ ।

प्रकाशित : भाद्र १३, २०८० ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?