सरकार छोड्नेबारे एकीकृत समाजवादीका उपाध्यक्ष : ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हामफाल्नुपर्छ’

वैशाख २७, २०८१

कान्तिपुर संवाददाता

Vice President of United Socialist Party on leaving the government: 'You should jump from one roof to another only'

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्को सरकार बन्ने निश्चित नभएसम्म पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिने पक्षमा पार्टी रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहालसँग भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले उक्त टिप्पणी गरेका हुन् । सरकार छोड्ने र रहने बारेमा सञ्चारकर्मीहरूले गरेको प्रश्नको जवाफमा एकबाट अर्को घरमा हाम फाल्दा अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्ने जवाफ दिएका हुन् । 

‘हामीले गत वर्ष अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट जुन पेस गर्नुभएको थियो, बजेटका सन्दर्भमा अत्यन्त अनुपयुक्त रह्यो, बजेट निर्माणमा सांसदहरूलाई छलफल गराइएन, सांसदहरूको भूमिका भएन । सांसदको टाउको गनेर बजेट पास हुने अनि सांसदलाई बजेट निर्माणमा सहभागी नगराउने कुरा हुन सक्दैन भनेर हामीले बोलेका थियौँ । हामीले राखेकै कुरा सम्बोधन गरेर प्रधानमन्त्रीले आउँदो वर्षमा यो कुरामा परिवर्तन गर्छु भन्नुभएको थियो । बजेट आउने बेला भइसक्यो, जेठ १५ मा बजेट घोषणा हुन्छ, बजेट बन्न पनि थालिसक्यो । त्यसैले हिजो भनेको कुरा बिर्सिनुभएको हो की भनेर सम्झाउन आएका हौँ,' त्यसपछि सोधिएको प्रश्नको जवाफमा पाण्डेले भने, 'छानाबाट अर्को घरमा हाम फाल्दा अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ ।’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेता प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए । जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट पेस गर्ने दिन आइसक्दासमेत सांसदहरूलाई बेलाएर छलफल नगराइएको एकीकृत समाजवादीको असन्तुष्टि रहेको छ । 

कान्तिपुर

Link copied successfully